बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चार्जिङ स्टेसन निर्माणले दिएको सन्देश

चार्जिङ स्टेसन निर्माणले दिएको सन्देश


  • Dhorpatan News
  • भाद्र १५ २०७९, बुधबार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै बेला भनेका थिए,‘चार्जिङ स्टेसनहरु नै भविष्यका पेट्रोल पम्प हुन् ।’ पेट्रोल वा डिजेलबाट चल्ने गाडीहरुलाई विस्थापित गर्दै वातावरण मैत्री विद्युतीय गाडी संचालनको सपनासँग उनको भनाइ जोडिएको थियो । नेपालमा बढ्दो बिजुली उत्पादनको खपत देशभित्रै गराउनको लागि नि विद्युतीय सवारी साधनको प्रयोग अनि चार्जिङ स्टेसन आवश्यक रहेकोमा उनी स्पष्ट थिए ।

मंगलबार रत्नपार्कमा प्राधिकरणले निर्माण गरेको विद्युतीय चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा कुलमान प्रफुल्ल देखिन्थे । उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुषालले सो चार्जिङ स्टेसनको उद्घाटन गरिन । प्राधिकरणले देशका ५१ ठाउँमा चार्जिङ स्टेसन निर्माणाधीन रहेको जनाएको छ । विद्युत खपत बढाउन र हरित उर्जाको प्रयोग बढाउन यी चार्जिङ स्टेसनले सघाउने विश्वास लिइएको छ ।

विद्युतीय गाडी कसरी चार्ज हुन्छ भन्ने प्राविधिक विषय हो । तर, प्राधिकरणका अनुसार एउटा बसको प्रतिकिलोमिटर खर्च १ रुपैयाँ २० पैसामात्रै आउने भएकाले यो निश्चय पनि सस्तो हो । नेपालमा पछिल्लो समय जलविद्युतको उत्पादन बढ्दो छ । पिक आवरबाहेक अन्य समयमा उत्पादित बिजुली प्रयोग हुन सकेको छैन । यस्तोमा कम खर्चले हुने विद्युतीय गाडी प्रयोगले नेपाललाई धेरै कोणबाट फाइदा हुन्छ । एउटा,विद्युत खपत बढ्छ र अर्को इन्धनमा खर्चने पैसा देशभित्रै रहन्छ । वातावरणीय कुरा त छँदैछ । चार्जिङ स्टेसनहरु बन्दैछन् । नेपाल विद्युत प्राधिरकणले निजी आवास, कार्यालयहरु एवम् फर्म÷कम्पनी÷संस्थामा निजी चार्जिङ स्टेसन स्थापना गर्न अनुमति प्रक्रिया सुरु गरेको छ । विद्युत नियमन आयोगबाट तोकिएको विद्युत महसुलबाहेक अतिरिक्त सेवा शुल्क लिन नपाउने गरी स्वीकृत प्राप्त व्यक्ति÷संस्था÷कम्पनीको निजी घर कम्पाउण्डमा चार्जिङ स्टेसन स्थापना गर्न सक्ने प्रावधानले विद्युतीय गाडी प्रयोगलाई बढावा दिने आशा गर्न सकिन्छ ।

तर, यसका लागि विद्युतीय गाडीहरुको प्रयोग बढ्नु् आवश्यक देखिएको छ । नेपाल सरकारले एक समय विद्युतीय गाडीमा रहेको २४० प्रतिशत भन्सार २८ प्रतिशतमा झा¥यो । बैंकहरुले ८० प्रतिशतसम्म कर्जा दिने घोषणा गरे । तर, आर्थिक वर्ष २०७९÷८० को बजेटमा अन्तशुल्क र भन्सार दर बढाइयो । नेपालमा विद्युतीय गाडीको मूल्य ५० लाखभन्दा माथि छ । तर, इन्धनबाट चल्ने गाडीहरु सस्तोमा पाइन्छ । बढी नाफा लिँदा यस्तो भएको गुनासो अर्कोतिर छ । विद्युतीय गाडीमा आकर्षण बढाउने हो भने सबैभन्दा पहिला मूल्य सस्तो हुनुपर्छ ।।चार्जिङ स्टेसनको अभाव, नेपालका सडक,मूल्य तथा गाडीप्रतिको अविश्वास पनि कारक देखिएको छ । पेट्रोल वा डिजेल प्रयोग हुने गाडी पुनः बिक्री हुने तर विद्युतीय गाडीको हकमा त्यस्तो नहुने आम उपभोक्ताको बुझाइ छ । तर, समय फेरिएको छ । मित्रराष्ट्र भारतमा पनि राम्रा विद्युतीय गाडीहरु बनिरहेका छन् । ती गाडीहरुले पछिल्लो समय प्रविधिमा सुधार गरेका छन् । एकपटक चार्ज गरेपछि सयौं किलोमिटर चल्ने भएका छन् । चार्जिङ स्टेसन निर्माणले विद्युतीय गाडी चढ्दा दुःख पाइँदैन भन्ने सन्देश प्रवाह गरेको छ । मूल्य घटाउने र आम नागरिकमा यी गाडीप्रति आकर्षण बढाउने हो भने नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->