पोखरा-१६ को नालीले बगाएर एक बालकको मृत्यु भयो । स्ल्याब नराखेका कारण उनी भुक्किएर नालीमा परेका थिए । नालीमा स्ल्याब नराख्नु गम्भीर लापर्वाही हो । निर्माण कम्पनीको लापर्वाहीलाई कुनै पनि कोणबाट सही मान्न सकिँदैन । यो गम्भीर अपराध हो । निर्माण थाल्ने र अलपत्र पारेर छाड्ने प्रवृत्तिका कारण भएको यो घटनाको छानबिन हुनुपर्छ र दोषीमाथि कारवाही गरिनुपर्छ ।
यो घटनाले निर्माण क्षेत्रको विसंगतिलाई पुनः सतहमा ल्याएको छ । देशैभरका ठेकेदारहरुले यसरी नै काम सुरु गर्ने र जोखिमपूर्ण अवस्थामा अलपत्र छाड्ने गरिरहेका छन् । निर्माणको ठेक्का लिएको वर्षौंसम्म पनि काम तमाम नगर्ने र भाग्ने प्रवृत्ति डरलाग्दो छ । सरकारले त्यस्ता व्यवसायीहरुलाई कालोसूचीमा राख्ने गरे पनि उनीहरुले दण्ड पाएका छैनन् । राजनीतिक संरक्षणमा पुनः त्यही कम्पनीले काम पाउने भइरहेको छ । जसले गर्दा कमसल निर्माण,ढिलाइ र गम्भीर प्रकृतिका दुर्घटनाहरु हुने गरेका छन् । जबसम्म निर्माण कम्पनीहरुलाई जवाफदेही र कारवाहीको भागिदार बनाइन्न, यस्ता घटनाहरु दोहोरिरहन्छन् ।
अर्कोतर्फ, पोखरा अब हिजोको जस्तो छैन । यहाँका पुराना पानीढलोहरु मासिएका छन् । क्रंकिटको जंगल बनेसँगै पानीको परम्परागत बहावमा रोकावट उत्पन्न भएको छ । सानो वर्षा हुनासाथ सडक खोलामा परिणत हुने अवस्था आएको छ । पोखरा १६ दीपमा मात्र हैन, महेन्द्रपुलदेखि सिर्जनाचोकसम्म पनि त्यही समस्या देखिएको छ । सडकमा बग्ने पानीले मान्छे र सवारी साधन बगाएको छ । हिजो पोखरा सानो थियो, घरहरु धेरै थिएनन् । जमिनले पानी सोस्थ्यो तर अहिले त्यस्तो छैन । पानी सोस्ने जमिन मासिएको छ । पानीको परम्परागत बग्ने बाटो अवरुद्ध छ । जसले गर्दा सडकमा भल बढेको छ । हिजो बनाइएका नालाहरु साना भएका छन् । पानीको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गइरहेको छ । यतातर्फ महानगर र राज्यले ध्यान दिनैपर्छ । पानीको सही व्यवस्थापन गर्न नसके यसले अझ ठूलो विपत्ति निम्त्याउँछ भन्नेमा सचेत हुनुपर्छ । पोखरा १६ दीपमा भएको घटनाबाट पाठ सिक्नुपर्छ ।
