बागलुङ/ आफू अनुकुल कर्मचारी नपाएको भन्दै स्थानीय तहहरुले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरीका दुई स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशसकीय अधिकृतहरुलाई फिर्ता पठाएका छन् ।
बागलुङको निसीखोला गाउँपालिकाले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएका कर्मचारी फिर्ता पठाएको छ । मन्त्रालयले खटाएका कर्मचारीलाई फिर्ता पठाएर गाउँपालिकाले प्रशासन शाखा प्रमुखलाई निमित्तको जिम्मेवारी दिएको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तिले मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँपालिकामा पठाएका ध्रुव रिजाललाई काम गर्न दिएनन् । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य सरुवा भएपछि खाली भएको ठाउँमा आएका रिजाललाई काम गर्न नदिइ प्रशासन शाखा प्रमुख दिलिपकुमार चन्दलाई अध्यक्ष घर्तीले निमित्त बनाएका हुन् ।
मन्त्रालयको मिति २०७९/०४/०५ गतेको पत्र लिएर प्रशासकीय अधिकृतको रुपमा काम गर्न आएका रिजाललाई अध्यक्ष घर्तिले हाँजिर गर्न नदिएका हुन् । ‘मन्त्रालयले पठाएको ठाउँमा काम गर्न आएँ, दुई दिनसम्म कार्यालयमा पनि गएँ तर हाँजिर गर्न पनि दिइएन, काम गर्न पनि दिइएन’, रिजालले भने– ‘पालिकामा नराख्ने भए फिर्ता गरेको पत्र दिनुस भनेर पनि भनेँ तर त्यो पनि दिइएको छैन ।’
रिजालले हाजिर गराई पाऊँ भनि साउन १६ गते गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिलाई निवेदन दिएका थिए । त्यो निवेदन १९ गते दर्ता भएको छ । रिजालले भने‘आजसम्म पनि त्यसको जवाफ पाउन सकेको छैन, यसले गर्दा समस्या भएको छ ।’ पालिकामा रहेका स्वार्थ समूहका कारण अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गरि प्रशासन शाखा प्रमुखलाई निमित्त दिएको हुनसक्ने निसीखोलाका एमाले नेता भूमिराज घर्तीले बताए । गाउँपालिका अध्यक्ष घर्तीले भने समन्वय नै नगरी मन्त्रालयले आफूखुसी पठाएका कर्मचारीलाई काम गराउन नसकिने बताए । गाउँपालिका अध्यक्षलाई सम्मान गर्नेखालको प्रमुख प्रशासकीयले मात्रै जनताका काम गर्न सक्ने घर्तीको प्रतिक्रिया छ ।
यसअघि बागलुङकै काठेखोला गाउँपालिकाबाट सरुवा भई म्याग्दीको मंगला गाउँपालिका पुगेका चुर्ण बहादुर कार्कीलाई आफू अनुकुल काम नगर्ने भन्दै गाउँपालिका अध्यक्षले फिर्ता पठाएका थिए । कार्की
अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाँजिर भएका छन् ।
कर्मचारीहरु फिर्ताको बिषयलाई लिएर सर्वसाधारण र कर्मचारी बृत्तमा समेत असन्तुष्टि देखिन थालेका छन् । ‘स्थानीय सरकार सञ्चालन २०७४ र निर्वाचन आयोगमा कुनै पनि पालिकामा निर्बाचित भएको खण्डमा मलाई मन लागेको हाकिम ल्याउन पाउने छ भन्ने कानून बनाउने भए जाति होला नत्र यो हदसम्म गलत गर्न हिम्मत कुन मतदाताले जनप्रतिनिधिलाई अधिकार दिएका छन ?’ निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद न्युरेले सामाजिक सञ्जालमा लेखेका छन्,‘जानकारी पाउन पाए कर्मचारी ढुक्कसँग बस्ने थिए, नत्र खटाउने एउटा पठाउने एउटा अनि चुनाव जितेर सबै संसार जितेझै ठान्नु ठीक हो ? नारायणहिटीबाट राजा बहिर्गमन भएको छ अनि ५ वर्षपछि घरमै !’





