बागलुङ/ बागलुङ नगरपालिकाले नगरको पछिल्लो अवस्था समेटेर श्वेतपत्र जारी गरेको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरको वर्तमान अवस्था समेटिएको श्वेतपत्र जारी गरेका हुन् । बागलुङमा स्थानीय तहले जारी गरेको यो नै पहिलो श्वेतपत्र हो ।
शुक्रबार बागलुङ बजारमा आयोजीत एक कार्यक्रममा आगामि आर्थिक बर्षका लागि ११ औं नगरसभाबाट पारित भएको नीति तथा कार्यक्रम र बजेट सहितको पुस्तिका तथा नगरेको वर्तमान अवस्था समेटिएको श्वेतपत्र जारी भएकोे हो । जिल्लामा क्रियाशिल राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि तथा कर्मचारी र नगरबासी उपस्थित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले श्वेतपत्र सुनाएका थिए ।
‘नगरको अवस्थाका बिषयमा नागरिकलाई जानकारी गराउनु हाम्रो दायित्व हो’ श्वेतपत्र जारी गर्दै श्रेष्ठले भने ‘वास्तविकता बाहिर ल्याएका छौं, अब हाम्रा नीति तथा कार्यक्रम र बजेटमार्फत समस्याहरुको समाधान र जनताको हित हुने खालका कामहरु अघि बढाउँछौं’ उनका अनुसार नगरपालिकाको आजसम्मको बिकास तथा प्रशासनिक अवस्था र आगामी योजना समेटेर श्वेतपत्र ल्याएको छ ।
श्वेतपत्रमा पूर्वाधारको अवस्था, काम गर्दाका कठिनाई, जनशक्तिको अवस्था, बजेट कार्यान्वयन र आय व्ययको अवस्था लगायतका विषयवस्तु समेटिएका छन् । नगरले जारी गरेको श्वेतपत्रमा नगरभित्र ४० किलोमिटर सडक कालोपत्र रहेको, ग्राभेल सडक १२ किलोमिटर र कच्चि सडक २ सय किलोमिटर गरी २ सय ५२ किलोमिटर सडक संरचना तयार भएको उल्लेख छ ।
नगरको आफ्नै प्रशासनीक भवन खण्डहर भैरहेको अवस्थामा साविकको कृषि विकास कार्यालय लगायतका भवनहरुबाट कार्यालय सञ्चालन गर्नुपरेको अवस्थाका विषय श्वेतपत्रमा उल्लेख छ । बर्षा याममा नगरका १४ वडामध्ये ७ वडामा पुग्ने सडक अति जोखिममा रहेको, खानेपानीका आयोजना समयमा सम्पन्न नहुँदा पानीको समस्या रहेको, सार्वजनिक शौचालय प्रयोगमा नरहेको, वडा कार्यालय भवनहरु पुननिर्माण गनर्तुपर्ने अवस्थामा रहेको बिषय पनि श्वेतपत्रमा समेटिएको छ ।
बलेवा बिमानस्थलको धावनमार्ग कालोपत्र भएपनि पक्कि सडक नबन्ने बेलासम्म सञ्चालन गर्न नसकिने अवस्थामा रहेको र आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएपनि हस्तान्तरण नहुँदा प्रयोगबिहिन रहेको सार्वजनिक भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा जनशक्तिकै व्यवस्थापनका लागि नगरले व्यहोर्ने आर्थिक दायित्व बोझिलो रहेको बिषय घुमाउरो पाराले उल्लेख गरिएको छ ।
बाङ्गेचौर खेलकुद रंगशाला, मालिका वन्यजन्तु संरक्षण पार्क प्रक्रियागत समस्याका कारण अघि बढ्न नसकेको र रातामाटा सभाहल, औधोगिक ग्राम, दम्काफाँट सिंचाई आयोजना लगायतका आयोजनामा समस्या उत्पन्न भएका कारण काम रोकिएको श्रेष्ठले श्वेतपत्रमा उल्लेख गरेका छन् ।
नीति तथा कार्यक्रम, बजेट र श्वेतपत्र सार्वजनिकिकरण कार्यक्रममा बोल्दै बक्ताहरुले नगरले सकरात्मक सुरुवात गरेको उल्लेख गरे । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले समयमा ‘रातो किताब’ ल्याउनु र श्वेतपत्रमार्फत नगरको वास्तविकता बाहिर ल्याउनु सकरात्मक भएको बताए ।
नेपाली कांग्रेसका नेता महेन्द्र आचार्य, माओबादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भीमलाल पोखरेल, राप्रपाका डिल्ली प्रसाद आचार्य, अनेम संघ बागलुङकी अध्यक्ष लक्ष्मी बोहरा, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र पत्रकार महासंघ बागलुङका सचिव बिजय राना लगायतले बोलेका थिए ।





