२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले श्रद्धापूर्वक ढोगेको संविधान कार्यान्वनयमा आएको ७ वर्ष पूरा भएको छ । संविधान सभाले लामो विमर्श र सहमतिपछि जारी भएको संविधान अनुसार नै आवधिक निर्वाचनहरु सम्पन्न भएका छन् । २ पटकको स्थानीय तथा दोस्रो पटक संघी र प्रादेशिक निर्वाचनको तयारीले संविधान कार्यान्वनयमा आएको प्रमाणित गरेको छ । संविधानले कल्पना गरेको संघीय संरचनाको जराहरु तल्लोस्तरसम्म पुगेका छन् । भला, गरेको संविधान जारी हुँदादेखिको असन्तुष्टि पूर्ण निस्तेज भएको छैन तर संविधानको सर्वस्वीकार्यताप्रति कुनै द्धिविधा देखिएको छैन ।
नेपालको संविधान २०७२ ले गणतन्त्रलाई संस्थागत गरेको त छ नै,सुधारिएको संसदीय प्रणाली, लोकल्याणकारी राज्यव्यवस्था तथा शक्ति पृथकीकरणलाई शिरोधार्य गरेको छ । धर्म निरपेक्षता,मौलिक हकको वृहत व्यवस्था,महिला,दलित तथा पिछडिएकालाई आरक्षणजस्ता विषयहरु समावेश गरिएकाले यो संविधानका विशेषता हुन् । संविधान लचिलो बनाइएको छ । संसदको दुई तिहाइबाट संविधान परिवर्तन गर्न सकिने छ भने निर्वाचित प्रधानमन्त्रीविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने प्रावधान राखेर स्थिरताको प्रत्याभूति पनि गराइएको छ ।
नेपालको संविधान २०७२ लामो त्याग र बलीदानबाट सम्भव भएको हो । संविधान प्राप्तिपछि नै जनताका छोरी÷छोरा राष्ट्रपति बन्ने अवस्था सिर्जना भएको हो । जनप्रतिनिधिमार्फत् बनेको संविधान क्रान्ति र शान्तिको दस्तावेज हो । यो दस्तावेज हो । समावेशी लोकतन्त्र र समाजवादउन्मुख राज्य व्यवस्थासहित भाग २७,धारा ३०२ र अनुसूची ९ रहेको संविधानले स्पष्ट रुपमा शक्ति पृथकीकरणको सिद्धान्त अवलम्वन गरेको छ । तर, संविधान कार्यान्वयनकै क्रममा कार्यपालिकाले यसका अधिकार क्षेत्रमाथि धावा बोल्ने काम ग¥यो । संविधानको मर्म र भावना बिर्सेर २ पटकसम्म सदन विघटनको प्रयास गरियो ।
न्यायपालिका र व्यवस्थापिकाको अधिकार क्षेत्रमाथि अनावश्यक हस्तक्षेप भयो भने संविधानले नै व्यवस्था गरेका कतिपय आयोगहरु निर्माणमा विवेक पु¥याइएन ।नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचको हतियार बनाइयो । जसले गर्दा संविधानप्रति आशंका उत्पन्न गराउने काम भयो । कार्यपालिकाले गरेका यी र यस्ता गतिविधिहरुले संविधानको मर्म र भावनामाथि खेलवाड गरेका छन् ।
आउँदा दिनमा यस्ता प्रवृत्तिहरु रोकिनुपर्छ । संविधान आफैमा अपरिवर्तनीय छैन र समायनुकूल यसमा परिवर्तन सम्भव छ । तर, यो कार्य संविधानले निर्दिष्ट गरेका लक्ष्यहरुतर्फ ध्यान नदिने र मिच्ने प्रवृत्तिबाट फत्ते गरिनुहुँदैन । संविधान साध्य हैन, साधन हो भन्ने कुरा राजनीतिक नेतृत्वले मनन गर्दामात्र संविधानको रक्षा हुन्छ । यसो भनिरहँदा यसको सर्वस्वीकार्यताबारे पनि मनन गर्नुपर्छ । संविधान दिवसले सबैमा यही सद्बुद्धि देओस् । शुभकामना ।
