बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

असारमा मात्रै बागलुङमा सवा दुई अर्ब खर्च !

असारमा मात्रै बागलुङमा सवा दुई अर्ब खर्च !

बढेन पुजीगत खर्च, चालु खर्च भने बढ्दो ।


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

बागलुङ/ जिल्लामा गत असार महिनामा सवा दुई अर्व रुपैयाँ खर्च भएको छ । जिल्लामा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालयले उक्त खर्च गरेका हुन् ।

असार महिनामा मात्रै चालुतर्फ एक अर्ब १ करोड ९५ लाख ५५ हजार ३ सय ७८ रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजनको भएको बजेट ८ अर्ब १८ करोड ५६ लाख १४ हजार ३ सय ८८ रुपैयाँको १२.४६ प्रतिशत हो । असार महिनामा मात्रै यहाँका सरकारी कार्यायलहरुले १ अर्ब २४ करोड ८४ लाख २७ हजार ४ सय ३१ रुपैयाँ खर्च गरेका छन् । कुल विनियोजित २ अर्ब ७४ करोड, १ लाख ६४ हजार ७ सय ८३ मध्ये ३४.२८ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च भएको छ ।

पछिल्लो ११ महिनामा ४१.७२ प्रतिशत मात्रै पुँजीगत खर्च गरेका कार्यालयहरुले असारमा मात्रै उक्त खर्च गरेका हुन् । पूँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन् । कार्यालहरुबाट खर्च भएको तथ्यांकलाई हेर्दा चालु आर्थिक वर्षमा ८८.७५ प्रतिशत खर्च भएको छ । चालुतर्फ ९४.४५ प्रतिशत र पुजीगत तर्फ ७५.२८ प्रतिशत बजेट खर्च भएको हो । गत आवमा जिल्लामा कूल ८७.८५ प्रतिशत खर्च भएको थियो । गत बर्ष ८३.०७ प्रतिशत पुँजीगत खर्च गरेका कार्यालयहरुले ९०.३१ प्रतिशत चालु खर्च गरेका थिए । अघिल्लो वर्षको तुलनामा चालु खर्च बढेको भएपनि पुँजीगत खर्चमा भने कमी आएको छ ।

जिल्लामा रहेका संघीय सरकारअन्र्तगतका कार्यालयहरुले भन्दा प्रदेश सरकारअन्र्तगतका कार्यालयहरुको पुँजीगत खर्च अनुपात उल्लेख्य रहेको छ । असार मसान्तसम्म संघीय सरकारको ५८.२५ प्रतिशत पुँजीगत खर्च हुँदा प्रदेश सरकारको ८७.७४ प्रतिशत पुँजीगत खर्च भएको छ ।

संघीयतातर्फ पूँजीगत शीर्षकमा एक अर्ब, ५४ करोड २६ लाख ९२ हजार विनियोजन भएकोमा ८९ करोड ८५ लाख ७४ हजार खर्च भएको छ । असार महिनामा मात्रै ३३ करोड ७३ लाख ७५ हजार भन्दा धेरै खर्च भएको छ भने प्रदेशका कार्यालयमा २ अर्ब ९ करोड ८८ लाख २७ हजार विनियोजन भएकोमा १ अर्ब ८४ करोड १५ लाख ९० हजार ६१९ खर्च भएको छ । खर्च भएकोमध्ये ९१ करोड १० लाख ५२ हजार ४११ असार महिनामा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ ।

जिल्लामा प्रदेशका २० र संघीय सरकारका ६० कार्यालय छन् । यहाँका स्थानीय तहमा संघीय तथा प्रदेश सरकारले सिधै सञ्चालन गर्ने कार्यक्रम पनि २० र ६० भित्रै पर्ने प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले बताए ।

कोष नियन्त्रक जब्बर बहादुर भण्डारीका अनुसार बागलुङमा उच्च अदालत बागलुङ इजलाशको सबैभन्दा काम खर्च देखिएको छ । इजलाशले जम्मा ४८.१६ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ १४.६७ प्रतिशत र चालुतर्फ ८५.७१ प्रतिशत खर्च भएको भण्डारीले बताए । इजलाशको सुविधासम्पन्न भवनका लागि बिनियोजन भएको बजेट कार्यान्वयनको चरणमा रहेकाले पुँजीगत खर्च कम देखिएको हो ।

सबैभन्दा धेरै खर्च जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)को रहेको छ । उक्त कार्यालयले १०१.३३ प्रतिशत खर्च गरेको छ । २ लाख ४५ हजार ७१९ रुपैयाँ बजेट रहेको कार्यालयले चालुतर्फ २ लाख ४८ हजार ९९४ रुपैयाँ खर्च गरेको छ । जिल्लामा अर्को सतप्रतिशत रकम खर्च हुने कार्यालय जिल्ला जनगणना कार्यालय बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->