बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डेंगी नियन्त्रणमा चुकेको सरकार

डेंगी नियन्त्रणमा चुकेको सरकार


  • Dhorpatan News
  • असोज ९ २०७९, आइतबार

डेंगीबाट २८ जनाको मृत्यु तथा २२ हजार ९८८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमणको दर बढिरहेकोले स्थिति विकराल बन्नसक्ने चेतावनी दिएको छ । गएको साउनयता फैलिएको डेंगीले गण्डकीका जिल्लाहरुमा पनि प्रभाव पारिसकेको छ । गण्डकीमा ५१५वटा संक्रमण पुष्टि भएको छ । यद्यपि,यो संख्या अझ ठूलो हुने आँकलन गरिएको छ । नेपालका सन् २०१९ मा डेंगीको प्रकोप देखिएको थियो । त्यो बेला संक्रमितको संख्या करिब १८ हजार तथा मृत्यु हुनेको संख्या ६ जनामा सीमित थियो । संक्रमण बढेसँगै ईडीसीडीले प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । प्रकोप घोषणा र नियन्त्रण प्रयास ढिला हुँदा मानवीय क्षति बढ्नसक्ने महाशाखाको निष्कर्ष छ ।
डेंगीको मुख्य कारक भनेको एक प्रकारको लामखुट्टेको टोकाइ नै हो । लामखुट्टे नियन्त्रणबिना प्रकोप नियन्त्रण सम्भव छैन । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ भन्ने प्रमाणित भइसकेको छ । लामखुट्टे नियन्त्रणको लागि घर वरपर सफा राख्ने, बासस्थान नष्ट गर्नेजस्ता कामहरु जुन गतिमा हुनुपर्ने हो हुन सकेको छैन । अर्कोतर्फ, डेंगी भाइरल ज्वरोजस्तै हुने भएकाले जनस्तरबाट लापरवाही पनि हुने गरेको छ । डेंगी मान्छेबाट मान्छेमा त सर्दैन तर डेंगी लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा अर्को लामखुट्टे पनि संक्रमित बन्ने र संक्रमण बढ्ने भएकाले घरपरिवारमा संक्रमण देखिँदा सचेतता अपनाउनैपर्ने भएको छ ।
डेंगी नियन्त्रणमा सरकारले खासै ध्यान दिएको छैन । सामान्य सूचना संप्रेषणमात्रै भएको छ । उता, डेंगी समुदायमा फैलिइसकेको आँकलन गरिएको छ । यस्तोमा स्थानीय तह र नागरिकस्तरबाटै लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा जनचेतना बढाउने काम जरुरी देखिएको छ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिए तत्काल डाक्टरको निगरानीमा बस्नुपर्ने देखिएको छ । पानी परिरहेको छ । लामखुट्टे नियन्त्रण सजिलो छैन तर बँच्ने उपायहरु अवलम्बन गर्न सकिन्छ । मोवाइल फोनमार्फत् सरकारले प्रवाह गरेको सन्देशलाई पालना गर्ने, जथाभावी औषधि सेवन नगर्ने अभियान संचालन गरिनुपर्छ । संक्रमण रोक्ने मुख्य दायित्व सरकारकै हो । यसअघि कोभिड १९ को संक्रमण फैलँदाजस्तै सरकार डेंगीको हकमा पनि चुकेको छ । सरकारको सुस्त गतिले नागरिकको जीवन संकटमा परेको छ । सरकारले अविलम्ब डेंगी नियन्त्रणको प्रभावकारी कदम चालोस् । सरसफाइ र सचेतना अभियान चलाओस् र प्रकोप घोषणा गर्दै जनताको ज्यान बचाओस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->