राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लङ्घन गरेकी छन् । नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रोपटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणिकरण गर्नैपर्ने बाध्यकारी व्यवस्था रहेको छ । संविधानको धारा ११३ को उपधारा (४)मा ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’,भनिएको छ । नाागरिकता विधेयक विवादित थियो । राष्ट्रपतिले यसअघि सो विधेयकलाई संसदमा फिर्ता पठाएकी थिइन् ।
तर,संसदले त्यसम परिमार्जन जरुरी ठानेन र पुनः प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठायो । विधेयकमा त्रुटि छ भन्दै औंल्याउनु स्वभाविक हो । विधेयकलाई सर्वस्वीकार्य बनाएको भए राम्रै हुन्थ्यो । त्यसो नगर्नु सत्ता गठबन्धनको गल्ति थियो । अघिल्लोपटक राष्ट्रपतिलाई विधेयक फिर्ता पठाउने अधिकार थियो तर दोस्रोपटक भने उनले ज्यादति नै गरिन् । राष्ट्रपतिसँग संविधानले निर्दिष्ट गरेबाहेकका गतिविधि गर्ने अधिकार रहँदैन । असन्तुष्टिलाई मनभित्रै राख्नुपर्छ । संविधानको संरक्षक हुँ भने महशुस गर्नुपर्छ । राष्ट्रपतिबाट संविधान संरक्षकको भूमिका निर्वाह भएन । उनले सार्वभौम संसदभन्दा आफूलाई माथि ठानिन् । संविधानको ठाडो उल्लङ्घन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिइन ।
राष्ट्रपतिको कदमको सत्ता गठबन्धनले कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रपतिबाट संविधान उल्लङ्घन भएको गठबन्धनको ठम्याइ छ । सत्ता गठबन्धनको विज्ञप्तिसँगै देश पुनः राजनीतिक ध्रुवीकरणतर्फ उन्मुख भएको छ । एकातिर संविधानको उल्लङ्घन भएको छ भने अर्को पक्षले यही मुद्दामा अडेर राष्ट्रवादी छवि निर्माणको प्रयास गर्ने सम्भावना बढेर गएको छ । गैरनेपालीले नागरिकता पाउनु हुँदैन तर नेपाली नागरिकहरु नागरिकताबाट वञ्चित हुनु हुँदैन ।
विधेयकमा त्रुटि भए त्यसलाई राजनीतिक मुद्दा बनाउन सकिन्छ । पुनः संशोधन गर्न सकिन्छ । तर,राष्ट्रपतिको ध्यान त्यता गएन । शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाइयो । व्यवस्थामाथि प्रहार गरियो । राष्ट्रपतिको कदममाथि न्यायिक परीक्षणको विषय बन्छ कि बन्दैन भन्ने फरक विषय हो तर संविधानमाथिको प्रहार डरलाग्दो हो । यसले कानून बनाउने प्रक्रियामाथि र सार्वभौम संसदको अधिकारमाथि धावा बोलेको छ । ‘बुढी मरि भनेर हैन कि काल पल्क्यो’भन्ने उखान सम्झनुपर्ने भएको छ ।
