पोखरामा दैनिक करिब २ सय टन फोहर उत्पादन हुन्छ । यो कोर पोखराको मात्र आँकडा हो । सहरीकरणसँगै ३३ वडामा फैलिएको पोखराबाट त्योभन्दा बढी फोहर निस्कने सहजै अनुमान लगाउन सकिन्छ । धन्न पोखराको भूगोल भिरालो छ । नागरिकहरु बाटोमा भल बग्दा सडकमै फोहर फालिदिन्छन् । पोखराको बीच भागमा बग्ने फिर्के र सेतीले पनि फोहर फाल्नेलाई सजिलो बनाइदिएको छ । तर, यसरी फोहर फाल्दा भएको वातारणीय क्षतिको मूल्याङ्कन भएको छैन । महानगर नेतृत्व काठमाडौंजस्तो पोखरामा फोहरको समस्या नभएको भन्दै मख्ख परिरहेको छ ।
फोहर व्यवस्थापनको लागि पोखरा महानगरपालिकाले सार्वजनिक–निजी साझेदारी मोडल अपनाएको छ । ९ वटा कम्पनीले पोखराको फोहर व्यवस्थापनको जिम्मेवारी पाएका छन् । पोखरा महानगर लेखिएका निलो रंगका गाडीहरु मा सार्वजनिक निजी साझेदारी अर्थात् सानिसा लेखिएका छन् । कम्पनीका मान्छेहरु ती गाडीमा डुल्छन् । फोहर फाल्नेहरुसँग शुल्क उठाउँछन् । पोखराको फोहर व्यवस्थापनको उपक्रममा देखिने दृष्य यही हो । तर, ती गाडीहरु पोखराका सबै ठाउँमा पुग्दैनन् । गाउँपालिकाबाट महानगर बनेका वडाको त कुरै छाडौं,महानगरका कुनाकुनामा पनि फोहर उठ्दैन । पोखरा १७ महतगौंडामा भएको घटनाले यसको पुष्टि गरेको छ । त्यहाँ सेतीमा फोहर फाल्ने क्रममा भीरमा खसेर एकजना घाइते भएका छन् । फोहर संकलनको लागि महानगरको गाडी नै नआएपछि बाध्य भएर सेतीमा फोहर फाल्नुपरेको स्थानीयले बताएका छन् ।
फोहरलाई मोहरमा परिणत गर्न सकिन्छ । सानिसाअन्तर्गत व्यवस्थापनको जिम्मा पाएकाहरुले फोहरलाई मोहर ने बनाएका छन् । महानगर स्वयंले पनि पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट नै ठेक्का दिएको छ । पुनः प्रयोग गर्न मिल्ने फोहर संकलनको लागि महानगरले ठेक्का लगाएको हो । पुनः प्रयोग गर्न मिल्ने फोहर नआउने टोलमा फोहरको गाडी नै जाँदैन । महानगरले ठेक्का पाएका कम्पनीहरुमाथि कडाइ गर्न सकेको छैन । उनीहरुले सम्झौता अनुसार तिनुपर्ने रकम पनि तिरेका छैनन् । नाफामुखी काममात्र गरिरहेका छन् । फोहर व्यवस्थापनको नाममा पुनःप्रयोग हुने बस्तु संकलन भइरहेको छ । महानगर यसमा सचेत हुनुपर्छ । पोखराका सबै वडामा फोहर संकलनको लागि गाडीहरु जानुपर्छ । त्यस उप्रान्त जथाभावी फोहर फाल्नेलाई कारवाही गरिनुपर्छ । फोहरलाई मोहरमा परिणत गर्न सकिन्छ भन्ने प्रमाणित भइसकेको सन्दर्भमा महानगरले तत्काल फोहर प्रशोधन केन्द्र स्थापना पनि गर्नैपर्छ ।
