बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु

विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु

व्यवसायी भन्छन् : व्यक्तिको सम्पत्ति नगरले जानकारी नदिई मास्यो ।


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७९, सोमबार
फाईल तस्विर

बागलुङ/ बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापन होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रबेशद्वार वडा नं. १ को मालढुंगा र कालिका भगवती मन्दिर वरपर राखिएका विज्ञापन होडिङ बोर्ड हटाउन सुरु गरिएको हो ।

नगरपालिकाले सहरको सुन्दरताका लागि भन्दै त्यस्ता विज्ञापन होडिङ बोर्ड हटाउन थालेको वडा नं. १ का अध्यक्ष जयबहादुर केसीले बताए । केसीकै संयोजकत्वमा बनेको ‘विज्ञापन होडिङ बोर्ड’ व्यवस्थापन समितिले मालढुंगामा रहेका बोर्डहरु हटाउन सुरु गरेको हो । यहाँबाट हटाईका बोर्डहरु अन्यत्र कुनै उपयुक्त ठाउँमा राख्न दिईने केसीले बताए ।

सार्वजनिक जग्गामा रहेका बोर्डहरु नगरपालिका आफैले हटाएको र व्यक्तिगत जग्गामा भएका बोर्डहरु हटाउन पहिलो चरणमा १५ दिन र दोस्रो चरणमा ७ दिनको म्याद दिएको केसीले बताए । ‘हामीले जग्गाधनी र बोर्डधनी दुवैलाई जानकारी गराएका छौं, केहिले सकरात्मक हिसाबले हटाउनुभयो, बाँकी केही हट्दै छन्’ केसीले भने ‘नगर कार्यपालिकाको बैठकबाट निर्णय भएरै यो काम भैरहेको छ ।’
प्रबेशद्वारमा रहेका होटल, रेष्टुँरा, बैंक तथा बित्तिय संस्था, बिभिन्न कम्पनी र सामाजिक संघ संस्थाले राखेका स्वागत बोर्डहरु समेत हटाउन लागिएको हो । ‘अब चार वटा ठुला ठुला बोर्ड व्यक्तिका जग्गामा बाँकी छन्, उहाँहरुले ७ दिनभित्र आफै हटाउँछौं भन्नुभएको छ’ केसीले भने ‘तोकिएको समयभित्र नहटाए हामी हटाउँछौं ।’

मालढुंगामा बागलुङको परिचय झल्किने गरी डिजिटल बोर्ड राख्ने योजना रहेको नगरप्रमुख बसन्तकुरमा श्रेष्ठले बताए । नगरपालिकाले जिल्लाका पर्यटकीय क्षेत्र, यहाँका कला संस्कृति र भुगोलको बिषयमा जानकारी समेटेर डिजिटल बोर्ड राख्ने योजना बनाएको छ । बागलुङ कालिका भगवती मन्दिरको प्रबेशद्वार आसपासमा रहेका बोर्डहरु समेत नगरपालिकाले हटाउन भनेको छ । प्रसिद्ध कालिका मन्दिरको मौलिकता हराउनेगरी बिज्ञापन बोर्डहरु राखिएको भन्दै नगरले हटाउन भनेको हो । ‘बागलुङ आउने पर्यटकको लागि पहिलो प्रभाव नै नकारात्मक पर्ने भो, त्यसैले बिज्ञापन बोर्ड हटाउने भनेका हौं’ श्रेष्ठले भने ‘अब त्यहिं ठाउँबाट बागलुङको चिनारी दिने योजना छ ।’

बोर्ड हटाईएको बिषयमा बागलुङका व्यवसायीले भने आपत्ति जनाएका छन् । बिना जानकारी व्यक्तिको सम्पत्ती नगरपालिकाले जर्बजस्ती क्षति गरेको उनीहरुको आरोप छ । ‘न त कुनै सूचना छ, न जानकारी, यत्तिकै हाम्रो बोर्ड किन फालिएको हो, हटाउन भनेको भए हामी आँफै हटाउँथ्यौं’ होटल दि राजनका सञ्चालक एञ्जील शाक्यले भने ‘बार्षिक भाडा तिरेका छौं, बोर्ड बनाउँदा ७०/८० हजार खर्च भएको छ, त्यसको सुरक्षा गर्न नगरपालिकाले किन नदिएको हो ?’ व्यवसायीले बिना जानकारी बोर्ड हटाएर फाल्नु गलत भएको बताए । प्रबेशद्वार सुन्दर बनाउन लागेको नगरले बागलुङ बजारका घरहरुमा पनि प्लाष्टर गरेर रंगरोगन गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->