चिकित्सा क्षेत्र सुधारका मागसहित पटक–पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले पुनः अनसन सुरु गरेका छन् । धनगढीमा ६ बुँदे मागसहित उनको २० औं पटकको सत्याग्रह सुरु भएसँगै शिक्षा र स्वास्थ्य क्षेत्रका विसंगतिबारे चर्चा सुरु भएको छ ।
केसीले क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालमा तत्काल दरबन्दी बढाउन,अस्पतालहरुको स्तरोन्नति,आधारभूत आधारभूत सेवा निःशुल्क गर्नुपर्ने,स्वास्थ्य क्षेत्रलाई बढी बजेट छुट्टयाउनुपर्ने,गेटा मेडिकल कलेज संचालनमा ल्याउनुपर्ने,यसअघि सम्झौता गरिएका इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउनुपर्ने,भागबण्डाको आधारमा प्रतिष्ठानका कुलपति र उपकुलपति नियुक्ति रोक्नुपर्नेलगायतका माग अघि सारेका छन् । चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैरनाफामूलक बनाउने मागलाई उनले प्रमुखतासाथ उठाएका छन् । शिक्षा र स्वास्थ्यबाहेक उनले जलवायू परिवर्तनको समस्या निराकरणको लागि विद्युतीय गाडी प्रयोगलाई प्राथमिकता दिन मागसमेत गरेका छन् ।
डाक्टर केसी सामाजिक अभियन्ता हुन् । उनले आफ्नोभन्दा पनि जनताको स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर सत्याग्रह गर्दै आइरहेका छन् । उनले उठाएका कतिपय मागहरु अमूक राजनीतिक पार्टीविरुद्धको अभियानको रुपमा अथ्र्याउने गरिए पनि ती माग संवोधनबाट नागरिकले नै सुविधा पाउने निश्चित छ । नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको नैसर्गिक अधिकारको रुपमा स्थापित गरेको छ । समाजवादी राज्य व्यवस्थाको कल्पना गरिएको देशमा यी सेवाहरु निःशुल्क हुनैपर्छ । तर, शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी व्यापारीकरण गरिएको छ । सामान्य गरीबको छोराले चिकित्सा शास्त्र वा अरु राम्रा विषय अध्ययन गर्छु भन्ने अवस्था छैन । नेताहरुले जति चिप्ला र मीठा कुरा गरे पनि उनीहरु स्वार्थ समूहको गोटी बनेको घामजत्तिकै छर्लङ्ग छ ।
डा.केसीले पटक–पटक उठाउँदै आएका मागहरु संवोधन गर्दा कसैको केही बिग्रदैन । ती माग पूरा गर्न नसकिने खालका पनि छैनन् । बरु, जनता लाभान्वित बन्छन् । अतः सत्याग्रहको सुरुवातमै उनको माग संवोधनप्रति राज्यको ध्यान जाओस् । एउटा व्यक्ति पटक–पटक अनसन बस्नुपर्ने नियतिबाट मुक्ति दिलाउन सामूहिक प्रयत्नको थालनी गरियोस् । आफ्ना मागहरु पूरा गराउन पटक–पटक सत्याग्रहजस्तो अस्त्र चलाउनेबारे केसीले पनि विचार पु¥याउन् । उनले अल्टिमेटम दिएर नै सत्याग्रह थालेका हुन् तर सत्याग्रहलाई सस्तो नबनाइयोस् र उनी स्वयंबाट पनि जीवनमाथि खेलबाड नहोस् ।
