बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एलिजाबेथ द्धितीयाप्रति श्रद्धासुमन !

एलिजाबेथ द्धितीयाप्रति श्रद्धासुमन !


  • Dhorpatan News
  • असोज ४ २०७९, मंगलबार

बेलायती महारानी एलिजाबेथ द्धितीयाको अन्येष्टि गरिएको छ । उनको अत्येष्टिमा लाखौं बेलायतीले आँसु बगाए, श्रद्धाञ्जली अर्पण गरे । विश्वका राजनेताहरुको उपस्थितिमा भएको उनको अत्येष्टिसँगै एउटा युगको अन्त्य भएको छ । २७ वर्षको उमेरमा बेलायतको राजगद्धीमा बसेकी एलिजाबेथ द्धितीयाको निधनबाट विश्वले एक सुझबुझपूर्ण,आत्मविश्वासी र कर्तव्यनिष्ठ रानी गुमाएको छ । ९६ वर्षको दीर्घजीवनका ७० वर्ष उनले रानीको रुपमा बिताइन् । कठीन परिस्थितिको सामना गरिन् र विश्वभर राजसंस्थाहरु ढरिरहँदा पनि आफूलाई त्यत्तिकै सर्वस्वीकार्य र लोकप्रिय व्यक्तित्वमा दर्ज गर्न सक्षम भइन् । यो उनको जीवनको सबैभन्दा ठूलो उपलब्धी र उनीप्रतिको सम्मान हो । सन् १९५३ मा राजमुकुट पहिरिँदा एलिजाबेथमाथि ठूलो दायित्व थियो । विश्वयुद्धपछिको बदलिँदो विश्वमाझ बेलायती शान कायम राख्नु सजिलो थिएन ।

युद्धको विभिषिकाबाट त्रस्त नागरिकहरुलाई खुसी दिलाउनु उनको अर्को दायित्व थियो । बेलायती राजाले केही गर्दैनन् तर अभिभावकको भूमिका निभाउँछन् भन्ने मान्यता हुँदाहुँदै पनि नेतृत्व कौशलताले उनी श्रद्धेय बन्न सकिन् । बेलायत अधिनस्थ राज्यहरुले गणतन्त्र घोषणा गर्नेदेखि बुहारी डायनाको निधन अनि नाति ह्यारीको गणतन्त्रवादी सोचसम्मका घटनाक्रमहरुलाई सहजतापूर्वक ग्रहण गरिन् । त्यसलाई पार लगाइन् । कमनवेल्थ प्रमुख,बेलायती सेनाको सर्वोच्च कमाण्डरसहितका ६ सयवटा च्यारिटीकी प्रमुख २ पटक नेपाल आएकी थिइन् । बेलायती सेनाको एउटा भाग मानिने गोर्खा सैनिकको प्रमुखसमेत रहेकी उनी नेपाल र नेपालीकी सच्चा मित्र थिइन् । ब्रिटिस गोर्खा सैनिकप्रति उनले दर्शाएको प्रेम र विश्वास पनि स्मरणीय छ । सोही कारणले उनको अन्तिम शवयात्रामा गोर्खा सैनिकले पनि सहभागिता जनाएको छ । यसो भनिरहँदा, गोर्खा सैनिकमाथिको विभेद फरक विषय हो तर विश्वास ठूलो कुरा हो ।

नेपालको सन्दर्भमा उनी धेरै कोणबाट स्मरणीय छन् । राजाको निम्तोमा २ पटक नेपाल आएर उनले बेलायतीहरु र विश्व पर्यटन उद्योगमाझ नेपाललाई चिनाउने काम गरिन् । त्यसको ब्याज हामीले खाइरहेका छौँ । उनी गोरखा सैनिक स्थापनाको २ सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी भइन् । गोर्खा सैनिकप्रति श्रद्धा व्यक्त गरिन् । बेलायतले नेपाललाई दिँदै आएको सहयोगमा उनको सद्भाव मिसिएको छ भन्दा अत्युक्ति नहोला ।

उनी र बेलायती राजसंस्थासँग जोडिएको अर्को विषय हो– बेलायतमा सबैभन्दा लामो समय शासन गरेकी एलिजाबेथको निधन अगावै नेपालमा राजसंस्था विलय हुनपुग्यो । राजा शासन हैन, सेवक र अभिभावक हुनुपर्छ भन्ने मान्यता भुल्दा नेपालमा राजसंस्था विलय भयो । बेलायतमा भने राजसंस्थाले त्यसको विपरीत व्यवहार ग¥यो । जसका कारण एकपटक गणतन्त्रमा गइसकेको बेलायतमा राजसंस्था सर्वमान्य र एकताको प्रतिक बन्नपुग्यो । महारानी एलिजाबेथ सनकी,लहडी र निरंकुश थिइनन् । त्यसैले सबैको प्रिय रहिन् । उनको शालिनताले नै सहजै रुपमा बेलायतीले नयाँ राजालाई स्वीकारे । निधनमा शोक व्यक्त गरे । नेपालमा राजतन्त्र इतिहास बनिरहँदा निधन भएकी बेलायती महारानीलाई हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->