बागलुङ/ स्थानीय तहहरुले कार्यालय प्रयोजनका लागि आवश्यक सामग्री तथा औषधिहरुको खरिदमा लापरवाही गर्ने गरेको पाइएको छ ।
सार्वजनिक खरिद ऐनले गरेको व्यवस्था विपरीत स्थानीय तहहरुले कार्यालय प्रयोजनका लागि आवश्यक मसलन्द सामग्री तथा औषधिहरुको खरिदमा लापरवाही गर्ने गरेका हुन् । अत्यन्तै संवेदनशील स्वास्थ्य क्षेत्रमा बागलुङका स्थानीय तहले नियम मिचेर कारोबार गर्ने गरेका छन् । जिल्लाको गलकोट नगरपालिकाले औषधि खरिदमा लापरवाही गरेको भेटिएको छ । जैमिनी नगरपालिकाले आयुर्वेदिक औषधि खरिदमा लापरवाही गरेको छ । जैमिनी नगरपालिकाले लाखौं मूल्य बराबरको कार्यालय सञ्चालन सामग्री तथा मसलन्द सार्वजनिक शिलबन्दी दरभाउपत्र बिनै एउटै फर्म वा कम्पनीबाट टुक्राटुक्रा बनाएर खरिद गरेको भेटिएको हो ।
सार्वजानिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । तर, गलकोट नगरपालिकाले २६ लाख मुल्य बराबरको औषधि सोही बमोजिम औषधि खरिद गरेपनि अभिलेख व्यवस्थापनमा भने कुनै कार्य नगरेको भेटिएको छ ।
नगरपालिकाले औषधि खरिद गर्दा बिना मिति र ब्याच नम्बर बिनाकै औषधि खरिद गरेको भेटिएको महालेखा परीक्षकको वार्षिक प्रतिबेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार औषधि खरिदमा विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको हुनुपर्ने, मिति, ब्याच नम्बर र म्यास सकिने मिति उल्लेख गरी विषय विज्ञबाट मुचुल्का उठाइ राख्नु पर्नेमा त्यसो नगरेको भेटिएको छ । गलकोट नगरपालिकाले निर्माण सामग्री खरिदमा समेत सार्वजनिक खरिद नियमावलीको आँखा छल्ने प्रयास गरेको भेटिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सिमिति नहुनेगरी खरिद गर्नुपर्ने व्यवस्था छ । खरिद नियमावलीले पाँच लाखसम्म सोझै खरिद गर्न सकिने, २० लाखसम्म शिलबन्दी दरभाउपत्रको माध्यामबाट र त्यो भन्दा माथीको बोलपत्रको माध्यामबाट खरिद गर्नुपर्ने व्यवस्था रहेको छ । सिधै खरिद गर्दा एकै आर्थिक वर्षमा एउटै आपूर्ति कर्तासँग एकपटक भन्दा बढी खरिद गर्न नहुने नियमको उलंघन गर्दै लाखौं मूल्यमा सामाग्री नगरपालिकाले सोझै खरिद गरेको पाइएको हो ।
नगरपालिकाले ११ लाख ५८ हजार ८३३ रुपैयाँ बराबरका मेसिनरी सामग्री तथा बिद्युतिय सामान बिभिन्न मितिमा तीन वटा आपूर्तिकर्ताबाट सोझै खरिद गरेको छ भने १३ लाख ९ हजार १ सय ५४ रुपैयाँ बराबरको छपाइ तथा स्टेशनरी र मसलन्द सामग्री पनि नियम विपरीत खरिद गरेको पाइएको छ ।
जैमिनी नगरपालिकाले दुई महिनाको फरकमा खरिद ऐनको आँखा छलेर ८ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषषि खरिद गरेको पाइएको छ । २०७७ पुस १९ गते र फागुन ३ गते चार÷चार लाख रुपैयाँ बराबरको औषधि सुशान्त आयुर्वेदिक औषधालयबाट खरिद गरेको छ । त्यस्तै जैमिनी नगरपालिकाले १४ लाख ५५ हजार १५६ रुपैयाँ बराबरको मसलन्द सामग्री निश्चित आपूर्तिकर्ताबाट सोझै खरिद गरेको महालेखाले उल्लेख गरेको छ । यो विषयमा जैमिनी नगरपालिकाका लेखा अधिकृत सूर्यबहादुर बिकले प्रशासनिक खर्च घटाउन यो विधि गरेको दाबी गरे ।





