बागलुङ/ जागिर खाएर घरको अवस्था सामान्य बनाउने उनको चाहना थियो । त्यसैले उनले ४१ वर्षअघि डिठ्ठा पदमा अदालतमा प्रवेश गरे ।
जागिर खाएर सबैभन्दा माथिल्लो पदमा पुग्छु भन्ने सोचेका पनि थिएनन् । जीवनको ४१ वर्ष ५ महिना २७ दिन लामो सरकारी जागिरमा उनी सबैभन्दा तल्लो डिठ्ठाको पदबाट न्यायाधीश बन्न सफल भए । गत महिना उनी न्यायाधीशबाट निवृत्त भएर घर फर्केका छन् ।
कास्कीको पोखरा महानगरपालिका–२६ आर्युेवेदिक मार्गका बासुदेव न्यौपानेले डिठ्ठाबाट न्यायाधीश बनेर आफ्नो ४१ वर्षे जागिरे जीवन बिताए । २०३७ सालमा पहिलो पटक जागिरमा प्रवेश गरेका उनले आफ्नो जीवनमा महत्वपूर्ण स्थान पाएको बताए । दैनिक खेतीपाती गरेरै खानुपर्ने परिवारमा उनले डिठ्ठाको जागिर पाउँदा निकै हौसिएका थिए । ‘हलो जोतेर खानुपर्ने परिवारमा भएपनि सरकारी जागिर पाउँदा खुसी भयौं’, न्यौपानेले भने, ‘बुबाको मेहेनतले बाँचेका हामीलाई सरकारी जागिरले नगद देख्ने बनायो ।’ जागिरे जीवनमा पटक पटक सफलता पाएर उनले न्यायाधीशसमेत बन्न सकेको बताए ।
कानून विषयमा प्रमाणपत्र तह (आइएल) पास गरेपछिको पहिलो लोकसेवा परीक्षामा उनी उत्तीर्ण भएका थिए । तत्कालीन गण्डकी अञ्चल अदालत पोखरामा पहिलो नियुक्ति थियो । माथिल्लो तहका कर्मचारीबाट काम सिक्ने उनको बानीले छिट्टै सफलतासमेत लग्यो । डिठ्ठाको जागिर खाँदै पढ्ने र परीक्षा दिने क्रममा उनी बहिदार, खरिदार, तामेलदार, तहसिलदार, सुब्बाहुँदै जिल्ला अदालतको स्रेस्तेदार बने । त्यही क्रममा उनले बिए, बिएल पास गर्न भ्याए । बिएल पास गरेपछि अधिकृतको परीक्षा पास गरे । २०६६ सालमा उनले उपसचिवको परीक्षामा नाम निकाल्न सफल भए ।
उपसचिव हुँदा उनले कतिपय ठूला जिल्लाको स्रेस्तेदार, सर्वोच्च अदालतको उपरजिष्ट्रारसमेत बनेर काम गर्न भ्याएको बताए । ‘कार्यालय सहायक भएर काम गरेको मान्छे, मलाई जहाँ रहे पनि अप्ठ्यारो भएन’, न्यौपानेले भने, ‘जहाँ गएर काम गरें, त्यही सफलता पनि पाएँ ।’ यति लामो सरकारी जीवनमा जवरजस्ती सरुवा पनि हुनु नपरेको उनले बताए । ‘समय पूरा भएपछि मात्रै सरुवा भएँ, त्यो पनि जहाँ जान पाए हुन्थ्यो भन्ने लाग्छ त्यतै सरुवा पाएँ’, उनले भने, ‘नचाहेर एकपटक मात्रै दाङ सरुवा भएको त्यहीं रमाइलो भयो ।’
२०५३ मा बागलुङमा तत्कालीन पुनरावेदन अदालत स्थापना हुँदा पनि उनी लामो समय बागलुङमै बसेका थिए । कर्मचारीको रुपमा, स्रेस्तेदारहुँदै उपसचिवसम्म जिल्लामा बसेकोले केन्द्रीय तहमा भन्दा जिल्लामै रमाएर काम गर्ने चाहना पूरा गरेको उनले बताए । उनले पटक–पटक स्रेस्तेदार र उपरजिष्ट्रार बनेर काम गरेका छन् । लेखापढीले खारिएर न्यायाधीश बनेकाले काम गर्दा अप्ठेरो नपरेको उनले सुनाए ।
२०७२ सालमा न्यायाधीशमा नियुक्त भएपछि उनले तीनवटा जिल्लामा काम गरे । अवकाशको एक महिनाअघि नै बिदा बस्ने परम्परा भएपनि उनले बिदा बस्न पाएनन् । निर्वाचनका लागि सरकारले मुख्य निर्वाचन अधिकृत तोक्यो । उनले अन्तिममा पाउने सुविधा पनि लिएनन् ।
‘पुरानो र सबै कार्यविधि जानेको भएर होला, कुनैपनि कुरामा कमजोरी गर्नुभएन’, स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले भने, ‘कानून व्यवसायीलाई पनि कतिपय स्थानमा सुझाव दिनुभयो ।’ प्रकृया मिच्न वा छल्न खोज्नेलाई त प्रत्येक सेकेण्डमै रोक्न सक्ने क्षमता न्यौपानेमा रहेको उनले बताए ।
सबैभन्दा तल्लो तहबाट सेवा प्रवेश गरेकोले जनताको दुःख धेरै बुझेको उच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले बताए । ‘कहिले पनि हतार नगर्ने, शान्त स्वभाव र परिपक्क निर्णयमा पुग्ने उहाँको बिशेषता रहेछ’, शर्माले भने, ‘कसैको कुरा सुनेर बहकिने काम पनि गर्नु भएन ।’ सात वर्षसम्म न्यायाधीश बनेर बस्दापनि कसैको पक्षमा लाग्यो, कुनै प्रलोभवनमा प¥यो भन्ने गुन्जायस देख्न नपरेको शर्माले बताए ।
न्यौपानेको धैर्यताले कैयौं सम्बन्ध विच्छेदका मुद्दा मिलापत्रमा फर्केका थिए । ‘तत्काल फैसला गरेको भए सम्बन्ध बिच्छेद हुन्थ्यो, तर धैर्य गरेर सोचविचारको समय दिने भनिदिंदा अदालतबाटै सम्बन्ध सुधार भएर धेरै जना फर्केका छन्’, अधिकारकर्मी गीता श्रीषले भनिन्, ‘छिटो फैसला खोज्नेभन्दा न्याय दिलाउने काममा उहाँ सक्रिय बन्नुभयो ।’ फैसला लेखनमा न्यौपाने दक्ष थिए । उच्च अदालत बागलुङले ७ दिनमै फैसला दिने व्यवस्था गरेपछि जिल्ला अदालत बागलुङमा पनि न्यौपानेले उक्त प्रावधान भित्र्याए ।





