बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एक वर्षमा परियोजनामार्फत ४४ वटा कृषिका संरचना तयार

एक वर्षमा परियोजनामार्फत ४४ वटा कृषिका संरचना तयार


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

बागलुङ/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आ.व. २०७८÷०७९ मा मात्रै ४४ वटा कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिंचाईका संरचना परियोजनाले तयार गरेको हो । यो अबधिमा ६१ वटा यन्त्र तथा उपकरणहरु किसानलाई वितरण गरिएको छ ।

जिल्लाको ताराखोला गाउँपालिकामा आलुको भण्डारका लागि रष्टिक घर निर्माण भएको छ । यो जिल्लामा परियोजना सञ्चालित क्षेत्रमा बितेको आर्थिक बर्षमा तयार भएको सबैभन्दा ठुलो संरचना हो । जिल्लाभर १३ वटा साना सिंचाई आयोजनाहरु तयार भएको परियोजना कार्यान्वयन इकाई बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताए ।

३० वटा आधुनिक बाख्राका खोर र एक पशु आहार नर्सरी स्रोत केन्द्र स्थापना भएका छन् । त्यस्तै यो अबधिमा ४० वटा मिनीटेलर हलो, १९ वटा चापकटर, दाना बनाउने मेसिन २ वटा किसानलाई हस्तान्त्रण गरिएको छ । आलु जोन र बाख्रा जोन कार्यक्रम सञ्चालनमा रहेको बागलुङमा बिभिन्न पकेट तथा व्लकमार्फत परियोजनाले संरचना निर्माण तथा प्रबिधि हस्तान्तरणमा सहयोग गरेको हो । संघीय, प्रदेश र स्थानीय सरकारमार्फत स्रोत परिचालन हुने परियोजनाअन्र्तगत बागलुङमा ९ वटा व्लक र ५७ वटा पकेट क्षेत्रमा कार्यक्रम सञ्चालनमा रहेको पौडेलले जानकारी दिए ।

‘हामीले दुई जिल्ला बागलुङ र पर्वत हेर्नेगरी बागलुङमा कार्यालय राखेर परियोजना चलाईरहेका छौं’ पौडेलले भने ‘बागलुङमा प्राथमिकतामा रहेको दुग्ध उत्पादन जोन कार्यक्रम कार्यान्वयन हुन बाँकी छ, आलु जोन पहिलेदेखि नै चलेको हो भने बाख्रा जोन कार्यक्रम पनि अघिल्लो आर्थिक बर्षबाट सञ्चालनमा आएको छ ।’

पकटे कार्यक्रमका लागि स्थानीय तह, व्लकका लागि प्रदेश र जोन विकासका लागि संघीय सरकारमार्फत बजेट परिचालन हुने पौडेलले बताए । उल्लेखित संरचना तथा प्रबिधि हस्तान्तरणका लागि ७ करोड ७४ लाख ६४ हजार रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिए । बागलुङमा सबैभन्दा धेरै तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास गरिएको छ । आलु र मकैको १२/१२ वटा र तरकारीका ११ वटा पकेट क्षेत्र विकास भैसकेका छन् ।
बागलुङमा तरकारी, मकै, आलु, बाख्रा र बंगुर व्लक क्षेत्र विकास भएका छन् । तरकारी व्लक १, मकै ब्लक ४ आलु ब्लक १, बाख्रा ब्लक २ र बंगुर ब्लक १ वटा सञ्चालनमा रहेका छन् । १ सय ३ वटा समुह तथा सहकारीमार्फत १ सय ९० वटा यन्त्र तथा उपकरण किसानको हातमा पुगेकाले कृषि उत्पादन लागतमा कमी आएको र बाँझो जग्गाको उपयोग बढ्न थालेको पौडेलको दाबी छ ।

ताराखोलामा निर्माण भएको रष्टिक घरमा १० मेट्रिक टन आलु भण्डार गर्न सकिने भएकाले किसानले उपयुक्त समयमा उपयुक्त मुल्य लिएर आलु बिक्री गर्न सक्ने उनले बताए । बाख्रा जोन कार्यक्रम सुरु भएको बागलुङमा बाख्राको नश्ल सुधारमा परियोजनाको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ । खोर व्यवस्थापन र नश्ल सुधारमा परियोजना सहयोगी बन्दा उत्पाद बढ्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->