बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

श्राद्धको तिथीमा विद्यालयलाई एक लाख सहयोग

श्राद्धको तिथीमा विद्यालयलाई एक लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७९, शुक्रबार

पर्वत, ३१ भदौ– जिल्लाको कुश्मा नगरपालिका–१ पाङका एक व्यक्तिले आफ्नो हजुरबुबा र दाजुको श्राद्धको तिथिको अवसरमा विद्यालयलाई एक लाख भन्दा बढी सहयोग गरेका छन् ।
रोजगारीको सिलसिलामा हाल पोर्चुगलमा रहेका रामचन्द्र रिजालले आफ्ना स्वर्गीय हजुरबुबा ज्योतिष शिरोमणि रमाकान्त रिजाल र ठूला दाजु स्वर्गीय हेम शर्मा (बलराम) रिजालको सम्झनामा एक लाख ११ हजार एक सय ११ रुपैयाँ स्थानीय पाङ धैरेनी माध्यमिक विद्यालयमा सहयोग गरेका हुन् ।
विद्यालयका शिक्षक जयराम सुवेदीका अनुसार रामचन्द्रका दाजु र सन्तानले सोही विद्यालयमा अध्ययन गरेका थिए । आफ्नो परिवारका सदस्यहरूले अध्ययन गरेको विद्यालयले शैक्षिक गुणस्तरका लागि राम्रो प्रयास गर्नु र विद्यालयलाई अब्बल बनाउन सिंगो बस्तीले नै अभियान चलाइरहेको अवसर पारेर विद्यालयको कल्याणकारी कोषमा उक्त रकम सहयोग गरेको रामचन्द्रले बताए ।
‘स्वर्गीय हजुर बुवाको ज्योतिष र ज्योतिषीय कार्यको देश तथा विदेशमा समेत चर्चा हुने, उहाँले गरेका कार्यहरूले ज्योतिषको ज्योति फैलिएको कार्यबाट प्रेरित भई आफू वैदेशिक रोजगारीमा पोर्चुगल रहे पनि स्थानीय तथा जन्म स्थानमा केही गरौँ भन्ने भावनाले विद्यालयमा सहयोग गरेको हुँ,’ उनले भने, ‘आफ्नै गाउँको विद्यालयले शैक्षिक गुणस्तरका लागि गरिरहेको प्रयासमा समर्थन दिन पाउँदा खुसी लागेको छ ।’
यसअघि भतिजा शालिक राम रिजालको विवाह र छोरा बसुनन्दन रिजालको व्रतबन्ध तथा जन्मोत्सवको अवसरमा पनि रामचन्द्रले विद्यालयलाई आर्थिक सहयोग गरेका थिए ।
रामचन्द्रले विद्यालयलाई सहयोग गरेपछि विद्यालयले त्यसैलाई आधार मानेर विद्यालयले कल्याणकारी कोष निर्माणको अभियान सुरु गरेको थियो । स्थानीयवासीले आफ्नै गाउँको विद्यालयमा प्राविधिक धारको अध्यापन हुनुपर्ने इच्छा राखेको भए पनि विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण प्राविधिक धारतर्फका विषयको अध्यापन हुन नसकेको विद्यालयका प्रधानाध्यापक गुणराज पौड्यालले बताए । उक्त कोषमा अहिलेसम्म आठ लाख ६५ हजार रुपैयाँ संकलन भइसकेको छ ।
‘विद्यालयको आर्थिक अवस्था कमजोर भएकोले जसले जति सकिन्छ उसले उति आर्थिक सहयोग गरेर स्थानीय ठाउँमै उच्च शिक्षा तथा प्राविधिक शिक्षा प्रदान गर्ने वातावरण बनाउन सकिन्छ कि भनेर अभियान चलिरहेको छ,’ प्रधानाध्यापक पौड्यालले भने, ‘गाउँमा श्राद्ध पर्दादेखि विवाह, जन्मोत्सव, जन्मदिन लगायतको अवसर पारेर पनि विद्यालयलाई सहयोग गर्नेहरू हुनुहुन्छ । गाउँको विद्यालय बनाउन गाउँवासीको सहयोगले हामीलाई ऊर्जा मिलेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->