बागलुङ/ जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले आधुनिक बाख्राको खोर बनाएका छन् । उनको खोरमा २५ वटा बाख्रा छन् ।
यसअघि परम्परागत खोरमा पालेका उनले आधुनिक खोर बनाउन पाएर खुसी भएका छन् । आधुनिक खोरमा पाल्दा बाख्राले राम्रो उत्पादन दिने प्राविधिकको सल्लाहमा खोर थपेको बताए ।
राङखानीकै एलु थापाले पनि बाख्रा र बंगुरको खोर बनाएकी छिन् ।
उनको आधुनिक खोरमा बाख्रा र बंगुर उत्पादन बढाउने चाहना छ । बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम संचालन गरेको कृृषि ज्ञान केन्द्रले किसानलाई लागतको ९० प्रतिशतसम्म अनुदान दिएपछि किसानले हौसिएर काम गर्दै आधुनिक खोर बनाएका हुन् । असारको पहिलो साता सम्झौता गरेका यहाँका ३० जना किसानले आधुनिक खोर बनाइसकेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए ।
बाख्राको खोर बनाउनेलाई केन्द्रले ४० हजार लगानी गरेको छ । त्यसमा किसानले ४ हजार ४ सय आफ्नो लगानी गर्नुपर्छ । त्यस्तै बंगुरको खोर बनाउन केन्द्रले ५० हजार दिंदा किसानले ५ हजार लगानी गरेका छन् । ‘अधिकांसले खोर बनाएर बाख्रा बाँधी सके, केहीले अझै पुरा गर्दैछन्’ भट्टराइले भने, ‘काम सकेको प्राविधिक प्रतिवेदनको आधारमा मात्रै किसानले भुक्तानी पाउँछन् ।’ राङखानीलाई बाख्रा र बंगुरको श्रोत केन्द्रकै रुपमा विकास गर्न यो लगानी गरिएको उनले बताए ।
जिल्लामा ढीलागरी बजेट आएपनि बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम छनौटका लागि ४ वटा स्थानलाई रोजिएको थियो । ती बस्तीमध्ये बिपन्न परिवार, काम गर्ने चाहना, आवस्यकता समेतको पहिचान गरेपछि राङखानीको पाही गाउँ छनौटमा परेको हो । ‘यहाँका किसानले धान रोप्ने कामसमेत छाडेर खोर बनाएको देख्दा साँचिकै आवस्यकता रहेछ भन्ने देखियो’ जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भने, ‘अब किसानले आफ्ना उत्पादन बेचेर धनी भएको पनि देख्न पाउनुपर्छ ।’ सबै बिपन्न बस्तीको रुपमा रहने अवस्था अन्त्य गर्न कृषि ज्ञान केन्द्रले काम गर्नुपर्ने उनले सुझाव दिए ।
बिपन्न बस्ती छनौट गरेर लगानीका लागि समेत समन्वय प्रमुखकै अध्यक्षतामा समिति हुन्छ । उक्त समितिले छनौट गरेको निर्णयपछि मात्रै बजेटका लािग माग गरिने प्रावधान छ । माग गरेको बजेट ढीला आएपनि समयमा काम सकेकोले आवस्यकता थियो भन्ने देखिएको उनले बताए । यहाँ दलीत र मगरहरु बिपन्न बस्तीमा सूचिकृत भएको भट्टराइले बताए । चालु बर्षका लािग केन्द्रमा ३५ लाख ३५ हजार बजेट आएकोमा यहाँ ४१ वटा खोरमा लगानी गरिएको हो ।
त्यसबाहेक कृषि फसल उत्पादन गर्ने किसान, प्लाष्टिक टनेल, बेमौषमी उत्पादन लगायतमा पनि लगानी भएको उनले बताए । किसानले खोर बनाएपछि बोयर बोका पाल्ने योजना पनि सुनाए । केही किसानले बंगुरको संख्या बढाएर व्यवसायिक बन्ने योजना सुनाए । किसानले सूर्यमुखी किसान समूह गठन गरेर बिपन्न बस्ती समेटेका छन् । ‘समूहमा आबद्ध भएर पनि केही किसानले तत्काल काम गर्न नसकेर बजेट लिनु भएन’ थापाले भने, ‘आगामी बर्ष अन्य कार्यक्रममा जोडेर बस्तीका सबैलाई सम्पन्न बनाउने लक्ष राखेका छौं ।’ पाहीमा ९३ घरमा कृषि तथा पशुपालन गरेर जीवन निर्वाह गर्नेहरु छन् ।
केन्द्रले संचालन गरेको कृषि फर्मको भुक्तानीका लागि जिल्ला समन्वय समिति, प्रशासन, ज्ञान केन्द्र, जनप्रतिनिधि समेतको अनुगमनसमेत गरिएको छ । अनुगमनपछि उपयुक्त ठहर भएका योजनामा मात्रै भुक्तानी गर्ने भट्टराइले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि राङखानीका किसानमा लगानी गरेको छ । पाहीकै केदार आचार्यले निर्माण गरेको सुन्तला बिरुवाको नर्सरी निर्माणमा १५ लाख लगानी गरेको परियोजनाका निमित्त प्रमुख सुजित पौडेलले बताए । अनुसन्धान केन्द्र तथा बिरुवाको श्रोत केन्द्र बनाउन आचार्यले यहाँ ५० लाखबढी लगानी गरेका छन् ।





