बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नगरबासीको एकै स्वर : कहिले आउँछ शुद्ध पानी ?

नगरबासीको एकै स्वर : कहिले आउँछ शुद्ध पानी ?


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

बागलुङ/ कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशिल बन्छ ?

यस्ता धेरै प्रश्न नगरबासीले पटक पटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवस्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिवार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै दर्जनौ प्रश्न उठे ।

बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ समेत गर्दा आधारभूत आवस्यकतामा बढी प्रश्न उठेका हुन् । नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पनि अधिकांस जिज्ञाशा र चिन्ता मौलिक हक पालना नभएको पाएकोले नगरपालिका सचेत बनेको बताए । सुनुवाइमा नयाँ जनप्रतिनिधिका थोरै चुनौती र सबैभन्दा बढी बागलुङको खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रश्न उठेका थिए ।

सुनुवाईमा सहभागि अधिकांसले नगरको खानेपानीमा भएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले खानेपानीको अभिभावकत्व लिनुपर्ने समेत सुझाए । धौलागिरि अस्पतालमा स्वास्थ्य सेवा प्रभावकारी नभएको, सयौं सेवाग्राहीलाई सामान्य जानकारी दिने काम नभएको, खानेपानीको व्यवस्थापन नभएको र आवस्यक दक्ष चिकित्सक घटेको समेत बताए ।

नगरपालिकाले संचालन गरेका पूर्वाधारहरु गुणस्तरहिन भएको टिप्पणी सहभागीले गरेका थिए । सदरमुकामदेखि वडा तहमा जोड्ने सडकहरु जीर्ण बन्दै गएकोले पर्यटन, कृषि तथा अन्य क्षेत्रमा पनि प्रभाव परेको गुनासो थियो । ‘भकुण्डे पर्यटनको आर्कषण केन्द्र हो, यहाँ पुग्न सयौंको मन छ, तर जाने सडक भएन’ बानपा–४ का प्रकाश जिसीले भने, ‘उक्त सडक स्तरीय बन्दा नगरपालिकाले लाखौं कमाई गर्न सक्छ ।’ पर्यटकको भीड लाग्दा स्थानीय बासिन्दा रोजगार बन्ने, स्थानीय उत्पादनले बजार पाउने समेत उनको तर्क थियो ।

त्यस्तै बलेवास्थित हवाइ मैदान संचालन, निर्माण सम्पन्न भएको बसपार्क व्यवस्थापन गर्नुपर्ने, अदालत चौपारीदेखि तित्याङ जाने सडकको शुरुवात खण्ड असहज भएको, खानेपानीको लिफ्ट योजना बनिरहेको भूगोलमा हुन सक्ने जोखिम घटाउन अहिलेबाटै पहल गरिनुपर्ने धारणा पनि आएका थिए । खानेपानीको मुहान भएका स्थानमा बंगुरपालन गरिंदा प्रदुषण बढेको, नदी दोहन रोक्न आवस्यक प्रक्रिया पुरा नभएको, काठेखोलामा जलचरको संरक्षणमा ध्यान नपुगेको जस्ता प्रश्न समेत उठेका थिए ।

सहभागिको जिज्ञाशामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रश्नको जवाफ दिएका थिए । उनले नगरबासीलाई आगामी पुस मसान्तसम्म स्वच्छ र नियमित खानेपानी खुवाउने प्रतिवद्धता जनाए । ‘निर्माणाधिन काम सक्न समय लाग्ने भएकोले केही ढीला हुन्छ, तर काम सक्न चाहिने उपकरणमा नगरपालिकाले सहजीकरण गर्नेछ’ श्रेष्ठले भने, ‘अप्ठ्याराहरु फुकाउने काम गर्छौ, तर ठेकेदारले काम समयमा सक्नुपर्छ ।’ साथै, उनले लिफ्ट खानेपानीको बिकल्प समेत सोचिसकेको भन्दै कालीगण्डकीको पानी समेत ल्याउन प्रारम्भिक सर्भे गर्ने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अब समयमा योजना सम्झौता गर्ने, समयमा फरफारक गर्ने पद्दती बसाल्ने बताए । उनले समयमा काम सक्दा भुक्तानीको समस्या नहुने, अनुगमन प्रभावकारी बन्ने र बेरुजु लगायतका अप्ठ्या समयमा फुकाउन सकिने समेत बताए । ‘अब साउनबाटै योजना सम्झौता हुनेछन्, त्यसैले असारमै रातो किताब ल्यायौं’ उनले भने, ‘मंसिर मसान्तमा सम्झौता नभए पुसको नगर परिषदले रकमान्तरण गरेर अन्यत्र हाल्न सक्ने व्यवस्था छ ।’ उनले रकमान्तरण भएका योजनामा पनि फागुन मसान्त भित्र सम्झौता गरिसक्ने लक्ष बनाएको बताए ।
कार्यक्रममा उपप्रमुख राजु खड्का, अस्पतालकी नर्स अधिकृत शान्ति खड्का र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जिज्ञाशाको जवाफ दिएका थिए ।

कार्यक्रममा एमाले नगर अध्यक्ष धनबहादुर परियार, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठसहित रुद्रबहादुर महत, रामप्रसाद घिमिरे, डिल्लीप्रसाद गौतम, जगन्नाथ आचार्य, बद्रीप्रसाद शर्मा लगायतले नगरका क्रियाकलापबारे प्रश्न उठाएका थिए । नगर प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पत्रकार राम थापा र स्वागत उपप्रमुख राजु खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->