बागलुङ/चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षिय इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन् । आफन्तको साथमा कार्यालयमा पुगेकी आचार्यको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने । राहदानीको फाराम भर्नु पूर्व राष्ट्रिय परिचयपत्रको फाराम भर्नुपर्छ ।
तोकिएको अनुसुचीमा आँफैले अनलाईनमा फाराम भरेपछि राष्ट्रिय परिचयपत्रका सबै काम एकैछिनमा प्रशासन कार्यालयले गर्छ । उनले राष्ट्रिय परिचय पत्रको फाराम कार्यालयअघि रहेको एक कम्प्युटर सेन्टरमा भरेकी थिईन् । उनको हातमा राष्ट्रिय परिचय पत्रको फाराम भरेको एकप्रति थमाएपछि प्रशासनका कर्मचारीले भने ‘अब राहदानीको लागि आँफैले मिति लिनुहोस, अनलाईन फाराम भर्नुहोस् र फोटो खिचाउन तोकिएको मितिमा आउनुहोला ।’
इन्द्रकला कम्प्युटर जान्दिनन्, उनीसँगै आएका आफन्त पनि कम्प्युटर दख्खल थिएनन् । ‘कहाँ जाने, कसरी फाराम भर्ने, मेसो पाईएन’ उनीसँगै आएका प्रेम पौडेलले भने ‘फेरी पालो कुर्नुपर्छ भन्छन्, पालो लिने कसरी भन्ने थाहा भएन्, अनि हामी अघिकै ठाउँमा गएर सोध्यौं ।’ आफैले फाराम भर्न नसक्ने भएपछि उनीहरु त्यहाँ पुगे । इमरर्जेन्सी भए छिट्टै पालो आउने र नभए मिति लिन एक महिना लाग्ने जवाफ पाए । राष्ट्रिय परिचय पत्र जस्तै राहदानीको पनि एकैछिनमा काम सकिने आशा राखेकी आचार्यको राहदानीका लागि फाराम भर्ने, तस्बिर खिचाउने समय तालिका पाउनै एक महिना लाग्ने छ ।
चितवनबाट राहदानीकै लागि बागलुङ आईपुगेकी इन्द्रकला उतै फर्किइन् । अनलाईनमार्फत समय तालिका लिएर फाराम भर्न उनले बागलुङ बजारकै आविश्कार स्टेशनरीमा कागजात छोडिन् । तर उनले समय कहिले पाउँछिन् थाहा छैन् । प्रशासनका अनुसार मंगलबार साँझ पाँच बजेपछि र शुक्रबार दिउँसो ३ बजेपछि बुकिङ खुल्ला हुने सूचना गरिएको छ । तर यो समयमा आम नागरिकले गृह मन्त्रालयको बेवसाईड खोलिनसक्दै सर्भरले बुकिङ फुल भन्छ । यहीं समस्याका कारण इन्द्रकला र उनीजस्ता कयौंले समयमा राहदानीको फारामसमेत भर्न पाएका छैनन् ।
‘काम गर्दा गर्दै कोटा फुल भएको भन्छ, सर्भर इरर देखाउँछ, खुलिनसक्दै कसले भर्छ फार्म र यस्तो हुन्छ ?’ आविश्कास स्टेशनरीका सञ्चालक चन्द्र प्रकाश शर्माले भने ‘धेरै जनाले दुःख पाईयो भनेर आउने गर्नुभएको छ ।’
जिल्ला प्रशासन कार्यालयमा दैनीक ४० जनाले राहदानीका लागि तस्विर खिचाउँछन् । १ सय ५० जनाले राष्ट्रिय परिचय पत्र बनाउने गरेको तथ्यांक प्रशासनसँग छ । प्रशासनले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । ‘राष्ट्रिय परिचय पत्रको रेसियो हेर्दा सोही अनुपातमा राहदानी बनाउने पनि आउँछन्, तर फाराम भर्ने, फोटो खिचाउने मिती नै पाउँदैनन्’ शर्मा भन्छन् ‘सर्वसाधारणको लागि सहज होस् भनेर ल्याएको सिस्टमले नत समयमा काम भएको छ, न त खर्च बचेको छ, यो त झन दुःख पाउने काम भयो ।’
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ‘सिंगल युनिट डिभाईस’का कारण हरेक दिन राहदानीका लागि आउने सबैको फाराम भर्न सकिएको बताए । फाराम लाभग्राही आफैले भर्नुपर्ने भएपनि त्यहाँ प्रबष्टि गर्नुपर्ने कागजात र जानकारी जो–कोहीले प्रबिष्ट गर्न कठिन रहेको उनले स्वीकारे । ‘फाराम मैले नै भर्न नसक्ने खालको छ, कठिन हुन्छ, साईबरहरुबाट फाराम भरेर लाभग्राहीहरु आउने गर्नुभएको छ’ ढकालले भने ‘रहदानी विभागले डिभाइस, युनीट र जनशक्ति बढाईदिए काम गर्न सहज हुन्छ ।’
राहदानीका लागि आउने लाभग्राहीले छिमेकी जिल्लामा जत्तिकै पनि बागलुङमा सहज नभएको गुनासो गर्ने गरेका छन् । प्रशासनबाट काम गर्न आसपासका कम्प्युटर सेन्टर र साइबरहरुको भर पर्नुपर्ने बाध्यता रहेको सेवाग्रहीको गुनासो छ । दैनिक ४० जनाको तस्बिर खिच्ने प्रशासनले विद्युत आपूर्ती अनियमित हुँदा दिनमै १०/१५ जनाको मात्रै फाराम भर्नुपर्ने स्थिती आउने गरेको प्रजिअ ढकाल बताउँछन् । ई–पासपोर्ट सुरु भएदेखि कोही–कसैले पनि राहदानीका लागि सदरमुकाम आएर एकै दिनमा काम सक्दैनन् ।





