एसईईको नतिजा सार्वजनिक गरेसँगै विद्यार्थीहरुको लागि अब नियमित र अनिवार्य कोर्सको सट्टा आफूले चाहेको विषय रोज्ने बाटो खुलेको छ । प्लस टुलाई अहिले विद्यालय शिक्षाकै रुपमा अथ्र्याउने गरिए पनि १० सम्मको शिक्षाभन्दा प्लस टु पक्कै फरक छ । प्लस टुमा चयन गर्ने विषयले विद्यार्थीको भविष्य निर्धारण गर्दछ । प्लस टुमा विद्यार्थी विज्ञान रोज्यो भने उसको डाक्टर वा इञ्जिनियर बन्ने ढोका खुलाउँछ । व्यवस्थापन रोजे अर्कै बाटो लागिन्छ भने मानविकी र शिक्षाजस्ता विषयले उनीहरुलाई फरक गन्तव्यमा पु¥याउँछ ।
हिजो एसएलसीको जमाना थियो । एसएलसीलाई फलामे ढोका मानिन्थ्यो । तर, पछिल्लो समय राष्ट्रिय परीक्षा बोर्डले त्यो प्रावधान हटाएको छ । विद्यार्थीको क्षमतालाई जिपिए( ग्रेड प्वाइन्ट एभरेज) बाट मापन गरिएको छ । प्रतिशत र डिभिजनमा निकालिने परीक्षाफल ग्रेडिङ प्रणालीमा रूपान्तरित गरिएको छ । एसईई परीक्षाको नतिजा ए, ए–प्लस, बी, बी–प्लस, सी, सी–प्लस, डी, डी–प्लस र ई गरी ९ ग्रेडमा विभाजित छ । कक्षा ११ र १२ को समन्वय गर्ने निकाय उच्च माध्यमिक शिक्षा परिषद् पनि राष्ट्रिय परीक्षा बोर्डमा रूपान्तरण भएको छ । बोर्डले निश्चित विषयमा निश्चित ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना लिने मापदण्ड बनाएको छ । कक्षा ११ मा विज्ञान पढ्न चाहने विद्यार्थीले एसईईको नतिजामा न्यूनतम जीपीए २ सहित गणित र विज्ञानमा सी–प्लस र अंग्रेजीमा सी ल्याउनुपर्ने हुन्छ। तर, अन्य विषयका हकमा भने न्यूनतम जीपीए १.६ ल्याए पुग्छ । तर, विषय छनोट अनुसार डी–प्लस ल्याउनुपर्ने विषयहरू फरक पर्न सक्छ भने न्यूनतम १.६० सहित डि प्लस ग्रेड ल्याउनेले मात्रै प्लस टु पढ्न पाउने व्यवस्था गरेको छ । उच्च माध्यमिक शिक्षा परीषदले गरेको यो निर्णय अनुसार पनि सबै विद्यार्थीले प्लस टु भर्ना नपाउन सक्छन् । हरेक विषयको ग्रेडिङले पनि उनीहरुलाई रोक्न वा अगाडि बढाउन सक्छ । यो प्रणालीबारे प्रश्न गर्न सकिएला तर कलेज भर्ना नपाउने विद्यार्थीहरुले अन्य सीपमूलक तालीम लिनसक्ने व्यवस्था गरिएको छ ।
मुख्य कुरा, एसईईको नतिजापछि विद्यार्थीमा दवाव थपिएको छ । कुन विषय रोज्ने भन्ने अन्यौल पनि देखिएकै छ । अभिभावको दवाव पनि उत्तिकै छ । यस्तो बेला अभिभावकहरुले विद्यार्थीहरुलाई अन्यावश्यक दवाव दिनु हुँदैन । उसको रुचिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भने क्षमतामा पनि ध्यान दिनुपर्छ । यसका अलावा बजारको आवश्यकता हेरेर पनि विषय रोज्न सकिन्छ । विज्ञानै पढ्नुपर्छ, डाक्टर वा इञ्जिनियर नै बन्नुपर्छ भन्ने दवाव दिइयो भने किशोर किशोरीमा नकारात्मक प्रभाव पर्नसक्छ । जुन विषय रोजे पनि, राम्रो गर्न सके भविष्य उज्ज्वल हुन्छ । अतः एसईईपछि आफ्ना नानीबाबुलाई यो वा त्यो विषयको भारी नबोकाऔँ, अनावश्यक दवाव नदिऔँ र रुचिलाई प्राथमिकतामा राखौँ ।
