गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट बारे अहिले सबत्र चर्चा छ । कहिले सांसदले मनोमानी खर्चन पाउने बजेट कटौती बारे बिरोध भएको भने कहिले नेता कार्यकर्ताका आफन्तको नाउँमा खोलीएका कोष र ट्रष्टमा रकम बिनियोजन भएकोमा टिकाटिप्पणी भैरहेको छ । कतिपय आवस्यकता भएका स्थानमा रकम बिनियोजन भएपनि कतिपय अनावस्यक स्थानमा परेपछि बिरोधका स्वरहरु सबैलाई उत्तिकै परेका छन् ।
मुख्य मन्त्री कृष्णचन्द्र नेपालीका बाबु गोबर्धन पोखरेलको नाउँमा बजेट बिनियोजन भएपछि बिरोध शुरु भयो । हुँदाहुँदा कांग्रेस नेता अर्जुन प्रसाद जोशीका बाबु अमृत जोशी प्रतिष्ठान सहित मन्त्री र सांसदका बाबुआमाको नाउँमा समेत लाखौं बजेट बिनियोजन भएको देखियो । त्यसपछि लगातार सामाजिक संजाल र लेखरचना मार्फत बिरोधहरु आइरहेका छन् । यसरी आएका बिरोधको प्रतिरोध पनि छिटफुट नभएका होइनन् । तर समग्रतामा धेरै बिरोधका स्वर आएपछि नेताहरुले आफ्नो क्षेत्रमा आउने बजेट नलिने घोषणा गरेका छन् । कतिपयले बजेट नराख्न भनेका छन् भने कतिपयले फिर्ता गराउने बिज्ञप्ती पनि प्रकाशित गरे ।
त्यसो त केही व्यक्तिहरु महत्वपूर्ण योगदान भएका हरुपनि छन् । सम्बन्धीत जिल्लाको व्यवस्थापन होस् वा राजनीतिक इतिहासमा पनि योगदान भएका व्यक्तित्वको नाउँमा कहिले बजेट दिने र कहिले फिर्ता गर्ने काम समेत अपमानजनक व्यबहार हो । यदि उनीहरु बेठिक मानिस थिए वा उनीहरुको संस्थानै बेठिक थियो वा ठिक थियो भने किन फिर्ता भयो ? की ती क्षेत्रमा फजुल खर्च हुने गर्छ्न् ? यो बिषयमा राम्रो अध्ययन हुन जरुरी छ । कतिपय त छात्रवृत्ति दिने देखि अध्ययन अनुसन्धानका पाटा हुन् की भन्ने देखिन्छ । संस्था वा कोही व्यक्ति भन्दा उनीहरुले गर्ने कार्यक्रमको कार्यविधि, योजना र प्रस्तावको आधारमा बजेट बिनियोजन गरिदिएको भए बिबाद आउने थिएन की ?
बजेट पाउनकालागि ती संस्था भर्खरै खोलिएका पनि थिएनन् । यस अघिपनि केही कार्यक्रम गरिरहेका थिए । त्यस्ता संस्था सबैको साझा बन्ने प्रयास भए की भएनन् ? यस अघि कुनै संस्थामा बजेट लगानी थियो की थिएन ? यी कुरापनि बिचारणीय छन् । यद्यपी कुनै गरिबको छाप्रो बन्ने, किसानको बारीमा मल पाउने वा मजदुरले रोजगारी पाउने क्रियाकलाप सँग बजेट परिचालन हुनु पर्छ । त्यतिमात्र हैन रोजगारी सँगै राज्य वा सरकारको लगानीले कर संकलन पनि हुनुपर्छ । त्यस्ता बिषयमा समयमा बिज्ञको सल्लाह लिन नेताहरु चुकेको देखिन्छ ।
सांसद कोष पनि कार्यकर्ता पोस्ने बजेट हो भनेर बर्षौदेखि बिरोध भइरहेको छ । फेरीपनि त्यो बजेट नभएसम्म पास गर्न नदिने काम भयो । एका तर्फ कार्यकर्तामुखी बजेट कनिका छरेझै भयो भनेर बिरोध पनि हुने, बजेट बिनियोजन भएपछि काम पनि नगर्ने, नपाएपछि संसद अबरोध गर्ने सम्मको काम समेत हुनु लज्जास्पद हो । त्यसैले अबका दिनमा बजेट बारे प¥र्याप्त छलफल हुन जरुरी छ । बजेट निर्माण पूर्वका ७ चरण पार गर्ने पद्दती हाम्रोमा कम छ । बरु कुनै नेता वा कार्यकर्ताले सुटुक्क दिएको चिटको भरमा बजेट पार्ने, सोही प्रकृतिको कार्यक्रम बनाउने चलनले राज्य कोषको दुरुपयोग भएको छ । यस्ता काममा बजेट लगाउने प्रवृत्तीले दिगो बिकास नभएको हो । बरु दिगो बिकासकालागि बहुबर्षे योजना बनाएर निरन्तर लगानी गर्ने वातावरण बनाऔं ।
