हरेक वर्षको वर्षा याममा बागलुङका अधिकांश ग्रामिण बस्तीहरु बाढी र पहिरोको जोखिम झेलीरहेका हुन्छन् । पछिल्लो दश वर्षा यता भदौ महिनामा हुने अधिक वर्षाको समयमा बागलुङका ग्रामिण क्षेत्रमा बाढी पहिरोको प्रभाव बढी देखिन्छ । तीन वर्ष पहिला ३७ जनाको ज्यान जानेगरी ढोरपाटन नगरपालिकाको बोबाङमा गएको बाढीपहिरो होस् वा जैमिनी नगरपालिकाको कुश्मीशेरामा बस्तिनै उठ्नेगरी आएका पहिरोहरु किन नहुन् । निसीखोलाको हुल्दी, बडिगाड गाउँपालिकाको ग्वालीचौर, काठेखोला गाउँपालिकाको भीमापोखरा र तंग्राममा झरेका पहिरा, बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा झरेका पहिरा पछिल्ला तीन वर्षमा जनधनको ठुलो क्षति गरेका उदाहरणहरु हुन् । पहिराका कारण बस्तीहरु विस्थापित भैरहेका छन्, परिवारहरु उजाडिएका छन् तर हरेक वर्ष जोखिमको मुल्यांकन र पूर्वतयारी भैरहेका भएपनि त्यसको प्रभावकारितामा प्रश्नहरु छन् ।
पहिरो जानु प्राकृतिक बिपत्ति हो । बाढी आउनु पनि प्रकृतिकै कुरा भयो । सधैं आउने खोला, खहरेहरुमा आजभोली बाढी आउँदैन् । कल्पना नै नगरेको ठाउँबाट बाढी उर्लेर आउँछ, बस्ती पस्छ, घरबास बडार्छ । पहिले पहिले पहिरोको जोखिम कमछ भनेर भिरालो जमिनमा बनेका संरचनाहरुमा पनि आजभोली पहिरोका कारण क्षति पुग्ने गरेको छ । पहिरोले घरबास मात्रै उठाएको छैन् । बाढीसँगै आउने पहिरोहरुका कारण खोलानालाका तटीय क्षेत्रमा रहेको हजारौं रोपनी जमिन बगरमा परिणत बनाएका घटनाहरु आजभोली दिनानुदिन अखबारमा पढ्न पाईन्छ । पछिल्लो पटक बाढीपहिरोका कारण गलकोटमा बगरमा परिणत भएको सयौं रोपनी खेतीयोग्य जमिन होस वा बागलुङ नगरपालिका–११ रायडाँडामा बस्तिनै जोखिममा पर्नेगरी सुरु भएको पहिरो किन नहोस् यी वर्तमान समस्याका ज्वलन्त उदाहरण हुन् ।
बाढीपहिरोका कारण सिर्जना भएका समस्या हामी सबैका समस्या हुन् । प्राकृतिक बिपत्ति भएकाले बाढिपहिरोको समस्या हामीले तत्काल समाधान गर्न सकिने बिषय होईन् । तर अप्राकृतिक हिसाबले सिर्जना भैरहेको समस्याका बिषयमा भने कोही कसैले खोजी गरेको पाईंदैन् । कल्पना नै नगरेको ठाउँमा पहिरो किन हिँडिरहेको छ ? खोला र खहरेभन्दा फरक धार बनाएर बाढी किन आउँछ ? पानीले आफ्नो बाटो किन बिर्सियो ? या हामीले पानीको बाटो बिर्सायौं ? यी खोजीका बिषय हुन् । पछिल्लो पटक मानव जातीले प्रकृतिमा नै निर्माण गरिरहेका संरचना बाधक त भैरहेका छैनन् । हामीले माटोको अबस्थानै नबुझी जर्बजस्ती खनेका सडक, खोलाको बग्ने क्षेत्र मिचेर बनाएका संरचना, पानी ढलोमा हामीले गरिरहेको अतिक्रमणका कारण त यस्ता समस्या आईरहेका छैनन् ? यी प्रश्नहरुको खोजी कस्ले गर्ने । सर्वसाधारणले जोखिम कम गर्न अपनाउनुपर्ने सावधानिको बिषयमा चासो राख्ने, राज्यका सरोकारवाला निकायले प्रकृतिले सिर्जना गरेको बिपत्को बिषयमा मानवीय क्रियाकलापको प्रभाव रहे नरहेको बिषयमा खोजी गर्ने र प्रकृतिमैत्री दिगो विकासका लागि पहल गर्ने की ? प्रकृतिलाई जोगाउने र प्रयोग गर्ने बिषयमा सबै सजग र सचेत हुन जरुरी छ, ताँकी हामीले नै गरेको कर्मले हामीलाई नै नलखेटोस् ।
