नेपालले निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष र समानुपातिक रुपले संघीय र प्रदेश संसदका प्रतिनिधि चयन हुन्छन् । दलित, उत्पीडित, महिलाहरुको प्रतिनिधित्वको लागि नै समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीले देशलाई नै एउटा निर्वाचन क्षेत्र मानेको छ भने संघीय संसदको २७५ मध्ये ११० सिटमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने व्यवस्था गरिएको छ । प्रदेश सभाको हकमा देशभरबाट २२० सिटमा समानुपातिक प्रतिनिधित्व हुन्छ ।
समानुपातिकका लागि दलहरुले पहिल्यै बन्द सूची पठाएका हुन्छन् भने दलले प्राप्त गर्ने मतको आधारमा प्राथमिकताका साथ बन्द सूचीबाट सांसद छानिन्छन् । नेपालको संविधानले गरेको समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थामात्र गरेको छैन, महिलाहरु ३३ प्रतिशत हुनैपर्ने बाध्यकारी व्यवस्था पनि राखिएको छ । कानून निर्माण गर्ने सर्वोच्च संस्थालाई सबैको प्रतिनिधित्व हुने खालको बनाउन यो व्यवस्था राखिएको हो ।
समानुपाति प्रणालीले इन्द्रेणी संसदको परिकल्पना गरेको हुन्छ । तर, पछिल्लो समय यसमा विकृति देखिएको छ । राजनीतिक दलहरुले यो प्रणालीलाई आफन्त च्याप्ने, प्रत्यक्ष निर्वाचन प्रणालीमा जान हिच्किचाउने नेताहरुलाई संरक्षण गर्ने कार्यमा प्रयोग गरिरहेका छन् । समानुपातिकको विकृत प्रयोग कतिसम्म अगाडि बढेको छ भने प्रभावशाली नेताले श्रीमतीलाई सांसद बनाउने काम गरेका छन् । लोकतन्त्र र समानुपातिकै हुर्मत लिने कार्य भएको छ । आउँदो मंसिर ४ गतेको लागि संघीय र प्रादेशिक निर्वाचन मिति तय भएको छ । सबैजसो राजनीतिक दलहरु उम्मेदवार छान्ने प्रक्रियामा छन् ।
दलहरुले संकलन गरेका प्रारम्भिक नाम र समानुपातिकमा आकांक्षीहरुको सूची हेर्दा,पुरानै प्रवृत्ति दोहोरिने देखिएको छ । प्रत्यक्ष निर्वाचनको सामना गर्न नसक्ने वा पराजित भएकाहरु, नेताका आफन्तहरुले समानुपातिकमा चासो देखाएका छन् । समानुपातिकको विकृत प्रयोग गर्ने तानाबाना बुनिरहेका छन् । जसको लागि समानुपातिकको व्यवस्था गरिएको हो,उसैले अवसर नपाउने अवस्था निर्माण गरिएको छ । समानुपातिक प्रणालीको हुर्मत लिने काम भएको छ । समानुपातिक प्रणाली नराम्रो हैन तर यसको आडमा भित्र्याइएको विकृतिको अन्त्य हुनैपर्छ । आउँदो चुनावमा समानुपातिकको सही प्रयोग गरिनुपर्छ । मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो र नातागोताको मात्रै सुरक्षा हेर्न छाड्नुपर्छ । विकृत प्रयोगले असन्तुष्टि बढाउँछ, व्यवस्थाप्रतिको आस्था डग्मगाउँछ र अन्ततःराष्ट्रोन्नतिमा बाधा पु¥याउँछ ।
