
बागलुङ/ जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजार । यो दशक अघिदेनि क्षेत्रीय तहका सरकारी कार्यालय रहेको स्थान हो । यहाँ दैनिक प्रशासनिक कामदेखि अन्य व्यवसाय समेतको कामले सयौं मानिस आउने जाने गर्छन् ।
तर, शौचालय नपाएर धेरै सास्ती खेप्न बाध्य छन् । अझै असार लागेपछि बढेको भीडभाडमा सेवाग्राहीलाई यो समस्या बढी छ । नगरपालिका कार्यालय नजिकै रहेका बैंकमा पनि सयौं सेवाग्राही आउने गर्छन् । बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आउने बुढाबुढीले त जतिबेला पनि भीडभाड देखिन्छ । नियमित सेवाका काम पनि उत्तिकै छन् । तर उनीहरुले सार्वजनिक शौचालय नभेटेर हैरानी खेपेका छन् ।
नगरपालिका अगाडि हुने भीडमा सेवा छिटो वा ढीला भन्ने चासो भन्दा शौचालय नभएको चासो बढी देखिने गरेको छ । शौचालय नभएको समस्याले धेरै जना पीडित समेत भएका छन् । शौच आएमा होटलमा छिर्ने वा खोलाखोल्सी धाउने सास्ती धेरैले खेपेको बताए ।
नगरपालिका भाडामा बसेको छ । आफ्नै प्रशासकीय भवन बनाउने तयारी छ । भवन सम्पन्न हुन झण्डै ३ बर्ष लाग्छ । अहिले आउने सेवाग्राहीले शौचालय नपाएर खोलाखोल्सी धाउन बाध्य छन् । ‘चार घण्टादेखि कुरेर बस्दा दुइपटक शौचालय चाहियो, नजिकमा कसैको पनि छैन, खोलाखोल्सी खोज्न बाध्य भएँ’ जैमिनी नगरपालिका–९ की तिला परियारले भनिन्, ‘यतिधेरै मानिस जम्मा हुने ठाउँमा शौचालय बनाउनु पर्दैन ?’ यहाँ सेवा लिन आउने हरेकले यस्ता समस्या भोग्ने गरेको गुनासो गरे ।
नगरपालिका कार्यालयभित्र एउटा मात्रै शौचालय छ । त्यो कर्मचारीकै लागि पर्याप्त नभएकोले सेवाग्राहीले हैरानी खेपेका हुन् । नगरपालिकाले सेवा प्रवाह चुस्त बनाउन हेल्प डेक्स स्थापना गरेको छ । तर उनीहरुलाई बस्ने, पानी पिउने र शौचालय जाने व्यवस्था नभएको नगर उपप्रमुख हरिहर शर्माले स्विकारे । सामान्य सेवा पनि दिन नसक्दा लज्जाबोध भएको उनको भनाइ छ । ‘मैले आँफै बाहिर निस्केर सेवाग्राहीको मनोभावना बुझेको हुँ, अधिकांसले शौचालय र खानेपानी नपाएको गुनासो गर्नुभयो’ शर्माले भने, ‘तत्कालै अस्थायी भएपनि शौचालय बनाउने पहल थालेका छौं ।’ नजिकमा जग्गासमेत नपाएपछि वडा नंं १ का अध्यक्ष बिष्णु आचार्यको जग्गामा शौचालय र गाडीको पार्किङ स्थल बनाउन पहल गरेको उनले बताए ।
हाल छाप्रो रहेको उक्त स्थानमा निर्माण सामाग्री राखिएको छ । आचार्यले शर्माको आग्रहमा उक्त स्थानमा अत्यावस्यक सेवा संचालन गर्न पहल गर्ने बताए । जैमिनी नगरपालिकामा बर्षेनी ५ सयबढी योजना सूचिकृत हुन्छन् । सम्झौता र फरफारकको समयमा हरेक योजनाका कम्तिमा ३ जनाको दरले आउजाउ गर्दा १ जार ५ सय जना उपस्थित हुन्छन् । सामाजिक सुरक्षा भत्ता समेत मुकाममा रहेका बैंकबाट बितरण गर्दा हरेक दिन ४० देखि ५० जना सम्म आउने गरेका छन् । ‘कुनै दिन त सयौं जना आएर बाटो समेत भरिन्छ’ स्थानीय सुजन आचार्यले भने, ‘पानी पर्दा ओत लाग्ने ठाउँपनि छैन ।
जैमिनीमा संघिय सरकारबाट आगामी बर्षका लागि ५२ करोड २४ लाख बित्तिय अनुदान आउने भएको छ । गत बर्ष पनि सोही अंकको अनुदान आएका थियो । जनप्रतिनिधि र कर्मचारीले सेवा ग्राहीको लागि कुनै पनि योजना बनाउन नसक्दा ५ बर्षसम्म सास्ती खेप्नुपरेको हो । ‘सामान्य काम लिएर गएपनि पानी पर्दा रुझ्ने, घाम लाग्दा पसिना निकाल्ने बाध्यता छ’ स्थानीय मोती पौडेलले भने, ‘छाप्रो बनाउने, शौचालय र खानेपानीको व्यवस्थापन गर्ने काममा धेरै खर्च लाग्थेन ।’
शर्माले तत्काल शौचालय बनाउन खोज्दासमेत बजेट अभाव देखाइएको थियो । नगर प्रमुख नरबहादुर पुन र शर्माको पहलमा पूर्वाधार तर्फको केही बजेट रकमान्तरण गरेर भएपनि शौचालय बनाउने, पार्किङ स्थल र खानेपानी समेतको व्यवस्थापन गर्ने निष्कर्षमा पुगेको बताए ।





