पोखरा भनाइमा अन्तर्राष्ट्रिय सहर हो । पोखरालाई पर्यटकको राजधानी घोषणा गरिनुपर्ने माग एकातिर छ तर अन्तर्राष्ट्रिय सहरको दर्जा पाएको पोखराका भौतिक संरचनाहरु अन्तर्राष्ट्रिय स्तरका छैनन् । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सुरक्षित सहर पनि हैन । बढी आपराधिक घटनाहरु हुने सहरको रुपमा पनि यसको कुख्याति छ । यो कुख्यातिमा पछिल्लो समय यहाँको ट्राफिक व्यवस्थापन पनि जोडिन पुगेको छ । पोखरामा पछिल्लो समय सवारी साधनको चाप अत्यधिक बढेको छ । पोखराका बाटाहरु साँघुरा भएका छन् । पैदलयात्रीहरु असुरक्षित बनेका छन् । कतिसम्म भने, फराकिला केही बाटाहरुमा पनि दुर्घटनाको मात्रा बढ्दै गएको छ । दुर्घटनाका पीडकहरु पक्राउ पर्न छाडेका छन् ।
यसको पछिल्लो उदाहरण हो, गएको कात्तिकमा पस्र्याङमा भएको एक घटना । सो घटनामा हालसम्म अज्ञात रहेका एक सवारी चालकले १४ वर्षीय शुभम खनालको ज्यान लियो । तर, ठक्कर दिनेको पत्तो लागेको छैन । सो घटना देख्ने मान्छे छैनन् । सडकमा सुरक्षाको लागि सिसीटिभी क्यामेरा राखिएको थिएन । वरपर व्यक्तिगत प्रयोजनको लागि राखिएका क्यामेराहरुमा समेत सो घटना रेकर्ड भएन । प्रहरीको भाषामा हिट एण्ड रन अर्थात् हिर्काएर भाग्ने अपराधीको को हो भन्ने थाहा नपाउँदा पीडितहरु झन मर्कामा परेका छन् । अर्कोतिर कानूनी राज्यको प्रत्याभूति गराउनबाट प्रहरी प्रशासन चुक्न पुगेको छ ।
पछिल्लो समय पोखरामा ३३ वटा हिट एण्ड रनका घटनामा प्रहरीले कारवाही गरेको छ । वैशाखमा मात्रै ९ वटा सवारी नियन्त्रण लिइएको छ । जेठमा १३ वटा र असारमा ११ वटा फरार सवारी नियन्त्रणमा लिएको जनाएको छ । बढ्दो अपराध नियन्त्रणको दायित्व प्रहरी प्रशासनको हो । तर, प्रविधि बिनाको प्रहरी अपराध नियन्त्रणमा कमजोर देखिएको छ । हिट एण्ड रनकै घटनामा पनि सडकमा सिसीक्यामेरा हुन्थ्यो भने अपराधी नियन्त्रणमा आउँथे । पोखराका सडकमा केही सिसीक्यामेरा राखिए पनि ती गुणस्तरीय छैनन् ।
राखिएकामध्ये ५९ चालु अवस्थामा रहेका छन् भने ३९ वटा बिग्रिएका छन् । यो अवस्था भनेको सुरक्षा व्यवस्था कमजोर हुनु नै हो । विकशित देशहरुमा यातायात व्यवस्था चुस्त राख्न र अपराध नियन्त्रण गर्न प्रविधिको व्यापक प्रयोग गरिएको छ । सवारी चालकले लेन मिच्दा, दुर्घटना वा ट्राफिक नियम मिच्नासाथ सिसी क्यामेरा हेरेर कारवाही अगाडि बढाइन्छ । सडकसहित समाजको सुरक्षामा प्रविधिको प्रयोग हुँदा अपराध बढ्छ । नेपालमा भने ठीक उल्टो छ । एकातिर जनशक्तिको अभाव र अर्कोतिर प्रविधिको प्रयोग नै नहुँदा पोखरालगायतका सहरहरु असुरक्षित बनेका छन् । सरोकारवाला निकायहरु यो विषयमा गम्भीर बन्नुपर्छ । अपराध नियन्त्रणको लागि सडकमा सिसी टिभी क्यामेरा राख्ने तथा प्रहरीलाई प्रविधिले सुसज्जित बनाउने कामको थालनी हुनुपर्छ ।
