बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरका ज्ञानेन्द्र ढकाल बिहान उठेदेखि राती अबेरसम्म आकाश नियाल्छन् । छितिजमा देखिएको बालदको धब्बाले मात्रै पनि उनको आशा पलाउँछ । जब दिन छिपिँदै जान्छ बादल हराउन थाल्छ । आकाशमा हराएको बादलसँगै उनको बर्षा हुने आशा पनि हराएर जान्छ ।
ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो, रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै भएको छ ।
असारको अन्तिम साता यता भल चल्ने गरी बागलुङमा पानी परेको छैन् । असारको अन्तिम साताको एक दिनको बर्षाले एक दिन मात्रै रोपाई गरेका अमलाचौरकै खगेश्वर घिमिरेले पनि अझै पाँच÷सात दिन रोपाई गुर्नपर्ने छ । खेतको छेवैमा भएको खहरे खडेरीले सुक्न थालेपछि ढकाल र घिमिरे जस्ता किसान मर्कामा छन् ।
‘गज्जबले बर्षा भैदिएको भए खेतमै मुल फुट्थ्यो, भल छोपेर रोपाई गरेपनि धानलाई पानी पुग्थ्यो’ ढकाल भन्छन् ‘२५ रोपनी खेत अझै बाँझो गाभो हाल्नै पाईएन् ।’
पोहोर सालको तुलनामा यो वर्ष असारमा वर्षा नहुँदा रोपाईं गर्न नपाएको किसानहरुको गुनासो छ । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ व्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ ।
मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाईं गर्न नपाएको गुनासो गर्न थालेका छन् ।
जिल्लाभर कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भएपनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेतहरू पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् ।
‘यस्तै खडेरी रहने हो भने त यो बर्ष रोपाई गर्न पाईन्छ की पाईंदैन्’ घिमिरेले भने ‘जासोतसो रोपेपनि धाँजा फाटेर खेत हेरी नसक्नु हुन्छ, कमिलाको लाईन लागेको खेतमा के धान फल्ने आशा गर्नु ।’
कृषि ज्ञान केन्द्र कार्यालय बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार आइतबारसम्म जिल्लामा करिब ७० प्रतिशत रोपाइँ पूरा भएको छ । जिल्लाभर ४ हजार २ सय हेक्टर जमिनमा रोपाई भएको छभने एक हजार ८ सय हेक्टर खेतमा रोपाई हुन बाँकी छ । ‘मकै लगाएको खेत भएकाले ढिला भैसकेको त छैन्, तर अझै एक दुई दिन खडेरी परे रोपाई ढिला हुन्छ’ भट्टराईले भने ‘लामो समय पानी नपर्दा बिउँ जोगाउने चुनौती हुन्छ ।’ अझै पनि मूल फुट्ने गरी वर्षा हुन सकेमा रोपाइँ धमाधम गर्न सकिने किसानहरु बताउँछन् ।
डाँडाकाँडा र लेक रहेको क्षेत्रमा छिटो रोपाइँ गर्न सकेमा मात्रै पछि समयमै धान पाक्छ र अनुकूल मौसममा थन्क्याउन पाइन्छ । बेँसीमा तापक्रमका कारण छिटो धान पाक्ने भएपनि लेकमा ढिला गरी पाक्छ । तिनै लेकमा साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यसवर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा कृषकहरू छन् ।





