बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेरुजुको बढ्दो ग्राफ

बेरुजुको बढ्दो ग्राफ


  • Dhorpatan News
  • साउन २ २०७९, सोमबार

महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ६९ औं प्रतिवेदन अनुसार देशको कुल बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षणबाट देखिएको यो रकमले अनियमितता बढ्दै गएको पुष्टिमात्रै गर्दैन, सरकारी निकायहरुको लापरवाही पनि झल्काउँछ । सार्वजनिक आय–व्यय प्रचलित कानूनविपरीत हुने अनियमितता नै बेरुजु हो । बेमनासिव तरिकाले गरिएको आर्थिक कारोबारलाई बेरुजु भनिए पनि सबै बेरुजुलाई अनियमितता भन्न भने मिल्दैन । महालेखापरीक्षकको कार्यालयले बेरुजुको हकमा असुल उपर गर्नुपर्ने,नियमित गर्नुपर्ने र पेश्की गरी ३ वर्गीकरण गरेको हुन्छ । असुल उपर गर्नुपर्ने रकम चाहिँ अनियमितता हो भने काम हुँदै गर्दा दिइएको पेश्की तथा नियमित गर्नुपर्ने दायित्वलाई अनियमिततामा राख्न मिल्दैन ।

नेपालमा बेरुजुको ग्राफ बढ्नुमा महालेखापरीक्षकको कार्यालयले तोके अनुसारको हिसाब नराख्नु,बजेटको शीर्षक अनुसार खर्च नगरिनु, सार्वजनिक खरिदमा पारदर्शीता कायम नहुनु,आर्थिक कार्यविधिहरुको पालना नहुनु मुख्य कारणहरु हुन् । त्यसका अलावा आन्तरिक लेखा परीक्षण राम्रो नहुँदा पनि बेरुजु बढ्न पुग्छ । बेरुजु बढ्नु भनेको आर्थिक अनुशासन पालना नभएको र भ्रष्टाचार बढ्नु नै हो ।

महालेखापरीक्षकको कार्यालयले बेरुजु फस्यौंटमा जोड दिँदै वित्तीय अनुशासन कायम गर्न सरोकारवाला निकायहरुलाई सुझाव दिएको छ÷दिँदै आएको छ । तर, ती निकायहरुले त्यसको वास्ता गरेका छैनन् । देश संघीयतामा गएसँगै खर्च गर्ने निकायहरु बढेका छन् । सिंहदरबारदेखि स्थानीय पालिकाहरुले आर्थिक गतिविधि गर्दा नियमहरको पालना गरेका छैनन् । त्यसले स्थानीय तहमा पनि बेरुजुको ग्राफ बढ्दो देखिएको छ । शीर्षक अनुसार बजेट खर्च नगर्ने र पारदर्शीता कायम नगर्ने प्रवृत्ति झन मौलाएको छ । स्थानीय तहको आन्तरिक लेखा परीक्षण प्रणालीलाई व्यवस्थित बनाउन सकिएन भने,राजनीतिक नेतृत्व इमान्दार देखिएन भने र सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनका नियमहरु कडाइका साथ लागू गरिएन भने भ्रष्टाचार मौलाउने निश्चित छ । महालेखाको प्रतिवेदनले वितरणमुखी कार्यक्रमका कारण बेरुजु बढेको औंल्याएाको छ । पालिकाहरुले कानून उल्लंघन हुने गरी अनुदान बाँड्दा पनि समस्या देखिएको छ । यी र यस्ता प्रवृत्तिहरुमा तत्काल लगाम लगाउनुपर्छ । कहिलेकाहिँ भूलवश पनि बेरुजु देखिन सक्ने सम्भावना रहन्छ । यसका लागि दक्ष जनशक्ति व्यवस्थापन गरिनुपर्छ । मुख्य कुरा, सदाचारलाई जोड दिने हो भने बेरुजुको ग्राफ आफै घट्न पुग्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->