कालीगण्डकी नदीमात्रै हैनन्, सम्यता, आस्था र सम्भावनाको त्रिवेणी पनि हुन् । मुस्ताङको दामोदरकुण्डमा उत्पत्ति भइ बग्ने कालीगण्डकीमा दुर्लभ र भगवान विष्णुको स्वरुप मानिने शालिग्राम पाइन्छ । मुक्तिनाथका १०८ धाराको पानी पनि मिसिँदा यो नदी झन पवित्र भएको सनातनीहरुको विश्वास रहेको छ । नेपालका धेरै नदीहरुको उद्गमस्थल तिब्बत भए पनि कालीगण्डकी भने दामोदर कुण्डबाट निस्केर मुस्ताङ,म्याग्दी, बागलुङ,पर्वतलगायतका जिल्ला हुँदै बग्छिन् । कालीगण्डकी यो क्षेत्रको सामाजिक,सांस्कृतिक र आर्थिक सभ्यताको मेरुदण्ड पनि हुन् । शालिग्राम र सुन पाइने कालीगण्डकीको हिन्दु धर्मग्रन्थहरुमा धेरै वर्णन गरिएको छ । भारतमा प्रचलित हिन्दु सम्प्रदायमध्ये बलियो मानिने स्वामी नारायण सम्प्रदायका गुरु स्वामी नारायणले राजा रणबहादुर शाहको पालातिर नेपाल भ्रमण गरेका थिए ।
ज्ञानको खोजीमा आएका उनी तराइको घना जंगल छिचोल्दै कालीगण्डकीको तिरैतिरको बाटोबाट मुक्तिनाथ पुगेका थिए । आफ्ना गुरु स्वामी नारायणले भगवान शिवसँग साक्षात्कार गरेको ठाउँ भएकैले भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ आएका थिए । कालीमा नुहाउँदा मोक्ष पाइन्छ भन्ने सबै हिन्दुहरुको विश्वास हो । कालीगण्डकीको उद्गम हिमालय हो । मुक्तिक्षेत्र हुँदै बग्ने यी पवित्र मात्र हैनन्, सभ्यताकी जननी पनि हुन् । कालीगण्डकीलाई नेपालले जति चिन्नुपर्ने हो, सकेको छैन । बरु, नदी दोहन बढेर गएको छ । पवित्र शालिग्राम पाइने कालीलाई कुरुप बनाइएको छ । शालिग्रामको पर्वाह नै नगरि त्यहाँबाट त्यहाँको बालुवा, ढुंगा र गिट्टी दोह गरिँदा यो सभ्यता नै सखाप हुने हो कि भन्ने चिन्ता बढेर गएको छ ।
ढुंगा र गिट्टी दिने नेपालमा थुप्रै नदीहरु छन् । जल र नदीहरुबाट निस्कने त्यस्ता बस्तु मान्छेकै लागि हुन् । त्यसको उपयोग गरिनुपर्छ । जललाई जमिनसम्म ल्याइनैपर्छ । बिजुली निकाल्नैपर्छ । यसका कुनै द्धिविधा छैन । तर, कालीगण्डकीको हकमा भने केही फरक छ । किनकि, त्यहाँ संसारमै अन्यत्र कहीँ नपाइने र आस्था जोडिएको शालिग्राम पाइन्छ । नदी दोहनले शालिग्राम नपाइने र नदीसँग जोडिएका सभ्यता नासिने निश्चित छ । यसर्थ, कालीगण्डकीमाथि अहिले भइरहेको दोहन र अतिक्रमण रोकिनुपर्छ । काली बचाउँदा सभ्यता बच्छ, पर्यटकीय सम्भावना जिवित रहन्छ भन्ने सरोकारवालाले बेलैमा मनन गर्नुपर्छ । दोहनकारीलाई कडा कारवाही गर्दै त्रिवेणीदेखि कालीगण्डकी मुहानसम्मको समग्र क्षेत्रलाई धार्मिक पर्यटकीय पदयात्रा मार्ग बनाइनुपर्छ ।
