नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को लागि सार्वजनिक गरेको मौद्रिक नीतिले संकाटपन्न अर्थतन्त्रलाई सही दिशा दिने जमर्को गरेको छ । विदेशी मुद्रा संचिति घटन् नदिने र त्यसको लागि ब्याजदर वृद्धि गर्ने राष्ट्र बैंकको घोषणा छ । नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाले आगामी भदौ १ देखि अनिवार्य नगद मौज्दात अनुपात ४ प्रतिशत कायम गर्नुपर्नेछ । हाल यो मात्रा ३ प्रतिशत थियो । वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पु¥याउनु पर्ने भनिएको छ । आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुका लागि १०, विकास बैंकका लागि ८ र फाइनान्सका लागि ७ प्रतिशतको सीमा तोकिएको थियो । यद्यपि, राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति पछि पनि बैंकहरुलाई ब्याजदर बढाउन रकमको अभाव देखिएको छ । बजारमा तरलता अभाव भएको धेरै भएको छ र त्यसमा सुधारका संकेतहरु देखिएका छैनन् ।
यो वर्ष लगानी कम हुने राष्ट्र बैंक स्वयंको प्रक्षेपण छ । उत्पादनशील क्षेत्रको कर्जालाई प्रोत्साहनको नीति अंगिकार गरिए पनि तरलता अभावको कारण देखाउँदै सो क्षेत्रमा कम कर्जा लगानी हुने सम्भावना ज्यूँकात्यूँ छ । यो तथ्यलाई केलाउँदा मौद्रिक नीतिले भने अनुसार बैंक तथा वित्तीय क्षेत्रलाई विश्वासमा लिन र उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहको लागि दवाव दिन नेपाल राष्ट्र बैंकले बढी मिहिनेत गर्नुपर्ने प्रष्ट देखिएको छ । कर्जा प्रवाहलाई सिडी अनुपातमा गणना गर्न पाउने व्यवस्था अनुरुप बैंक तथा वित्तीय संस्थाहरु परिचालित भए भने दीर्घकालनमा भने कर्जा प्रवाहले गति लिने अवस्था पनि रहेकै छ । पुनर्कर्जाको जुन व्यवस्था गरिएको छ, त्यसले कोभिडको कारण मर्कामा परेकाहरुले लाभ लिने अवस्थालाई मौद्रिक नीतिको राम्रो पक्ष मान्न सकिन्छ । समग्रमा मौद्रिक नीति कसिलो छ तर कार्यान्वयन कस्तो हुन्छ भन्नेले यसको सफलता मापन गर्छ ।
नेपालको अर्थ प्रणालीमा अनौपचारिक क्षेत्रको हिस्सा बढ्दै गएको छ । वैधानिक च्यानलबाट आउने रेमिट्यान्स बढेको त छ तर आयात र निर्यातबीचको असन्तुलनले अर्थतन्त्र संकटतर्फ घचेटिएको छ । डिजिटाइजेसनसहितको अर्थ व्यवस्था,उत्पादनशील क्षेत्रमा लगानी प्रोत्साहन,आयात प्रतिस्थापनको नीति लिँदा अनौपचारिक अर्थतन्त्र नियन्त्रणतर्फ राष्ट्र बैंकको ध्यान जानैपर्ने देखिएको छ । आन्तरिक उत्पादन बिनाको अर्थतन्त्र दीगो हुनैसक्दैन भन्ने सोच मौद्रिक नीतिले प्रष्ट पारेको छ । समग्रमा यही नै यो मौद्रिक नीतिको विशेषता बनेको छ । तर, तरलताको चाप उस्तै भएको बेला ढुक्क मौद्रिक नीति कर्मकाण्डी नहोस् भन्नेमा नै विशेष कदम चाल्नु अपरिहार्य देखिएको छ ।
