बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वास्थ्य कार्यालय : जसले काम सक्न मसान्त कुरेन

स्वास्थ्य कार्यालय : जसले काम सक्न मसान्त कुरेन


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७९, बुधबार

बागलुङ/ असार मसान्त ! सडकका गल्लीदेखि चिया पसल र गाउँघरका चौतारीसम्म चर्चा हुने बिषय हो । सदरमुकाम बागलुङ बजारमा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालय र यहाँका स्थानीय तहमा योजना तथा कार्यक्रमको फरफारक र भुक्तानी लिनेको ठुलो भीड छ ।

कयौं कार्यक्रमहरु सम्झौता र फरफारकसमेत एकै दिन भैरहेका छन् भने केही कार्यक्रम एक हप्ता पहिले सम्झौता भएर एक हप्तामा काम सकिए अनि फरफारकका लागि लाईनमा छन् । कार्यालयमा कार्यरत कर्मचारीदेखि सेवाग्रहीलाई बोल्ने फुर्सद नभएको बेला छ । समयमा काम नगरेकै कारण बाध्यकारी असार मसान्तले कामकाज र भुक्तानीमा दबाव सिर्जना गर्ने गरेको छ ।
बागलुङमा रहेको स्वास्थ्य कार्यालयमा भने असार मसान्तको चाप सकियो । जिल्लामा नै पहिलो पटक कार्यालयले चालु आर्थिक बर्षमा विनियोजित कार्यक्रम समयमै सकेर फुर्सदिलो बनेको छ । कार्यालयले असार २१ गतेपछि कुनैपनि भुक्तानीका काम नगर्ने जनाएको छ ।

‘हामीले आफ्नो काम निरन्तर गरिरहेका थियौं र समयमै सक्यौं, अब किन असार मसान्त कुर्नु’ कार्यालय प्रमुख सुरज गुरौले भने ‘हामीले गरेका कामका बिषयमा जानकारी गराएका छौं, अब कुनैपनि कार्यक्रमको भुक्तानी गर्दैनौं ।’

कार्यालयले आगामी आर्थिक बर्षको नियमित कामको थालनी गर्ने छ । बर्षभरिका काम कारवाही समयमै सकेर पत्रकार सम्मेलनमार्फत जानकारी गराउने स्वास्थ्य कार्यालय पहिलो हो । कोभिड–१९ बिरुद्धको खोप, टाईफाईड बिरुद्धको खोप, नियमित खोप, हात्तिपाईले बिरुद्धको खोप अभियान र अन्य कार्यालयले सम्पादन गर्ने नियमित तथा आकश्मिक तालिम र रोगहरुको खोजपड्ताल तथा नियन्त्रणका काम भएका गुरौले बताए । यो बर्ष कार्यालय परिसरमा खोपहरुको सुरक्षणका लागि कोल्ड रुम स्थापना गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक बर्षमा कार्यालयले प्रदेश सरकारबाट प्राप्त हुने चालुतर्फको २ करोड ९९ लाख ६५ हजार रुपैयाँमध्ये २ करोड १५ लाख ५२ हजार रुपैयाँ खर्चेको छ । चालुतर्फ ९६ प्रतिशत भौतिक प्रगति गरेको कार्यालयले वित्तिय प्रगति भने ७२ प्रतिशत भएको जनाएको छ ।

त्यस्तै प्रदेशको पुँजीगततर्फ ९ लाख ५० हजारमध्ये ९ लाख ३५ हजार रुपैयाँ खर्चेको छ । संघीय सरकारबाट प्राप्त भएको चालु खर्च ४ करोड ८२ लाख ८१ हजारमध्ये ३ करोड एक लाख खर्च भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->