मोफसलबाट व्यावसायिक पत्रकारिता सुरुका ती दिन । आज गणना गर्दा १९ वटा वर्षका खुड्किला पार गरिएछ । दुई दशकको यात्रामा अनेकन अनुभवका बीच हाम्रो यात्रा निरन्तर छ । ढोरपाटन दैनिक २० औं वर्ष प्रवेश गर्दा बिर्सनै नसकिने तमाम पाठक, विज्ञापनदाता, स्तम्भकार, सहकर्मीहरु र शुभेच्छुकहरुप्रति आभारी छौं ।
इतिहासमा मुलुक सबैभन्दा बढी द्वन्द्वको चपेटामा परेको बेला हाम्रो यात्रा प्रारम्भ भयो । २०६० भदौ १ गतेबाट सुरु भएको हाम्रो यो यात्रा ६ महिना नपुग्दै संकटकालको शिकार बन्यो । शाही शासनको चर्को मारलाई हाम्रो निडरता, निष्पक्षता, स्वतन्त्र विचार र व्यावसायिक पत्रकारिताप्रति हाम्रो अटूट लगनशीलताले पार लगायौं ।
बागलुङबाट आरम्भ भएको ढोरपाटन दैनिकको यात्रा देश संघीयतामा प्रवेश गरेसँगै प्रदेश राजधानीसम्म ल्याउने सफलता प्राप्त भयो । समृद्धिको सन्देश लिएर गण्डकी प्रदेशमा फैलिएका हामी भर्खर बामे सर्दै थियौं । त्यही अवस्थामा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट सिर्जित अर्को संकटको सामना गर्नुप¥यो । यद्यपि, त्रिवेणीदेखि कोरलासम्म, बुढीगण्डकीदेखि कालीगण्डकीसम्म, मनकामनादेखि ढोरपाटनसम्म र अन्नपूर्णदेखि धौलागिरिसम्मको हाम्रो यात्रा अविचलित रुपमा अगाडि बढिरह्यो ।
दुई दशकको यो यात्रामा हामी अनेकन संकट, समस्या र सफलतासँग साक्षात्कार गर्दै यहाँसम्म आइपुगेका छौं । चुनौतीको सामना गर्नु र समस्यालाई कुशलतापूर्वक पार लगाउँदै अगाडि बढ्नु हाम्रो नियति बनेको छ । पाठकलाई साक्षी राखेर सुशासन र समृद्धिका खातिर सहितको निर्भीक पत्रकारिता गर्नु हाम्रो दैनिकी बनेको छ । नागरिक पत्रकारिताको मूल्य÷मान्यताबाट हामी कहिल्यै पछि हटेका छैनौं । जस्तोसुकै संकटमा पनि सँगै बाँच्ने र हिँड्ने सीप र सामथ्र्य सिकेका छौं । विगतमा भन्दा थप ऊर्जाशील भएर अगाडि बढ्ने प्रतिबद्धता पुनः दोहा¥याउन चाहन्छौं । निष्पक्ष पत्रकारिताको निष्ठामा कुनै कमी आउन दिने छैनौं । लोकतन्त्र, कानूनी राज र विधिको शासन हाम्रा गहना हुन् । यसबाट पछि हट्ने हामीलाई छुट छैन ।
तीव्रतर रुपमा अघि बढेको प्रविधि विकासले हामीलाई घच्घच्याइरहेको छ । हामी हाम्रा सञ्चार सामग्रीलाई थप परिस्कृत र परिमार्जन गर्दै अगाडि बढेका छौं । ढोरपाटन दैनिकको डिजिटल पत्रिका ‘ढोरपाटन न्युज’ लाई नयाँ गतिका साथ अगाडि बढाएका छौं । यसबाट हरेक क्षण पाठकहरुका हाते स्क्रिन र कम्प्यूटरमा भरपर्दा सञ्चार सामग्रीहरु सम्प्रेषण गरिरहेका छौं । यसलाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने क्रममै छौं । जसले तपाईंहरुलाई सही सूचना र समाचार प्रवाह गर्नेछ ।
हामी २० औं वर्षमा प्रवेश गर्दै गर्दा ‘काँध थाप्ने पुस्ता’ विशेषांंक प्रकाशन गरेका छौं । ‘काँध थाप्ने पुस्ता’ मा गण्डकी प्रदेशको राजनीति, समाजसेवा, उद्योग, व्यवसाय, खेलकुद, साहित्य, संगीत, चलचित्र, कृषि, सेवा उद्योग लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्तिहरुको ‘व्यक्ति चित्र’ समेट्ने कोशिस गरेका छौं । अनुकरणीय उत्प्रेरणाले भरिएको यो विशेषांक विगतमा जस्तै संग्रहणीय र पठनीय हुनेछ भन्ने विश्वास लिएका छौं । थप सिर्जनात्मक हुने हाम्रो प्रयत्न जारी छ ।
अन्त्यमा, सम्पूर्ण सहकर्मी, पाठक, बिक्रेता, वितरक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक महानुभावहरुमा १९ औं वार्षिकोत्सवको अवसरमा हृदयदेखि शुभकामना !
हरिनारायण गौतम
प्रधान सम्पादक/अध्यक्ष
