बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोज

फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोज


  • Dhorpatan News
  • साउन ३१ २०७९, मंगलबार

काठमाडौंका मेयर बालेन साहले फोहरमा ठूला राजनीतिक दलहरुले राजनीति गरेको आरोप लगाएका छन् । बञ्चरेडाँडामा सत्ताधारी दलका कार्यकर्ताकै उक्साहटमा फोहर विसर्जन रोकिनु र गुलेली प्रहारमा सत्ता र विपक्षी दलका नेताहरु सामेल भएको उनको आरोप छ । राज्यले ५ अर्बभन्दा बढी लगानी गरेको ठाउँमा फोहर फाल्न किन अवरोध भइरहेको छ भन्ने प्रश्न पनि उनको छ ।

सिसडोलमा लापरवाही गरेका कारण स्थानीय जनता सशंकित हुनु स्वभाविक भएको पनि उनको भनाइ छ । मंगलबार त्यहाँ ३ सयभन्दा बढी गाडीको फोहर विसर्जन गरिएको छ । तर,काठमाडौंको फोहरको समस्या उस्तै छ । सोमबार ठूला राजनीति दलका स्थानीय नेताले नै विज्ञप्ति जारी गर्दै फोहर फाल्न नदिने बताएका थिए । ठूला सहरहरुको प्रमुख समस्या भनेको फोहर नै हो । फोहरलाई स्रोतमै वर्र्गीकरण गर्ने तथा मोहरमा परिणत गर्ने भनाइ व्यवहारमा लागू नहुँदा यो अवस्था सिर्जना भएको सबैले बुझेका छन् ।

तर, फोहर व्यवस्थापनको दीर्घकालीन समाधान गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । फोहर समस्या भँजाउने र त्यसबाट अनुचित लाभ लिने प्रवृत्ति मौलाएको छ । फोहरलाई आम्दानीमा बदल्न सकिन्छ । स्रोतमै वर्गीकरण हुने हो भने ल्याण्डफिल साइटमा थोरैमात्र फोहर पुग्छ । त्यसको व्यवस्थापन पनि सजिलो हुन्छ । तर, राज्यले त्यता ध्यान दिएको छैन । जसले गर्दा फोहर सहरको टाउको दुखाइ बनेको छ ।

आफ्नो घरको फोहर अर्काको दैलोमा फाल्ने प्रवृत्ति आफैमा गलत हो । कुनै ठाउँमा फोहरको व्यवस्थापन गरिन्छ भने सर्वप्रथम त्यहाँका जनताको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ । फोहरकै कारण उनीहरु रोगी र प्रताडित नहुन् भन्नेमा ध्यान दिनुपर्छ । यसअघि काठमाडौंको फोहर फाएिको सिसडोल क्षेत्रमा प्रदुषण बढेको र त्यसले असाध्य रोगहरु फैलाएको प्रमाणित भइसकेको छ । कम्तिमा त्यस्तो अवस्था सिर्जना हुनुहँुदैन । फोहर फाल्न दिएवापत् रोग बेसाउने रहर कसैलाई हुँदैन ।

अहिले भएको विरोध त्यसकै परिणति हो भन्ने मनन गर्नुपर्छ । फोहर फाल्ने क्षेत्रका बासिन्दालाई थप सेवा,सुविधा र विकासे योजनाहरु दिएर सन्तुष्ट बनाउनुपर्छ । तबमात्र फोहर विसर्जनको दीर्घकालीन समाधान सम्भव हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->