बागलुङ ११, रामतोलामा डाँडो नै खसेपछि ७ परिवार विस्थापित भएका छन् ।पहिरोले रामतोलाको बस्ती पुरेको छ । घरहरु पुरिएका छन्, खेतबारीमा लगाइएको बाली नष्ट गरिदिएको छ । बिस्थापितहरु अर्काको घरमा बसेका छन् । उनीहरुलाई नगरपालिकाले खाद्यान्न सहयोग गरेको जानकारी दिएको छ छ ।बिस्थापितलाई कहाँ पुनस्र्थापना गर्ने र क्षतिपूर्तिबारे केही निर्णय भएको छैन ।
बर्खा नसकिएकाले थप क्षति हुनसक्ने सम्भावना देखिएको छ । नागरिकहरु बिचल्लीमा पर्नु हुँदैन । नगरपालिकाको पहिलो कर्तव्य नागरिकको सुरक्षा र पुनस्र्थापना नै हो । यता, पहिरो किन गयो भन्नेबारे नगरपालिकाले अनुसन्धान सुरु गरेको छ । गाउँ माथि रहेको पानी ट्याङ्की रसाउँदा र जथाभावी खनिएको बाटो नै पहिरोको कारण भएको गाउँलेहरुको आँकलन छ ।
रामतोलामा मात्र हैन, देशभर जथाभावी खनिएका बाटाहरु पहिरोका कारक बनेका छन् । सिंगो गाउँ,डाँडा र बस्तीहरु पहिरोको चपेटामा परेका छन् । विकासको नाममा प्रकृतिमाथि गरिएको दोहनको मूल्य मँहगो हुँदोरहेछ भन्ने ती पहिरोहरुले प्रमाणित गरिदिएका छन् । विकास चाहिन्छ तर योजना बन्नुअघि वातावरणीय मूल्याङ्कन गर्नु जरुरी हुन्छ । वातावरणीय मूल्याङ्कन बिना डोजर अगाडि लगाएर हिँड्ने परिपाटीको अन्त्य हुनैपर्छ । बाटोको ट्रयाक खोल्नुअघि भूगोलको अध्ययन गरिनुपर्छ । कमजोर भू–धरातल भएका ठाउँहरुलाई चलाउनु हुँदैन ।
अहिले नेपालभर नै बस्तीमा बाटो पु¥याउन डाँडा कोतर्ने अनि त्यहाँबाट निस्केको माटोको व्यवस्थापन नगर्ने प्रवृत्ति देखिएको छ । बाटो बनाउँदा पानी ढलोहरु मासिन्छन् । प्राकृतिक रुपले छिरलिएर बग्ने पानी एकत्रित हुनपुग्छ । त्यसले विपत्ति निम्त्याउँछ । योजनाकार र जनप्रतिनिधिहरुले नबुझ्ने र नचेत्ने हो भने यो प्रवृत्तिले आउँदा दिनमा अझ ठूलो मानवीय र आर्थिक क्षति निम्त्याउँछ । अतः बस्ती नै जोखिममा पर्नेगरि बाटो नखनौँ । प्राकृतिक विपत्ति निम्त्याउने कृत्यहरु अन्त्य गरौँ । विपत्ति निम्त्याउने विकास रोकौँ ।
