बागलुङ/ धौलागिरि अस्पतालमा उपचारकालागि आएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गरिन् । बल्लबल्ल स्वास्थ्य परीक्षण गरेपछि फेरी स्वास्थ्य बीमा गरेको कारण अपमान जस्तो बन्नुपरेको गुनासो गरिन् ।
स्त्रिरोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्न खोज्दा सामान्य लाइनमा दुइघण्टा पैसा तिर्नु परेको, भिडियो एक्सरेको रकम जम्मा गर्न दुइ घण्टा लाइन बसेको र गेटमा पुगेपछि आज भिडियो एक्सरे हुँदैन भनेर फकाईएको गुनासो गरिन् ।
यस्ता गुनासो गर्ने अस्पतालमा दिनदिनै बढेका छन् । सामान्य उपचार पाउने कुरा मात्र नभइ बिशेषज्ञ सेवा पाउन पनि सास्ती बढेको छ । बीमा गरेकोलाई उपचार सेवा झनै झण्झटीलो भएको छ । साथै अस्पतालका डाक्टर र अन्य स्वास्थ्यकर्मीले गर्ने व्यवहार फरक भएको बिरामीले गुनासो गरे ।
अमलाचौरका इश्वरी शर्माको गुनासो पनि उस्तै छ । बिमा गरेको व्यक्तिबाट फाइदा पाइदैन भनेर स्वास्थ्यकर्मीले सित्तैमा उपचार गरिदिएझै गरेको उनले गुनासो गरे । भएको औषधी दिन र उपचार सेवा दिन पनि नखोजेको उनले टिप्पणी गरे । ‘हामीले पनि पैसा तिरेका छौं भन्ने उनीहरुले बुझेनन्’ शर्माले भने, ‘रिफर गर्दापनि बिशेषज्ञ अस्पतालमा जान पाइएन ।’ ‘कानको समस्या थियो, हामीलाई हरियो खर्क रिफर गरिदिएको भए राम्रो हुन्थ्यो, तर गण्डकी अस्पताल रिफर भयौं’ उनले गुनासो गरे ।
सेवाग्राही बाबुराजा कार्कीले भने सबैले चिनेजानेकोले सहजै उपचार गरिदिएको बताए । औषधी लिने बेला भने कुनै कुनै औषधी छैन भनेर फर्काएको अनुभव कार्कीले संगालेका छन् । ३ हजार ५ सय रुपैयाँ तिरेर बिमा गरेपछि एक बर्षभित्र १ लाख रुपैयाँको उपचार निशुल्क पाउने व्यवस्था छ । राष्ट्रिय बिमा बोर्डले पनि सोही अनुसार ग्रामीण तहका स्वास्थ्य चौकी देखि रिफर अस्पताल तोकिदिएको छ । तोकिएका अस्पतालमा उपचार गर्दा १ लाख रुपैयाँ सम्म छुट हुन्छ । बोर्डका बागलुङ कार्यालय स्थित दर्ता अधिकृत नारायण प्रसाद पौडेलले बिपितका संख्या बढेको बताए ।
बिमा गरेकै कारण कसैलाई बिभेद गर्न जरुरी नभएको मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘मेरोमा आउने र मैले देखे सम्म सबैलाई सम्मान गर्छु’ पोखरेलले भने,‘केही कर्मचारी साथीहरुको व्यवहार केही रुखो छ भन्ने गुनासो आएको छ ।’ प्रशासनिक रुपमा कसैलाईपनि दुःख र अप्ठ्यारो नपर्ने व्यवस्थापनमा लागेको उनले बताए । गत असार मसान्त भित्र जिल्लाका ८० हजार ६ सय ९४ जना नागरिकले स्वास्थ्य बिमा गरेका छन् । अधिकांसले नविकरण पनि गरेको पौडेलले बताए । अस्पताल भित्रको फार्मेसीमा टेन्डर मार्फत औषधी झिकाउने भएकोले केही ढीला हुने, औषधि सकिएको बेला पुगेका बिमितले गुनासो गर्ने अबस्था आएको पौडेलको तर्क छ ।
अस्पतालको सेवा प्रवाह चुस््त बनाउन भने दक्ष जनशक्ती अभाव भएको प्रशासनका निमित्त प्रमुख ताराप्रसाद शर्माले बताए । ‘डाक्टर संख्या कम छ, बिरामीको चाप बढेको छ, त्यसैले सबैले एकैपटक पालो नभएका हुन्’ उनले भने, ‘भिडियो एक्सरे लगायतको सेवा पनि दैनिक ५० जनाले मात्रै पाउने व्यवस्था छ ।’ त्यो भन्दा धेरै एकैजनाले नभ्याउने भएकोले फर्काउनु परेको दावी गरे । बिरामीले आफ्नो पालो नआउने भए आउँदैन भनेर जवाफ खोजेकोमा लाइनमा बसेर अन्तिममा आज संभव छैन भने फर्कनुपर्ने समस्या भएको गुनासो गरे ।
बागलुङकै मेलना श्रेष्ठले ९ बजेदेखि आएर लाइनमा बस्दा बस्दा अन्तिममा आज उपचार छैन भनेर फर्कनु पीडादायी भएको बताइन् । ‘टाढाबाट हजारौ खर्चेर उपचारमा आएकाहरुलाई यो समस्या बढी छ’ उनले भनिन्, ‘न उपचार गर्न पाए, न घर फर्कन पाए ।’ सामान्य उपचार गर्नपनि बिरामीले होटल खोजेर बास बस्नुपर्ने बाध्यता हटाउनु पर्ने उनले सुझाव दिइन् ।
अस्पतालमा पछिल्लो समय ५ सय भन्दा बढी बिरामी दैनिक उपचारमा आउने गरेको तथ्यांक छ । ती मध्ये नभ्याएकाले भोलीपल्ट सेवा पाउने भएपनि भोलीपल्टका थपिंदा संख्या बढीरहेको हो । अस्पतालमा दक्ष जनशक्ती भएपनि सिफ्ट प्रणालीमा उपचार गर्ने भन्दा हरेक दिन १० देखि ३ बजेसम्म मात्रै उपचारमा लाग्ने भएकोले बिरामीको समेत आक्रोस आउन थालेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा र मेडिकल सुपरिटेण्डेन्ट पोखरेलले आँफूहरु बिरामी परेकोले तत्काल व्यवस्थापनमा लाग्न नसकेको प्रतिक्रिया दिए ।





