बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडा तहमै पुगेर योजना सम्झौता गरिने

वडा तहमै पुगेर योजना सम्झौता गरिने


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७९, बिहिबार

बागलुङ/असार मसान्तमै रातो किताब सार्वजनिक गरेको बागलुङ नगरपालिकाले साउनको अन्तिम साताबाटै वडा तहमा योजना सम्झौता गर्ने भएको छ ।

चालु आर्थिक वर्षमा संचालन हुने सवै योजनाको वडा तहमै पुगेर सम्झौता गर्ने तयारी भएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘वडा तहमै योजना सम्झौता गर्दा उपभोक्ताको खर्च बचत हुने र दुःख पनि नपर्ने गरी व्यवस्था गरेका छौं’, श्रेष्ठले भने, ‘आवश्यक कागजात बारे पनि समयमा जानकारी गराइनेछ ।’ समयमा योजना सम्झौता भएपछि छिटै काम सक्ने र समयमा भुक्तानी गर्ने पद्धती बसाल्ने उनले बताए । नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको हो ।

समयमा योजना सम्झौता नहुने, समयमा काम पनि नहुने र असार मसान्तमा भुक्तानीका लागि भीड हुने, सयौं फाइल अलपत्र पर्ने बाध्यता हटाउन यो अभियान लिएर वडामै पुग्ने लक्ष्य बनाएको उनको भनाइ छ । ग्रामीण क्षेत्रमा रहेका वडा नं. ५, देखि १४ सम्मका उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर जस्तै गरी योजना सम्झौता गर्न लागेको हो । वडा नं. १ देखि ४ बजार क्षेत्रमा पर्छ । बजार क्षेत्रको योजना सम्झौता भने नगरपालिकामै हुने व्यवस्था छ । वडा तहमा जाँदा सम्झौतासँगै उपभोक्तालाई अभिमुखीकरण, अपांग परिचय पत्र वितरण, माटो परीक्षण, स्वास्थ्य शिविर, बालमैत्री नगर घोषाण अनुशिक्षण तथा वित्तीय साक्षरताजस्ता सेवा प्रवाह गर्ने योजना एकीकृत रुपमा संचालन गरिने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । साउन २९ गतेबाट सुरु हुने अभियान सबैभन्दा दुर्गम वडा नं. ११ रायडाँडाबाट थालिने छ ।

यो अभियानमा प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीका बीच कार्य सम्झौता गरिने भएको हो । एकैदिन सम्झौता गर्दा काम समयमै र छिटो छरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्नेछ । उपभोक्ता समितिले योजना सम्झौता गरेपछि भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्ने व्यवस्था भएको हो ।

नगर कार्यपालिकाले बागलुङ बसपार्कको संचालनको तयारी समेत गरेको छ । बसपार्कको फरफारक गरी वैकल्पिक सडकमार्फत् भएपनि संचालन गर्ने योजन ाबनेको सापकोटाले बताए । स्विकृत ठेक्का विल, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन भेरियसन आदेश र फिल्ड भेरिफिकेशन गरे पछिसम्म कुनै फरक नपर्ने गरी यथार्थ विवरण सहितको प्राविधिक प्रतिवेदन पेश गर्न नगरपालिकामा कार्यरत इञ्जिनियर त्रिलोचन गिरीको संयोजकत्वमा कार्यदल पनि गठन भएको बताइएको छ । कार्यदलको बसपार्कको सवै बस्तुस्थिति अध्ययन गरी कार्यपालिकामा बुझाउने र थप काम अगाडी बढाइने नगरपालिकाका सामाजिक विकास संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए । पहुँच मार्ग बनाउन बोलपत्र आह्वान अघिल्लो वर्ष नै भइसकेको र ठेक्का सम्झौता भै कार्यदेश समेत दिइएको थियो । काम छिटो सक्न सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरिएको पनि उनले जानकारी दिए ।

नगरपालिकाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र बमोजिम भु बर्गिकरण कार्य गरी नगरकार्यपालिका समक्ष प्रतिवेदन पेश गर्नेका लागि बानपा १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरको छ । कार्यपालिका बैठकले हरेक वडामा एक–एकवटा स्मार्ट शौचालय बनाउन खानेपानी तथा ढल निकास विभागमा अनुरोध गर्ने निर्णय गरेको सापकोटाले जानकारी दिए । नगरपालिका क्षेत्रको नापी नक्सा र फिल्ड फरक परी नगरवासीहरुलाई विभिन्न समस्या परेको हुँदा निजी सार्वजनिक सरकारी र वन क्षेत्र समेतको पुनः नापी गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->