बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पाठ्यक्रम बनाउन नगरपालिका पछाडि

पाठ्यक्रम बनाउन नगरपालिका पछाडि

साधन श्रोत बढी भएर पनि नगरपालिकाहरु पठ्यक्रम बनाउने अभियानमा पछि परेका हुन् । बरु आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिकाहरु अगाडि देखिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३ २०७९, शुक्रबार

बागलुङ/संविधानले स्थानीय तहलाई आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिएको छ । तर जिल्लाका नगरपालिकाहरुले उक्त अधिकार प्रयोग गर्न सकेका छैनन् ।
साधन श्रोत बढी भएर पनि नगरपालिकाहरु पठ्यक्रम बनाउने अभियानमा पछि परेका हुन् । बरु आफ्नै पाठ्यक्रम बनाएर लागू गर्नेमा गाउँपालिकाहरु अगाडि देखिएका छन् । पाठ्यक्रममा तमानखोला पहिलो भयो । त्यसपछि ताराखोला र बरेङ गाउँपालिकाले पनि पाठ्यक्रम बनाएर लागू गरे ।

तमानखोलाले ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म पढाउन थालेको हो । आगामी बर्ष कक्षा ५ सम्मको पाठ्क्रम लागू गर्ने तयारी भएको गाउँ शिक्षा अधिकारी पूर्णबहादुर घर्तीले बताए ।

ताराखोला गाउँपालिकाले पनि गत शैक्षिकसत्र बाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो । ताराखोलाको पाठ्यक्रममा स्थानीय उत्पादन र मगर संस्कृतीबारे बढी सामाग्री संकलन गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले बताए ।

बरेङ गाउँपालिकले पनि चालु बर्षदेखि पाठ्यक्रम लागू गरेको बताएको छ । बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘मौलिक ढंगको पाठ्यक्रम बनाइरहेका छौं’, उनले भने, ‘क्रमशः पाठ्यक्रम बनाउने योजना छ ।’ स्थानीय चाडपर्व, कला, संस्कृति र पालिकाको परिचयलाई पाठ्यक्रममा समावेश गरिएको उनले बताए ।

तीनवटै पालिकाले पहिलो चरणमा मस्यौदा बनाए । त्यसमा बिज्ञ समूहको छलफलमार्फत निष्कर्ष समेत निकालेपछि पाठ्यक्रमलाई अन्तिम रुप दिएका थिए । बडिगाडमा छिटै पाठ्यक्रम बनाएर लागू गर्न तयारी भएको अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

अन्य गाउँपालिकामा पनि मस्यौदा लेखनको काम भइरहेको र त्यसपछि छलफल गरेर अन्तिम रुप दिने योजना जनप्रतिनिधीले सुनाए । सदरमुकामस्थित बागलुङ नगरपालिकामा भने अझै स्थानीय पाठ्यक्रमको सुरसार छैन ।

गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाले पनि पाठ्यक्रममा प्रगती गर्न सकेको छैन । साधन श्रोत धेरै भएपनि नगरपालिका तहमा स्थानीय पाठ्यक्रमबारे चासो नै नभएको अभिभावकले बताए । ‘सबैभन्दा दुर्गमको तमानखोलाले गर्न सक्ने काम सदरमुकाममा किन भएन ?’ स्थानीय सुजन परियारले भने, ‘कर्मचारी र जनप्रतिनिधिमा केही गरौं भन्ने भावना भएन भने कुरा ठूला हुन्छन् ।’ अन्य काममा पनि जिल्लाका नगरपालिकाभन्दा गाउँपालिका अगाडि देखिएको उनले बताए ।

तयारी गरेकाहरुले पनि काम फत्ते गर्न सकेका छैनन् । मस्यौदा बनाएको बागलुङ नगरपालिकाले पाठ्यक्रमको पुस्तिका तयार गर्न सकेको छैन । ‘बिभिन्न छलफल र कार्यशालामार्फत प्रारम्भिक मस्यौदा बनाएका छौंं’ बागलुङ नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले भने, ‘पाठ्यपुस्तक बनाउने बजेट नभएर रोकिएका हौं ।’ गत आर्थिक बर्ष बजेट नपाएर रोकिएको काम अब आर्थिक अधिकार आएपछि गरिने उनले बताए । त्यसका लागि के कति बजेट बिनियोजन छ भन्ने उनले खुलाएनन् ।

जैमिनी नगरपालिकामा अहिलेसम्म पाठ्यक्रमबारे सुरसार छैन । पाठ्यक्रम तयारी समिति मात्रै गठन भएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए । ‘चालु बर्ष २ लाख ५० हजार बजेट पनि छ अब हामी लाग्छौं’ आचार्यले भने, ‘आगामी बर्षदेखि कम्तिमा कक्षा १ को भएपनि पाठ्यक्रम लागू गर्छौ ।’

गलकोटमा पाठ्यक्रमबारे सामान्य छलफल भएको छ । ढोरपाटन नगरपालिकामा पनि सुरसार छैन । ‘पाठ्यक्रममा पालिकाभित्रका सबै वडा, ती वडाका महत्वपूर्ण उत्पादन, धार्मिक र पर्यटकीय स्थल तथा ऐतिहासिक पात्र समावेश गर्नुपर्ने सुझाव आएको छ’ गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले भने, ‘बालमैत्री नगर बनाउने तयारीमा छौं, अब नयाँ पाठ्यक्रम पनि बनाएर आगामी बर्ष लागू गर्छौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->