जेठ २७ गते पोखरामा दुई दृष्य देखिए । एकातिर म्याग्दीमा जन्मेका महावीर पुन ‘गण्डकी रत्न’बाट विभूषित हुँदै थिए । अर्कोतिर गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नाममा विद्यार्थीहरु सडकमा उत्रिएर एक रुपैयाँ चन्दा संकलन गर्दै थिए ।
महावीरलाई कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले सो विभूषण अर्पण गरेको थियो । महावीर हतपति पुरस्कार र सम्मान थाप्दैनन् । अनुसन्धानमा ध्यान केन्द्रीत गरेका उनको लागि सम्मान र पुरस्कारको खासै महत्व पनि छैन । गण्डकी सरकारले ४ वर्ष पूरा गरेको अवसरमा घोषणा गरिएको सो विभूषण स्वीकारेसँगै महावीर गण्डकीका सांसदसरहको सुविधाको हकदार बनेका छन् । गण्डकी सरकारका सयौं दोष होलान् तर महावीरलाई सम्मान गरेर सरकारले कम्तिमा एउटा सही निर्णय गरेको सन्देश प्रवाह गरेको छ । महावीरको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदेश सरकारले १० करोड विनियोजन गरेर अध्ययन र अनुसन्धानलाई बढावा पनि दिएको छ । यो खुसीको कुरा हो । महावीर यो विभूषणका लायक थिए । पहिलो पटक प्रदान गरिएको यो सम्मानबाट गण्डकी रत्न नै सम्मानित बनेको छ । महावीरको आलोकले गण्डकी रत्न आलोकित भएको छ ।
महावीरलाई विभूषित गर्ने गण्डकी सरकारका मन्त्रीहरुले भने यही बेला बँचेखुचेको इज्जत पनि गुमाउने काम गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली त्यो उपक्रममा अगाडि देखिए र आलोचित बने । कारण थियो,पिता गोवद्र्धन शर्माको नाममा स्थापित कोषमा रकम विनियोजन । मुख्यमन्त्रीका पिता गोवद्र्धनको प्रजातन्त्रको लडाइँमा ठूलो योगदान छ । उनी सम्मानका लायक पनि हुन् । तर, विधि र प्रक्रिया पु¥याइए पनि जसरी राज्यकोषको रकम व्यक्तिको नाममा रहेको कोषमा दिइने निर्णय गरियो,त्यो सही थिएन । मुख्यमन्त्रीका पिताको नामजस्तै अन्य मन्त्रीहरुका मातापिताको नाममा खोलिएका संस्थाको लागि रकम छुट्याइनु त झन लज्जास्पद नै थियो ।
जसले गर्दा मुख्यमन्त्री र उनी नेतृत्वको गण्डकी मन्त्रिपरिषद् आलोचित बन्यो । लोकबाट विरोध आएपछि मुख्यमन्त्रीले व्यक्तिको नाममा रहेका ट्रष्टको लागि छुट्याइएको रकम प्राथमिकता प्राप्त योजनामा लगाउन निर्देशन दिनुप¥यो । मुख्यमन्त्री आफ्नै निर्णयका कारण आलोचित बने । उनले आफ्नो कद घटाए । राजनीतिमा निष्ठाको ठूलो मूल्य हुन्छ । पिताको कारण आफू र आफ्ना दाजुभाइले प्राप्त गरेको उपलब्धीमै चित्त बुझाउँदा भलो हुन्छ भन्ने भुल्दाको परिणति सडक र सामाजिक सञ्जालमार्फत् गाली प्राप्त गरे । यो सम्भवतः उनको जीवनको सबैभन्दा बढी लज्जाको क्षण हुनुपर्छ । मुख्यमन्त्रीले पिताको योगदान नबुझेको भन्दै गुनासो गरेका छन् तर त्यसले उनको लाज छोपिएको छैन । जीवनको उत्तरार्धमा पुग्दा उनले पहिरिएको ‘त्यागी’ को पगडीमा हिलो लागेको छ । मान्छे हो, गल्ती हुन्छ । मुख्यमन्त्री सच्चिएका छन् । तर, यो घटनाबाट उनले पाठ भने सिक्नुपर्ने देखिएको छ । ‘आफ्नो हातमा डाडुपन्यूँ हुँदा फुकीफुकी निर्णय गर्नुपर्छ ।’ यो वाक्याशंलाई मूलमन्त्र बनाउनुपर्ने भएको छ ।
