बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कहिलेसम्म पूजनीय बन्ने ?

कहिलेसम्म पूजनीय बन्ने ?


  • Dhorpatan News
  • भाद्र १९ २०७९, आइतबार

काठमाडौं बालेन साहका कारण तातेको छ । मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि देशैभर युवाहरुले आकांक्षा देखाएका छन् । तर, मुख्य दलका युवाहरु असुरक्षित देखिएका छन् ।कारण हो,पाका नेताहरुको पद लोलुपता । उनीहरु सुरक्षित हुँदासम्म प्रत्यक्ष र असुरक्षित देखिँदा समानुपातिकमा बस्ने दाउमा छन् ।

यसको मतलव अझै पनि उनीहरु सत्ता र शक्तिबाट विमुख हुन चाहँदैनन् । आफू युवा छँदै पद प्राप्ति गरेको सत्य बिर्सेर अझै सत्तामा ¥याल काढिरहेका छन् । विशेष वर्गको लागि छुट्याइएको समानुपातिकमा यी बूढा नेता आउँदा संविधानकै बर्खिलाप हुन्छ भन्नेतर्फ पनि ध्यान दिइएको छैन । यसले सत्ताप्रतिको उनीहरुको चरम लोभमात्र प्रदर्शन भएको छैन, नेपालको भविष्य अन्यौलपूर्ण छ कि भन्ने सन्देश पनि प्रवाह गरेको छ । संस्कृतमा एउटा श्लोक छ । श्लोकमा भनिएको छ–अपूज्या यत्र पूज्यन्ते, पूज्यानामवमानता ।
त्रीणि तत्र प्रवर्तन्ते दुर्भिक्षं मरणम भयम् ।

यसको अर्थ हुन्छ,‘जहाँ अपूज्य व्यक्ति पुजिन्छन् र पूज्य व्यक्तिहरुको अपमान हुन्छ, त्यहाँ अनिकाल, मृत्यु र डर यी ३ कुरा उत्पन्न हुन्छन् । नेपालको सन्दर्भमा अहिले पनि सदियौं अघि लेखिएको स्लोक असान्दर्भिक बनेको छैन । किनकि, यहाँ जसलाई पुजिएको छ÷ जोबाट बढी आशा गरिएको छ, उनीहरु नै कालान्तरमा पतित् बनेका छन् । उनीहरुबाटै विश्वासघात भएको छ । र, उनीहरुकै कारण समस्याहरु सृजना भएका छन् । नेपालको राजनीतिमा त झन यो प्रष्टैसँग देखिन थालेको छ ।

पृथ्वीनारायण शाहको पालादेखिको नेपाली इतिहास हेर्दा यहाँ थोरै मात्रले आफूलाई पुजिने ल्याकतमा उभ्याएका छन् । राणा शासनको समग्र कालखण्डमा सुधारका कार्यक्रमले तत्कालीन शासकबाट आलोचित बने पनि देव समसेरले त्यो ल्याकत राखिदिए । सती प्रथा उन्मूलन अनि त्रिचन्द्र कलेजको स्थापनाबाट चन्द्र समसेरले आफूसँग अलिकति पुज्नैपर्ने गुण रहेको प्रमाणित गरेकै हुन् । राजाहरु सबैलाई देवता नै मानिए पनि तीमध्ये केही मात्र अहिले पनि पुजनीय भइरहेका छन् । जनता आफैले भोट दिएर पूज्य बनाएकाहरुमध्ये हालसम्म केहीले मात्र आफू सही भएको प्रमाणित गरेका छन् । ती पनि लामो कालखण्ड सत्तामा बस्न नपाएका र बस्ने अवसर नै नपाएका छन् । उदाहरणको लागि प्रधानमन्त्रीको रुपमा विपी कोइराला र मनोमोहन अधिकारी लामो समय सत्तामा बस्न पाएनन् ।

अपजसबाट मुक्त नभए पनि सादगीका कारण कृष्णप्रसाद भट्टराई र सुशील कोइराला आँखाबाट गिरेनन् । मदन भण्डारीजस्ता लोकप्रिय नेता चाहिँ सत्ताको परीक्षणमा नै परेनन् । यसबाहेक जनताको तर्फबाट सर्वोच्च पदमा पुगेकाहरुले कार्यकाल औषत नै रह्यो । सरकारी स्रोत, साधन र शक्ति उपयोगमा अब्बल सावित भए पनि पूज्य हुन उनीहरु असमर्थ भए÷ बनाइए । इतिहासले सबैलाई पूज्य बनाउँदैन । जनताबाट अनुमोदित हुनुपर्ने ठाउँमा त्यस्तो अवसर पटक–पटक दोहोरिँदैन । जनताको आँखाबाट गिरेपछि पुनः त्यो ठाउँमा पुग्न असाध्यै गाह्रो हुन्छ र धेरै हदसम्म असम्भव नै हुन्छ । सम्भव त, त्यतिबेला हुन्छ, जब ऊप्रति आम नागरिकको भरोसा रहन्छ । सत्तामा हुँदा त्यो व्यक्तिले जनतालाई डर, भोक र रोगबाट मुक्त गरेको हुन्छ ।

जनतालाई आश्वस्त पार्न नसक्ने शासकले आफूलाई जति राम्रो सम्झे पनि त्यो जनअनुमोदित हुन सक्दैन । भला, शक्तिको अगाडि आलोचनाका स्वरहरु सुनिँदैनन् । सत्तामा हुनेहरुले आलोचनाबाट सिक्नुपर्छ । आलोचनाबाट सिक्नेहरु पूज्य हुने बाटोमा लाग्छन् तर आलोचनालाई निषेध गर्नेहरु कालान्तरमा सबैभन्दा अलोकप्रिय हुन्छन् । यो कुरा वर्षौंसम्म सत्तामा बसेका र लाभ लिएका नेताहरुले बुझ्दा उत्तम हुन्छ । अन्यथा, उनीहरुमात्रै हैन, उनीहरुले नेतृत्व गरेको पार्टी पनि डुब्ने सम्भावना बढ्दै जान्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->