बागलुङ/ बागलुङ नगरपालिकाले अघिल्लो कार्यकालमा नियुक्त भएका ११ जना करारका कर्मचारीलाई फिर्ता पठाएको छ । प्रक्रिया नपुगी तोक आदेशको आधारमा कर्मचारी नियुक्त गरेको भन्दै नगरपालिकाले उनीहरुको करार अबधि थप नगर्ने निर्णय गरेको हो ।
असार ३२ गते बसेको कार्यपालिकाको बैठकले प्रक्रिया नपुगी सेवा करारमा नियुक्त भएका कर्मचारी र ज्यालादारी कर्मचारीको सेवा अबधि नथप्ने निर्णय गरेकाले उनीहरुलाई काममा नआउनका लागि जानकारी गराइएको प्रशासन शाखाका प्रमुख ससबहादुर पुनले बताए । कार्यपालिकाको निर्णयसँगै ११ जना करार सेवामा नियुक्त भएका कर्मचारी घर फर्किएका छन् । उनीहरुलाई यसअघि प्रक्रिया नै नपु¥याई सेवामा नियुक्त गरिएको नगरको आरोप छ ।
त्यस्तै, ज्यालादारीमा काम गरिरहेका १३ जना कर्मचारीको सेवा अबधि थप गर्ने वा नगर्ने भन्ने बिषयमा वडा अध्यक्षहरुसँग राय मागिएको पुनले जानकारी दिए । ‘ज्यालादारीमा काम गर्ने सबै कर्मचारी वडा तहमा हुनुहुन्छ, उहाँहरुलाई वडा अध्यक्षको सिफारिसका आधारमा सेवा अबधि थप्ने वा नथप्ने निर्णय हुन्छ’ पुनले भने ‘वडामा काम गरिरहेका १३ जना ज्यालादारी कार्यालय सहयोगी हुनुहुन्छ ।
नगरपालिकामा १ सय ३ जना बिभिन्न पदका कर्मचारी करार सेवामा कार्यरत थिए । २४ जना प्रक्रिया पुरा नभएका र ज्यालादारी कर्मचारीबाहेक सबैको सेवा अबधि तीन महिनाका लागि थप गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । ‘एमओयु गरेर तीन महिना काम हेर्ने र चित्त बुझे थप समय दिने नभए प्रक्रियामा जाने गरी कार्यपालिकाको निर्देशन छ’ सापकोटाले भने ‘सबै करारका कर्मचारीको सेवा अबधि थप नभएको भन्ने होइन् ।’
यसअघि लेखा शाखा, नगरप्रमुखको सचिवालय, प्राबिधिक शाखा लगायतका शाखामा काम गरेका कर्मचारीको म्याद थप नभएको हो । नगरपालिकाले सवारी चालक, कार्यालय सहयोगी, इञ्जिनियर, स्वास्थ्यकर्मी र कृषि तथा पशुशाखामा कर्मचारी करार सेवामा लिएको थियो ।





