बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आर्युेवेदमा आकर्षण बढ्दो

आर्युेवेदमा आकर्षण बढ्दो


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०७९, शनिबार

बागलुङ/ पछिल्लो समय आर्युेवेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतीमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका छ वटा आयुर्वेद औषधालय र ३ वटा नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको संख्याले पनि आर्युेवेदिक औषधिको प्रभाव र आर्युेवेदिक उपचार पद्धतीमा सर्वसाधारणको आकर्षण बढ्दो देखाउँछ ।

बागलुङको कुल जनसंख्याको दश प्रतिशत सर्वसाधारण चालु आर्थिक बर्षमा आर्युेवेदिक पद्धतीबाट औषधि उपचारको लागि आर्युेवेदिक स्वास्थ्य केन्द्रहरुमा पुगेका छन् । २८ हजार ९ सय ३८ जना बिरामीले चालु आर्थिक बर्षको जेठ मसान्तसम्म आर्युेवेदिक पद्धतीबाट उपचार सेवा लिएको तथ्यांक छ । बागलुङ नगरपालिकामा रहेको धौलागिरी आर्युेवेदिक औषधालय, बलेवा आर्युेवेदिक औषधालय, जैमिनीमा रहेको दमेक आर्युेवेदिक औषधालय, जैदी आर्युेवेदिक औषधालय, काठेखोला गाउँपालिकामा रहेको बिहुँ आर्युेवेदिक औषधालय र ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ आर्युेवेदिक औषधालय तथा बडिगाड, बरेङ र ताराखोला गाउँपालिकामा रहेका नागरिक आरोग्य केन्द्रबाट बिरामीले आर्युेवेदिक पद्धतीबाट उपचार सेवा लिएका हुन् ।

यहाँका आर्युेवेदिक औषधालय तथा नागरिक आरोग्य केन्द्रहरुले आफैले उत्पादन गरेको औषधि र आर्युेवेदिक पद्धतीका प्रचलित बिधिबाट बिरामीको उपचार गर्ने गरेका छन् । बागलुङका आर्युेवेदिक औषधालयहरुले आर्थिक बर्ष २०७८/०७९ मा मा ६ सय ६० किलो ग्राम औषधिको उत्पादन गरेर सर्वसाधारण बिरामीहरुको उपचारमा खर्च गरेका छन् ।

दुई बर्षअघि कोरोना संक्रमणका बेला गुर्जोलगायतका विभिन्न जडिबुटीुको सेवनलाई सरकारले प्राथमिकता दिएको थियो । त्यस यता बागलुङमा आर्युेवेदिक औषधिको माग र प्रयोग बढ्दो छ । चालु आर्थिक बर्षमा मात्रै दमेक आर्युेवेदिक औषधालय जैमिनी–२ दमेकले ३ सय १४ किलो, धौलागिरी आर्युेवेदिक औषधालय बागलुङले ३ सय ६ किलो र बलेवा आर्युेवेदिक औषधालय बागलुङले ४० किलो चुर्ण औषधि उत्पादन गरेका हुन् ।

जिल्लास्थित आयुर्वेद औषधालयहरुको चालु आर्थिक बर्षको वार्षिक समीक्षा गोष्ठीमा उक्त तथ्यांक प्रस्तुत भएको हो । दमेक आर्युेवेदिक औषधालयका प्रमुख डा. लक्ष्मीप्रसाद शर्माका अनुसार यो अबधिमा सबैभन्दा धेरै औषधि ग्यास्टिकका बिरामीले लिएका छन् । हाडजोर्नी, नसा च्यापिएको, दिर्घरोगी र अन्य बिभिन्न खालका बिरामी औषधिको लागि औषधालय आउने गरेका छन् । सीमित दरबन्दी र साधन श्रोतका बीच आर्युेवेदिक औषधि उत्पादन र बितरणमा काम जिल्लभरिका औषधालय तथा नागरिक आरेग्य केन्द्रहरुबाट भैरहेको धौलागिरी आर्युेवेदिक औषधालय बागलुङका प्रमुख सरोज कुमार रायले बताए ।

बार्षिक समीक्षा कार्यक्रममा सबै औषधालयका प्रमुखहरुले आफ्नो क्षेत्रमा भएका कामको प्रगती विवरण पेश गरेका थिए । कार्यक्रममा नगरपालिका भित्रको बलेवा आर्युेवेदिक औषधालयतर्फको कविराज निरीक्षक हरिप्रसाद पौडेलले प्रस्तुतीकरण गरेका थिए । सबैभन्दा धेरै जनसंख्यामा यो औषधालयले सेवा दिएको थियो ।

कार्यक्रममा उपस्थित सबैले सिमित दरबन्दी, कम बजेट र तोकिएको बजेट पनि समयमा निकासा नहुने समस्याबारे बताएका थिए । कतिपय अवस्थामा बजेट छ भनेपनि अन्यत्र रकमान्तरण भएर नआएपछि औषधि खरिद तथा उत्पादनमा समेत समस्या परेको पनि बताए । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले समस्या समाधानमा आफ्नो सहयोग रहने बताए ।

धौलागिरी आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष राजिब घिमिरेको अध्यक्षता, डा. कमलविक्रम पौडेलको संचालन र डा. सरोजकुमार रायको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गाणेश पौडेल, स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरे, बागलुङ नगरपालिका–२ का अध्यक्ष सुरज बोसेल लगायतले बोलेका थिए ।
कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य गर्ने दमेक आयुर्वेद औषधालय र बडिगाड नागरीक आरोग्य केन्द्रलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->