यो वर्षको वर्षा याम मध्य भागमा प्रबेश गरेको छ । असारको दोस्रो साता तर्साउने गरी देशभर भएको वर्षाबाहेक औषत वर्षा समेत भएको छैन् । समयमा वर्षा नहुने, वर्षा कम हुने मनसुन सक्रिय नभएका कारण कृषि उत्पादनमा हुने क्षति बढ्ने पक्का छ । तर, असारको दोस्रो साता परेको पानीले केही गाउँ बस्तीलाई जोखिममा पारेको भएपनि अहिलेसम्म बाढी र पहिरोका कारण अप्रिय घटना भने सुन्नुपरेको छैन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनको समयमा दश वर्ष यताकै अधिक वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको समय अझै आधा बाँकी रहेको र विभागले प्रस्तुत गरेका केही तथ्यांकहरु केलाउँदा हामी मनसुनजन्य जोखिममा छौं । मनसुनको समयमा हुने वर्षा, त्यो सँगै मानव सिर्जित कारणहरुबाट आउने बाढीपहिरो र त्यसको क्षतिको विषयमा हामी सतर्क हुनै पर्छ ।
दुई वर्षअघि देशभरमा गण्डकी प्रदेशको बागलुङ जिल्ला र म्याग्दी जिल्ला तथा बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोले नरसंहार मच्याएको हाम्रो सामु जगजाहेर छ । बागलुङमा २०७७ सालको साउनमा आएको पहिरोमा परेर बेपत्ता भएका १५ जनाको अझै पत्तो लागेको छैन् । क्षति भएका ६ सय बढी घर बनेका छैनन् । भुकम्पको समयमा भत्केका घर बनाउन झण्डै ६ बर्ष लगाएको हाम्रो सरकार अहिले बाढी पहिरोका कारण बिस्थापित भएका परिवारको पुनस्थापना र भत्केका बासको पुननिर्माणमा पनि सुस्त छ । भुकम्पको बेला देश संक्रमण कालमा थियो । स्थानीय सरकार गठन भैसकेका थिएनन् । प्रदेश सरकारको संरचना बन्दै थियो । पुरानै स्थानीय निकायको संरचनाले नै तयार गरेका तथ्यांकको आधारमा काम गर्नुपर्ने बाध्यता नयाँ संरचनालाई थियो । तर पछिल्लो समयमा बाढीपहिरो र अन्य प्राकृतिक बिपत्का कारण भएका क्षतिमा राहत, पुननिर्माण र पुनस्थापनामा संयन्त्रको समस्या छैन् । नजिकमा सरकार, प्रदेश सरकार र संघीय सरकार सबै क्रियाशिल रहँदा समेत पीडितले समयमा पुननिर्माण र पुनस्थापित हुन नपाउने दुर्भाग्य हो । अहिले पनि हामी जोखिममा छौं । हरेक जिल्लामा दर्जन बढी वडाहरु बाढी पहिरोको उच्च जोखिममा छन् । समयमा जोखिम क्षेत्रको पहिचान, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र सम्भावित जोखिम कम गर्न मानव निर्मित संरचनामा सतर्कता नअपनाएकै कारण धनजनको ठुलो क्षतीको जोखिम कायम छ ।
मनसुनजन्य बिपत्का कारण भएको क्षतिको तत्काल पुनस्थापना र पुननिर्माणको काम समयमा सक्नु आवश्यक छ । जनताले समयमा राहत नपाउनु, समयमा राज्यका संयन्त्रको साथ नपाउनु भनेको साथ नपाए जस्तै हो । ढिलागरी जनताले पाउने राज्यको साथले धेरै क्षेत्रमा क्षति पु¥याएको हुन्छ । मनसुनजन्य बिपत्बाट हुने क्षतिलाई कम गर्न संरचना तयार गर्ने र क्षति भैहालेमा त्यसका प्रभावितलाई राज्य रहेको अनुभुती गराउन राज्यका संयन्त्रहरुले छरितो र दिर्घकालिन योजना बनाउन आवश्यक छ ।
