बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आज गण्डकीमा सबै सवारी बन्द हुने

आज गण्डकीमा सबै सवारी बन्द हुने


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७९, आइतबार

बागलुङ/आईतबार गण्डकी प्रदेशमा सार्वजनिक, निजी तथा पर्यटकीय सवारी साधन बन्द हुने भएका छन् । यातायात व्यवसायी महासंघमा आबद्ध व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले बढाएको करको बिरोधमा यातायात बन्द गर्ने भएका हुन् ।

नेपाल यातायात महासंघ गण्डकी प्रदेशको आव्हानमा प्रदेशभरी चल्ने सवारी साधन एक दिनका लागि ठप्प पार्न लागिएको व्यवसायीले बताएका छन् । कर प्राणालीलाई व्यबहारिक र समय सापेक्ष बनाउन सरकारलाई दवाव दिनका लागि आन्दोलनका कार्यक्रम तय भएको अध्यक्ष शसिकपुर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आईतबार सवारी साधन नचलाउनेगरी महासंघले संस्थागत निर्णय समेत गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत पहिलो चरणमा यातायातका साधन घर तथा ग्यारेजमा थन्काउने र सरकारले कर समायोजन गर्न पहल नगरेमा अनिश्तिच कालिन सवारी बन्द गरेर थप आन्दोलनमा जाने श्रेष्ठले जानकारी दिए । बागलुङका बिभिन्न चार वटा यातायात व्यवसायी कम्पनीहरुले पनि महासंघको कार्यक्रमलाई समर्थन गर्दै यातायातका साधन नचलाउने घोषणा गरेका छन् ।

गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीलाई अन्य देशका नागरिकलाई जस्तै व्यबहार गरेको व्यवसायीको गुनासो छ । चालु आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारले यातायात क्षेत्रमा अव्यवहारिक तरिकाबाट कर लगाउने काम गरेको भन्दै व्यवसायीहरुले यातायात क्षेत्रलाई चरम भेदभाव गरेको आरोप लगाए ।

‘सरकार हामी पनि यही देशका नागरीक हौं, यातायात क्षेत्रमा मात्रै व्यवसायी र सर्वसाधारणको ढाड सेकिने गरी किन यतिधेरै करको भारी बोकाईएको हो’ धौलागिरि कालिका यातायात प्रा.लि. बागलुङका अध्यक्ष बिष्णु अधिकारीले भने ‘यो अन्याय सहेर हामी टुलुटुलु हेरेर बस्न त सक्दैनौं ।’ अधिकारीले यातायात व्यवसायी कम्पनीहरुले संयुक्त रुपमा आयोजना गरेको सवारी साधन नचलाउने निर्णयमा साथ दिन निजी सवारी धनीहरुलाई समेत आग्रह गरे ।

‘करको भारी भाडाका सवारीसाधनका लागि मात्रै होईन साईकल भन्दा माथीका सबै सवारी साधनका लागि हो’ अधिकारीले भने ‘अत्यावश्यक बाहेकका सवारी सधन रोकेर हामीले सरकारलाई झकझकाउनु पर्छ ।’ कोरोना महामारीका कारण थलिएको यातायात क्षेत्रलाई राहत दिनुपर्नेमा उल्टै करको भारी बोकाएको व्यवसायीहरुको आरोप छ । कर समायोजनका बिषयमा ज्ञापनपत्र मार्फत गण्डकी सरकारसँग माग गरेको भएपनि कुनै निर्णय नभएकाले यातायात जस्तो संवेदनशिल क्षेत्र बन्द गर्नुपरेको बागलुङका चार कम्पनीहरुले जारी गरेको अपिलमा उल्लेख छ ।

‘व्यवसायीको करोडौं लगानी डुव्ने अबस्थामा छ, एकातर्फ बिष बर्षे दायराले व्यवसाय थला परेको छ अर्को तर्फ करको भारीले उठ्नै गाह्रो’ अधिकारी भन्छन् ‘यो अव्यवहारीक निर्णय सरकारले नसच्याए हामी प्रदेश बन्दको घोषणा गर्न बाध्य हुने छौं, जसको जिम्मेबारी सरकारले लिनुपर्ने छ ।’ इन्धनको मुल्य समायोजन, रोड परमिट, र भाडादर समायोजनमा समेत बैज्ञानीक पद्धती लागुगर्न व्यवसायीहरुले माग गरे । धौलागिरि कालिका यातायात प्रा.लि., धौलागिरि गण्डकी यातायात प्रा.लि., धौलागिरि अञ्चल यातायात सेवा प्रा.लि र बागलुङ भगवती यातायात प्रा.लि. बागलुङले संयुक्तरुपमा अपिल जारी गर्दै महासंघकै कार्यक्रम अनुसार आईतबार सवारी नचलाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->