समकालीन राजनीतिका सबैभन्दा निष्ठा र विचारवान नेता प्रदीप गिरिको महाप्रस्थान भएको छ । २००४ सालमा जन्मेका गिरिले भदौ ४ गते यो संसार छाडे । गिरि बौद्धिक त थिए नै, त्यति नै सरल थिए । समाजवादी चिन्तकको रुपमा उनको कद यति अग्लो थियो कि,सबै पार्टीका नेता/कार्यकर्ताका उनी प्रिय थिए ।
समाजवादप्रतिको दृढ आस्थालाई उनले जीवनपर्यन्त कायमै राखे । आफ्नो आस्था र स्वतन्त्रताबाट विचलित भएनन् र सबैका प्रिय बने । नेपाली कांग्रेससभित्र रहेर फरक विचारलाई फुलाउने,सत्ताको केन्द्रमा बस्न अनिच्छा प्रकट गर्ने तर खराब मार्गमा प्रविष्ठ राजनीतिलाई सही मार्गमा डोहो¥याउने भूमिकामा उनले कमी हुन दिएनन् ।
दर्शन र अर्थशास्त्रमा उनको बलियो पकड थियो । महाभारत र रामायणलगायत पश्चिमका मिथकहरुप्रतिको उनको रुचि अभूतपूर्व र गहिरो थियो । सामान्य विषयमा घण्टौं धाराप्रवाह बोल्नसक्ने, सबै उमेर समूहका व्यक्तिसँग रमाउने उनको व्यक्तित्व आफैमा आकर्षणको केन्द्र थियो । नेपाली कांग्रेसले अंगिकार गरेको अर्थनीतिका आलोचक गिरिले आफूलाई कहिल्यै समाजवादी चिन्तनभन्दा बाहिर राखेनन् । बहुदलीय प्रजातन्त्र,मानव अधिकार र समाजवादी राज्य व्यवस्थाप्रतिको त्यो निष्ठाको दीप निभेको छ । नेपाली राजनीतिले एउटा आदर्शवान नेता गुमाएको छ ।
प्रदीप गिरिको अगाडि सबैजसो समकालीन राजनीतिज्ञहरुको कद होँचो देखिन्छ । उनले देखाएको अडान र निष्ठालाई पच्छ्याउने खालका राजनीतिज्ञको नेपालमा खडेरी देखिएको छ । वैचारिक रुपले पनि उनी जत्तिको व्यक्तित्व पाउन मुस्किल छ । गिरिले स्वतन्त्र जीवन बाँचे । ज्ञान बाँढे र हिम्मतका साथ आफ्नो निष्ठाबाट टसमस भएनन् ।
उनले पद र प्रतिष्ठा हैन स्वतन्त्र जीवन रोजे । मृत्यु अवश्यंभावि हो । प्रदीप स्वयं त्यही भन्थे । तर, आदर्शवान व्यक्तित्वको निधनले अपूरणीय क्षति भएको छ । वैचारिक बहसबाट विमुख नेपाली समाजमा उनीजस्ता चिन्तकको अभाव लामो समयसम्म खट्कने छ । उनले सक्रिय जीवनकालमा समाजलाई जे दिए, त्यसलाई पच्छ्याउन सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । प्रदीप गिरिप्रति हार्दिक श्रद्धाञ्जली । उनको देहमुक्त आत्माले शान्ति पाओस् !
