बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वैदेशिक मुद्रा आर्जन गर्न गाँजा

वैदेशिक मुद्रा आर्जन गर्न गाँजा


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

स्याङ्जा प्रहरीले गाँजा फडानीलाई उपलब्धीको रुपमा व्याख्या गरेको छ । त्यसो त देशैभरका प्रहरीहरुले बेलाबखत गाँजा फडानी एवं जफत गर्नुलाई उपलब्धीको रुपमा व्याख्या गर्दै आएका छन् । नेपालको कानून अनुसार गाँजा लागुपदार्थ नै हो ।
लागुऔषध (नियन्त्रण) ऐन २०३३ को दफा ३ मा गाँजालाई लागूऔषधका रूपमा परिभाषित गर्दै भनिएको छ,‘गाँजा भन्नाले भाङ्ग (भाङ्गो) र सिद्ध समेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल; चरेस तथा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा र चोब; माथि उल्लेख गरिएकामध्ये कुनै पदार्थ भएको सार, निस्सार, निष्कर्ष, मिश्रण तथा पेय पदार्थहरू सम्झनुपर्छ ।’ गाँजामा लठ्याउने तागत पनि छ तर आयुर्वेदले गाँजालाई औषधि मान्छ । हाम्रो गाउँघरमा पनि गाँजा औषधिको रुपमा प्रयोग हुँदै आएको छ । पेट फुल्दा,गाईभैंसीले छेर्दा गाँजा खुवाइन्छ । गाँजामा औषधीय गुण भएकोमा कुनै द्धिविधा छैन । युरोप र अमेरिकालगायतका देशहरुले गाँजा फुकुवा गरिएको छ । एसियाली मुलुक थाइल्याण्डले पनि गाँजा खेतीलाई वैधानिकता दिएको छ । नेपालमा पनि गाँजा फुकुवा गर्नुपर्ने माग उठेको छ । सांसद विरोध खतिवडाले पहिलो पटक गाँजा फुकुवा गर्नुपर्ने र यसलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्ने आवाज उठाए । शेरबहादुर तामाङ गाँजा खुला गराउनुपर्ने माग गर्ने अर्का सांसद हुन् । गाँजालाई औषधिमा प्रयोग गर्नेबारे नेपाल सरकार पनि सकारात्मक हुँदै गएको छ । गाँजा खुला गर्नेबारे चलेको पछिल्लो बहसले सार्थकता पाउन समय लाग्ला तर गाँजाबाट आर्थिक उपार्जन गर्न सकिने सम्भावना भने प्रचुर रहेको छ ।
विश्वका विभिन्न देशहरुले गाँजा खेतीलाई वैधानिकतचा दिँदा नेपाल भने धेरै पछि देखिएको छ । गाँजाको औषधीय गुणलाई नेपालले बिर्सेको छ । पुर्खाले दिएको अमूल्य निधिलाई परख गर्न नसक्दा स्वयं गरीब बनेको छ । पछिल्लो समय नेपालमा विदेशी मुद्राको संचिति घटेको छ । गाँजा खेतीलाई वैधानिकता दिने र यसबाट औषधिलगायतका सामग्री बनाउने हो भने नेपालले यसैबाट वैदेशिक मुद्रा आर्जन गर्नसक्छ ।
सन् १९६० को दशकसम्म नेपालमा गाँजा खुला थियो । हिप्पीहरु गाँजाकै लागि नेपाल आउँथे । उच्च पहाडी भेगको गाँजाको गुणस्तर विश्व बजारभर प्रख्यात थियो । तर, सन् १९६१ मार्चमा भएको संयुक्त राष्ट्रसंघीय बैठकले गाँजालाई लागुपदार्थमा दर्ज ग¥यो । नेपाल अहिले पनि त्यही कानूनले बाँधिएको छ । त्यो कानून बनाउने देशहरुले भने गाँजाको महत्व बुझेर उत्पादन थालिसकेका छन् । हो, गाँजा सेवनलाई बढावा दिनु हुँदैन । तर, गाँजाको औषधीय गुणलाई बिर्सनु हुँदैन । अर्कोतर्फ, अचारको रुपमा प्रयोग हुने भाँगोलाई पनि लागुऔषध मान्नुलाई विडम्बना नै मान्नुपर्छ ।
बागलुङलगायतका पहाडी जिल्लाको प्रसिद्ध उत्पादन मानिने भाँगोको फल अचार बन्छ भने यसको बोक्रा(लोक्ता) डोरी बनाउन प्रयोग गरिन्छ । भाँगोको अचार प्रहरी र प्रशासकले पनि रुचाउँछन् तर खेतीलाई अवैध मान्छन् । भाँगोलाई अचारको रुपमा विश्व बजारमा प्रवद्र्धन गर्नसक्ने सम्भावनाको कुरै छाडौँ, स्थानीयको आम्दानीको स्रोत पनि बन्न दिइएको छैन । आयुर्वेद वा औषधि विज्ञान अनौठो छ । यसले काूननले वर्जित गरिएका बस्तुमा पनि औषधीय गुण देख्छ । त्यसको प्रवद्र्धन र उत्पादन गर्नुपर्ने मत जाहेर गर्छ । साँच्चिकै औषधीय गुण भएको गाँजालाई नियमनसँगै बेच्न सकिन्छ र असल काममा प्रयोग हुन्छ भने गाँजा खेतीप्रति सरकार नरम बन्दा केही बिग्रँदैन । यसबाट आर्थिक उपार्जनको माध्यम बनाउनेतर्फ अब पहल गर्नैपर्छ । तर, गाँजा र चरेसको खुलेआम सेवनले समाज नै बिग्रने सम्भावनालाई नजरअन्दाज भने गरिनु हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->