बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बदलिँदो समाज र सुधारको अपरिहार्यता

बदलिँदो समाज र सुधारको अपरिहार्यता


  • Dhorpatan News
  • भाद्र ७ २०७९, मंगलबार

समाजमा बढ्दै गएको हत्या–हिंसाको श्रृंखलामा अर्को एउटा घटना जोडिएको छ । बागलुङको निसीखोला ५ कामीडाँडामा श्रीमती कुमारी विकबाट भएको श्रीमान तुलबहादुरको हत्याले घरेलु हिंसा तथा पारिवारिक बेमेलका घटनालाई पुनः एकपटक बहसमा ल्याइदिएको छ । घटना विवरण अनुसार गएको साउन २५ गते वैदेशिक रोजगारीमा जान ठीक्क परेका तुलबहादुर र श्रीमतीबीच स्वभाविक अन्तररंग सम्बन्ध हुन्छ । सोही सम्बन्धका बेला श्रीमानले परस्त्रीको नाम लिँदा श्रीमती आवेगमा आउँछिन् र मदिराले लठ्ठ श्रीमानको हत्या गरिदिन्छिन् । कुमारीले हत्या गरेको स्वीकारेकी छन् ।उनी दण्डको भागिदार बन्ने नै छन् । तर, यो र यस्तै घटनाले बिग्रदो नेपाली समाजको डरलाग्दो तस्वीर बाहिर ल्याइदिएको छ ।

घरेलु हिंसा बर्जित छ । यो पूर्णतयाः रोकिनुपर्छ । तर, रोक्ने कसरी ? यो गम्भीर प्रश्न सामुन्ने आएको छ । पछिल्लो समय नेपाली समाज हिंश्रक र अराजक बन्दै गएको छ । एकाङ्की परिवार,एक–अर्काप्रतिको भरोसामा आएको ह्रास एवं विवाहत्तेर सम्बन्धसँग यसको सम्बन्ध देखिएको छ । वैदेशिक रोजगार,बढ्दो स्वच्छन्दता,लागुऔषध पनि यसका कारक बनेका छन् । पछिल्ला हत्या÷आत्महत्या,सम्बन्ध विच्छेदका घटनाहरुले नेपाली समाज बदलिएको पुष्टि भएको छ । अनुशासनका डोरीहरु खुकुला बनेका छन् । आदर, सम्मान, डर–भर हराउँदै गएको छ ।

हिजोका मूल्य र मान्यताहरु भत्किएका छन् । सम्बन्धहरुमा विश्वासको सट्टा आशंकाले ठाउँ लिएको छ । अवस्था गम्भीर भएको छ । तत्काल प्रभावकारी कदम नचालिए अवस्था भयावह हुने सम्भावना बढेर गएको छ । कानूनका बन्धनहरुलाई कसिलो बनाएरमात्रै यो समस्याबाट पार पाउन असम्भव देखिएको छ । समाजले अब भौतिक प्रगतिमात्रै हैन, आध्यात्मिक चिन्तन र मनोसामाजिक परामर्श खोजेको छ । स्वतन्त्रता भनेको स्वच्छन्दता हुन सक्दैन । यी दुईबीचको फरक बुझाउने बेला आइसकेको छ ।

एक–आपसमा विश्वास नभएको सम्बन्धले जतिबेला पनि दुर्घटना निम्त्याउन सक्छ । अतः परिवारमा देखिएको यो समस्यालाई हिंसाको एउटा स्वरुपमा मात्रै लिनु मुर्खता हुन्छ । समाज साँच्चिकै बिग्रेको छ र सपार्न अभियान जरुरी छ । बढ््दो हिंसा, पारिवारिक बेमेल तथा क्रुरताको गहन अध्ययन गरि दीर्घकालीन समाधान निकाल्न ढिलाइ गर्न नहुने भएको छ । भौतिक विकाससँगै राज्यबाटै मानवीय मूल्य र मान्यता कायम राख्ने दिशामा पनि प्रयत्नहरुको थालनी गरिनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->