बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

समयमा निर्णय नहुँदा आप्रबासी स्रोत केन्द्र बन्द

समयमा निर्णय नहुँदा आप्रबासी स्रोत केन्द्र बन्द


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७९, मंगलबार

बागलुङ/ वैदेशीक रोजगारीमा जाने युवाहरुका लागि सहयोग गर्न जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको आप्रबासी स्रोत केन्द्र बन्द भएको छ । बागलुङ नगरपालिकाले समयमा स्रोत केन्द्र सञ्चालनको बिषयमा निर्णय लिन नसक्दा स्रोत केन्द्र बन्द भएको हो ।

तीन बर्षपअघि स्थापना भएको स्रोत केन्द्रबाट दैनिक ४० देखि ५० जना युवाहरुले सेवा लिँदै आएका थिए । स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित सुरक्षित आप्रबासन परियोजना कसरी सञ्चालन गर्ने भन्ने बिषयमा नगरले समयमा निर्णय लिन नसकेको हो ।

यसअघि बागलुङमा परियोजना सञ्चालनमा रहेका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र जैमिनी नगरपालिकाले स्थानीय व्यवस्थापकको रुपमा बिवाईसी बागलुङलाई परियोजना सञ्चालनको जिम्मेबारी दिएका थिए । तीन बर्षका लागि बिवाईसीसँग भएको सम्झौता समाप्त भएसँगै स्रोत केन्द्र पनि बन्द भएको हो । म्याद सकिने बेलासम्म पनि परियोजना स्थानीय व्यवस्थापक वा नगर आफैले सञ्चालन गर्ने टुंगो लागेको थिएन् ।

चारवटै पालिकाका प्रतिनिधि रहेको परियोजना सञ्चालन तथा समन्वय समितिले असारको अन्तिम साता मात्रै स्थानीय तहहरु आफैले सञ्चालन गर्ने निर्णय गरेका थिए । निर्णय ढिला भएको र नयाँ प्रक्रियाद्वारा कर्मचारी नियुक्ती तथा व्यवस्थापनको काममा लाग्दा केन्द्र बन्द भएको हो ।

‘अहिलेलाई परियोजना र स्रोत केन्द्र सञ्चालनको बिषय प्रक्रियामा छ’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भने ‘एक दुई दिनमा नै हामीले बिज्ञापन गरेर परियोजना नगरले नै सञ्चालन गर्नेगरी अघि बढ्दै छौं ।’

स्रोत केन्द्रले बैदेशीक रोजगारीमा आउने समस्याहरुमा निशुल्क कानूनी परामर्श, बैदेशीक रोजगारीमा मृत्यु हुनेका परिवारका लागि राहत र क्षतिपूर्ती, बिदेशमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउने, निशुल्क शिपमुलक तालिम र त्यसका लागि परामर्श दिने र बैदेशीक रोजगारीलाई सुरक्षित बनाउने गरेको छ ।

बैदेशीक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको सदुपयोग, बिदेशबाट फर्केका युवाहरुको ज्ञान सिपको प्रयोगद्वारा स्वरोजगारी र समुदायमा मनोपरामर्श र बित्तिय साक्षरताका कामसमेत हुँदै आएको थियो । परियोजना सञ्चालनका बिषयमा भैरहेको अन्यौलसँगै बागलुङ नगरपालिकामा मात्रै काम गरिरहेका ९ जना कर्मचारी घर फर्किएका छन् । जैमिनीले परियोजनाको जनशक्ति र कार्यक्रम स्वामित्वमा लिएर काम गर्ने निर्णय गरेको छभने गलकोट र काठेखोला गाउँपालिका प्रक्रियामा छन् ।

राहदानी बनाउने बेला नै परामर्श दिनका लागि स्थापना भएको स्रोत केन्द्र सञ्चालनको जिम्मेबारी बागलुङ नगरपालिकाले पाएको छ । गत आर्थिक बर्षमा मात्रै स्रोत केन्द्रले झण्डै ६ करोड क्षतिपूर्ती तथा राहत बितरण गरेको थियो भने १६ जना बिदेशमा मृत्यु भएका युवाहरुको शव नेपाल ल्याउन सहयोग गरेको थियो । १ सय २१ जनालाई निशुल्क सिपमुलक तालिम दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->