संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । प्रतिपक्षले सत्तालाई खबरदारी गर्छ, जनपक्षीय काम गर्न दवाव दिन्छ र गलत हुँदा सशक्त आवाज उठाउँछ । संसदीय परम्परामा सरकार सत्ता पक्षको र संसद प्रतिपक्षको हो भन्ने मान्यता हुन्छ । सत्य पनि यही हो । सत्ता र शक्तिको आडमा गरिने गलत कृत्यहरुलाई रोक्न प्रतिपक्षले सदनको प्रयोग गर्छ । जनताका आवाजहरु त्यहीँ मुखरित गर्छ । संसदीय प्रणाली र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने यो कामबाट विपक्षी चुक्दा मार जनतालाई पर्छ । सरकार जवाफहीन र भ्रष्ट बन्ने सम्भावना बढेर जान्छ ।
सरकारलाई अलोकतान्त्रिक र अवैधानिक हुनबाट रोक्ने काम विपक्षीकै हुन्छ । रचनात्मक प्रतिपक्ष विरोधमात्रै गर्दैन, असल काममा सरकारलाई सघाउँछ,सहकार्य गर्छ । यो परम्पराले नै संसदीय व्यवस्था बलियो हुन्छ । तर, नेपालमा प्रतिपक्षको भूमिका रचनात्मक देखिएको छैन । संसदमा आउने विधेयक तथा सार्वजनिक महत्वका विषयहरुमा प्रतिपक्षले ध्यान दिएको देखिँदैन । आलोचनाको लागि आलोचना गर्ने र कतिपय अवस्थामा सत्तासँगै भागबण्डामा रमाउने प्रवृत्ति बढेर गएको छ ।
यसअघि संघीय संसदमा नेपाली कांग्रेस विपक्षमा थियो । केपी ओली प्रधानमन्त्री हुँदा विपक्षले सशक्त आवाज उठाउन नसकेको भन्दै आलोचना भएको थियो । अहिले एमाले विपक्षमा छ । संसदमा उसले विपक्ष रहेको अनुभूति त दिलायो तर कतिपय विषयहरुमा गम्भीर बन्न सकेन । गण्डकीको अवस्था पनि उस्तै छ ।
गण्डकीका यसअघि विपक्षमा रहेको कांग्रेस नेतृत्वको सरकार छ भने विपक्षमा एमाले आइपुगेको छ । हिजो विपक्षमा रहँदा कांग्रेस सक्रिय थिएन । त्यसको तुलनामा एमाले बढी सक्रिय छ तर महत्वपूर्ण विषयहरुमा भने ऊ पनि चुक्न पुगेको छ । र,यसको पछिल्लो दृष्टान्त हो, सरकारले ल्याएको आर्थिक ऐन र त्यसको गहन अध्ययनमा चुकेको प्रतिपक्ष । सत्ताको विरोध गर्ने प्रतिपक्षले आर्थिक ऐन पढ्ने जाँगर चलाएन । सत्तापक्षले आफू अनुकूलका क्षेत्रमा बढी विनियोजन गरेको आरोपसम्म त ठीकै थियो तर जनताको सवारी कर,जरिवाना, घरजग्गा रजिष्ट्रेसनमा थोपरिएको करले जनताको ढाड सेक्दैछ भन्नेतर्फ प्रतिपक्षले ध्यानै दिएन । आर्थिक वर्ष २०७९/०८० को बजेटको अध्ययन गर्नुपर्छ भन्नेमा पनि प्रतिपक्षले खासै चासो देखाएको पाइएन । मिडियाहरु प्रतिपक्षको भूमिकामा अब्बल देखिँदा व्यक्तिको नाममा स्थापित ट्रष्टलाई दिइएको बजेट फिर्ता गर्न सरकार बाध्य बन्यो ।
विभिन्न करहरु घटाइए । खासमा यो काम प्रतिपक्षबाट हुनुपथ्र्यो । बजेटबारे भएका छलफलमा अंक र अक्षरहरु हेरेर दरिलो तरिकाले प्रस्तुत हुन सक्नुपथ्र्यो । तर, भएन÷गरिएन । प्रतिपक्ष जनताको पक्षमा बोलेर आफूलाई अब्बल प्रमाणित गर्ने अवसरबाट चुकेको छ । प्रतिपक्ष चुक्दा संसदीय व्यवस्थामाथि पनि असर परेको छ । अध्ययन नगर्ने र आफ्नो भूमिका के हो भन्नेबारे सभासदहरुले ध्यान नपु¥याउँदा यस्तो भएको हो । प्रतिपक्षले यो कमजोरी सच्याउनुपर्छ । ऊ सधैँ चनाखो र रचनात्मक हुनुपर्छ ।
