गण्डकीसहित देशका ७५ वटा जिल्लामा डेंगु फैलिएको पुष्टि भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर डेंगुबाट संक्रमित हुनेको संख्या ६ हजार ७०७ रहेको छ भने संकमण दिनानुदिन बढिरहेको छ । ३ वर्षअघि पनि नेपालमा यसरी नै डेंगु फैलिएको थियो भने ६ जनाले ज्यान गुमाएका थिए ।
एडिस जातको पोथी लामखुट्टको टोकाइबाट लाग्ने डेंगुबाट गण्डकीमा १२८ जना संक्रमित भएका छन् । असोजको अन्त्यसम्म पनि डेंगु फैलने भएकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइ कायम गर्न विज्ञहरुले सुझाएका छन् । डेंगु सरुवा रोग हैन । यो एक प्रकारको भाइरल ज्वरो नै हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।डेंगुबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो तर संक्रमण भइहालेमा चिकित्सकको निगरानीमा बस्नुपर्छ ।
मनलाग्दी औषधि सेवन झन खतरनाक हुन्छ । एण्टिबायोटिकको प्रयोग पनि घातक हुनसक्छ । डेंगुको औषधि बनेको छैन । डेंगु विश्वकै लागि चुनौती बनेर खडा भइरहँदा सचेततालाई नै विशेष जोड दिइनुपर्छ । डेंगुको संक्रमणबाट बचाउनको लागि सरकारले विशेष कार्यक्रम संचालनमा जोड दिनुपर्छ । सामान्य ज्वरो र डेंगुबीचको फरकबारे आम नागरिकलाई जानकार बनाउनुपर्छ । डेंगुको परीक्षण गराउने र डाक्टरको निगरानीमा बस्न पाउने व्यवस्था गरिनुपर्छ ।
पानी जम्ने र फोहर बढी भएको ठाउँमा लामखुट्टेको बास हुन्छ । सीमान्तकृत वर्गहरुको बासस्थान वरपर यस्ता ठाउँहरु बढी हुन्छन् । उनीहरुले डेंगुबाट बच्ने उपाय थाहा नपाउने र कतिपय अवस्थामा झुलजस्ता अत्यावश्यक सामग्रीको अभाव पनि हुनसक्छ । यी यावत् समस्याबारे सरकारको ध्यान जानुपर्छ । संक्रमण बढ्दै जाँदा हुनसक्ने सम्भावित क्षतिको आँकलन गर्दै नियन्त्रणको प्रभावकारी कदम चालिनुपर्छ ।
