बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अपमानित नाम सच्याऊ

अपमानित नाम सच्याऊ


  • Dhorpatan News
  • साउन २५ २०७९, बुधबार

अक्सर भनिन्छ, नाममा के हुन्छ ? कर्ममा पो हुन्छ ! त्यस्ताहरुले आफ्नो बचाउको लागि अर्को भनाइको सहारा लिन्छन् ‘नाम राख्नू !’ हो, व्यक्तिले गर्ने कर्मले उसको नाम रहन्छ । नाममा परिचयबाहेक अरु हुने पनि हैन तर नामकै कारण कसैमाथि हेलाहोंचो गरिन्छ भने त्यो ज्यादतिमात्रै हुँदैन, अपराध नै हुन्छ । बागलुङको ताराखोलाकी एक दलित महिलाको नाम त्यस्तै उदाहरण हो ।

उनको नाम नै नागरिकता बनाउँदा कुकुर्नी कमिनी राखिदिए । प्रष्ट छ, त्यो नामले उनीमाथि चरम विभेद भएको छ । जातिवादी नेपाली समाजको उचनिचको परम्परालाई मलजल गरेको छ अनि मै हुँ भन्ने उच्चजातीय अहंकार अर्काको काँधमा लगेर थोपरिएको छ । कान नसुन्ने ती महिलासँग आफ्नो नाम के राख्ने भन्ने जानकारी नहुनु एउटा कुरा हो तर लेखपढ गरेका र जान्नेबझु्नेहरुले त्यही नाम किन राखिदिए भन्ने अर्को प्रश्न हो । हो, गाउँघरतिर अन्धविश्वासका कारण फरक खालको नाम राखे मृत्यु भाग्छ भन्ने मान्यता अद्यावधिक छ तर त्यो चित्तबुझ्दो जवाफ हुनैसक्दैन । किनकि बोल्न नसक्ने र कान नसुन्ने छोरीलाई आमाबुबाले सावित्री भनेरै बोलाउँथे ।

सावित्री एकाएक कसरी हियाउने नाम बोक्न अभिषप्त भइन ?यो प्रश्नको उत्तर खोज्न हाम्रो समाजमा रहेको जातीय विभेदको अवस्था बुझ्नैपर्ने हुन्छ ।

दलितमाथि सदियौंदेखि विभेद हुँदै आएको छ । कथित उच्च जातकाले उनीहरुको स्वाभिमान गिराउन र उनीहरुमाथि शासन गर्न अनेक प्रपञ्च रचे । कतिसम्म भने शुभ र भगवान जनाउने नामहरु समेत उनीहरुलाई दिइएन । कालान्तरमा दलितहरुलाई त्यसमै अभ्यस्त बनाइयो । आइतबार जन्मे आइते, सोमबार जन्मे सोमे, यावत तरिकाले उनीहरुको परिचय बनाउन थालियो । हिन्दु दलितको घरमा पण्डित जान छाडेपछि परिवार स्वयंले पनि आफूलाई त्यसमा अभ्यस्त बनाउँदै लग्यो । कथित उपल्लो जातकाले त्यसलाई प्रोत्साहित गर्दै लगे । हिजो कसले के ग¥यो भन्ने हिसाब–किताब होला । को कसरी विभेदमा परे भन्नेबारे पनि समाजशास्त्रीहरुले मथिङ्गल खियाउलान् तर नाममा जसरी विभेद गरिएको छ, यो अपराध नै हो ।

गलत नियतले राखिएका नामहरु सच्चिनुपर्छ र सच्याउनको लागि राज्य तहबाट पहल गर्नुपर्छ । देश संघीय संरचनामा गएको छ । बहुभाषिक र बहुजातीय मुलुक हो भन्ने संविधानले स्पष्ट पारेको छ । यस्तो अवस्थामा दलितले मात्र नभएर अन्य जनजातिले पनि आफूखुसीको सम्मानजनक नाम राख्न पाउनुपर्छ । नामबाटै विभेद हुने प्रवृत्तिको अन्त्य र त्यसो गरिए दण्डको भागिदार बनाउने कामको थालनी हुनुपर्छ । नाममा स्वाभिमान हुन्छ, आत्मसम्मान हुन्छ र आफ्नो पुर्खाको इतिहासप्रति गर्व पनि हुन्छ । मान्छेको आत्मसम्मान गलाउन मिल्दैन । यसका लागि अपमानित तरिकाले राखिएका नाम सच्चिनुपर्छ र आइन्दा यस्तो हुनुहुँदैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->