बागलुङ/जिल्लाका ९२ प्रतिशत जनतामा खानेपानीको सुबिधा पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाले गरेको अध्ययनमा उक्त तथ्यांक देखिएको हो । नेपाल सरकारको खानेपानीको प्रतिवेदनमा पनि सोही तथ्यांक छ ।
नेवाले खानेपानीमा काम थालेको ३० बर्ष पुगेको अवसरमा आयोजित एक अन्तरक्रियामा संस्थाका क्षेत्रीय प्रवन्धक कुमार सिलवालले नेपालभरि ९४ प्रतिशत, गण्डकी प्रदेशमा ९० प्रतिशत र बागलुङमा ९२ प्रतिशत खानेपानी पुगेको तथ्यांक प्रस्तुत गरेका थिए ।
नेपालभर सम्पन्न भएका ४२ हजार ३९ आयोजनाबाट उक्त सफलता मिलेको बताइएको हो । नेवाले पनि ३० वर्षमा ४० हजार धारा बनाएको बताइएको छ । २ हजार ५ सय ३८ योजना सम्पन्न गरेर २२ लाख जनतालाई खानेपानीको व्यवस्था गरेको नेवाका केन्द्रीय कार्यालयका प्रतिनिधि महेश्वर प्रसाद यादवले बताए ।
नेवाले नेपालका ६ सय ८५ बिद्यालयमा पनि खानेपानीका योजना बनाएको हो । ६ सय २१ विद्यालयमा शौचालय बनाएको र आम जनताको घरघरमा गरी १ लाख ४५ हजार ९ सय ६२ शौचालय बनेको यादवले बताए । कतिपय जिल्लाका तत्कालिन गाविसहरु खुला दिशामुक्त घोषणामा पनि संस्थाले काम गरेको थियो । हाल खानेपानीको सुविधा पुगेपनि शुद्ध पानी अभाव भएकोले संस्थाले अबका दिनमा शुद्धता र गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाले आग्रह गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले शुद्ध खानेपानी जनताको मौलिक हक भएको भन्दै हिजोका दिनमा पानी लैजानु मात्रै ठूलो कुरा हुन सक्ने भएपनि अब भने शुद्ध पानी वितरणमा ध्यान दिनुपर्ने बताए । उनले जनतालाई कम भार पर्ने गरी पानीका योजना निर्माण गर्न स्थानीय पालिकासँग समन्वय सहकार्य बढाउनु पर्ने सुझाव पनि दिए ।
कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बित्तिय समानिकरण लगायतका बजेट परिचालन गर्न नदान्दा खानेपानी निर्माणमा जनताले धेरै लगानी गर्नु परेको बताए । नेवाको सहकार्यमा तमानखोलामा सयौं धारा निर्माण भएको भन्दै अझैपनि धेरै योजना बनाउने काममा अन्य पालिकापनि लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेवाको तर्फबाट कुमार सिलवाल र महेश्वरप्रसाद यादवले नेपाल र बागलुङको खानेपानीको अबस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।





